आलु र प्याज लगायतका तरकारीमा मूल्यवृद्धि, उपभोक्ता मारमा

बुटवल, जेठ २३ गते । सरकारले दैनिक उपभोग्य वस्तुमा भ्याट लगाएसंगै आलु र प्याज लगायतका तरकारीको मूल्यवृद्धि भएको छ । सरकारले २०८०।२०८१ को बजेट ल्याएपछि तरकारीको मृल्यवृद्वि भएको हो ।

स्वदेशी वस्तु प्रवद्र्वन गर्ने भन्दै केही दैनिक उपभोग्य वस्तुमा सरकारले मूल्य अभिवृद्धि कर (भ्याट) लागु गरेपछि आलु र प्याज लगायतका तरकारीको मृल्यवृद्वि भएको हो ।
बजेट भाषणको एक दिन अघि र पछिसम्म थोक बजारमा प्रतिकिलो औसत ३५ देखि ४० रुपैयांमा बिक्री भइरहेको प्याज अहिले बजार मुल्य प्रति किलो ६० रुपैयां पुगेको छ । त्यसैगरी बजारमा आलुको मुल्यपनि ह्वात्तै बढेको छ ।

बजारमा तरकारीको मुल्य बढेपछि उपभोक्ता मारमा परेका छन् । सरकारले बजेट भाषण गरेको अर्को दिनदेखि आलु, प्याज लगायत अन्य तरकारीसहित दैनिक उपभोग्य खाद्यन्नको पनि मुल्यवृद्वि भएको छ ।

मूल्यवृद्धिले सरकार र व्यापारी मोटाएको उपभोक्ताको गुनासो छ । व्यापारीहरूले आलु र प्याजको मुल्य मनपरी बढाउंदा सरकारले कुनै चासो दिएको छैन । एक दिन अगाडी ४५ रुपैयां किलोमा किनेको प्याज दुई दिनपछि किन्दा किलोमा १५ रुपैयां बढेको बुटवलका रामबहादुर केसीले बताए ।

बुटवलका फलफूल तथा तरकारी व्यवसायी विवके ज्ञवालीले भ्याटका कारण आलु, व्याज, टमाटरको मूल्य बढेको बताउनु हुन्छ । लुम्बिनी फफुल तथा तरकारी थोक व्यवसायी संघका अध्यक्ष बाबुराम भुसालले पहिलाको मुल्यमा १३ प्रतिशत भ्याट जोडेपछि मुल्यवृद्वि भएको बताए ।

बजेट भाषणबाट सरकारले भन्सार १३ प्रतिशत भ्याट जोडसंगै आलु, प्याज, स्याउ लगायत विभिन्न जातका फलफुल र कोशेवालीका दैनिक उपभोग्य वस्तुको मुल्यवृद्वि भएको व्यवसायीहरुले बताएका छन् ।