कारोना कहर : भैरहवाका व्यवसायीले बनाए निजी गाडी नै एम्वुलेन्स

बुटवल । भैरहवामा दुई जना व्यवसायीले आफ्ना निजी गाडीलाई एम्वुलेन्सका रुपमा प्रयोगमा ल्याएका छन् । सिद्धनगर उद्योग वाणिज्य संघका वाणिज्य उपध्यक्ष तथा युवा व्यवसायी नेत्र आचार्य र संघकै कार्य समिति सदस्य मंगल भण्डारीले आफ्ना निजी गाडीहरुलाई कोभिड १९ का विरामी बोक्ने एम्वुलेन्सका रुपमा प्रयोगमा ल्याएका हुन् ।

कारोना महामारीका कारण सहज रुपमा एम्वुलेन्स पाउन सक्ने अवस्था छैन् । एम्वुलेन्स नपाएर समस्यामा परेका विरामी लक्षीत भैरहवा बुटवल क्षेत्रका लागि सेवा दिन निजी गाडी प्रयोगमा ल्याएका छन् ।

यातयातको साधन नपाएर विरामीको ज्यान जाने अवस्था नआओस भन्ने मानवीय सेवाभावले कार्य सुरु गरेको आचार्यले बताए । ‘रुपन्देही, नवलपरासी लगाएतका जिल्लाका बास्तवमै समस्यामा परेका कोभिडका विरामीहरुलाई अस्पताल सम्म पुर्उने गरी अभियान सुरु गरेका छौँ । महामारीको बेला एम्वुलेन्स नपाएका विरामीहरुलाई राहात होस् भन्ने नै हो ।’ उनले भने ।

लायन्स क्लव अफ सिद्धार्थनगरका अध्यक्ष समेत रहेका आचार्यले महामारीको अवस्थामा आ आफ्नो क्षेत्रबाट सघाउनुपर्नेमा जोड दिन्छन् ।
लायन्स क्लव अफ सिद्धार्थनगर होली सिटीका उपाध्यक्ष समेत रहेका भण्डारीले आफ्नो निजी गाडीमा अक्सिजन सेवा समेत जडान गरेका छन् । ‘विरामीको अवस्था गंभीर रहेमा अक्सिजन सपोर्ट होस भनेर नै अक्सिजन जडान गरिएको छ ।’, उनले भने ।

व्यवसायी आचार्यले पनि गाडीमा अक्सिजन जडान गर्ने योजना रहेको बताए । ‘मेरो गाडीमा पनि अक्सिजन जडान गर्ने योजनामा छु । त्यसलाई पनि व्यवस्थापन गर्छु ।’, उनले भने ।

निजी प्रयोगजमा रहेका हाइलक्स र क्रेटा गाडीहरुलाई एम्वुलेन्सका रुपमा प्रयोगमा ल्याइएको छ । यसरी निजी गाडीलाई अक्सिजन सेवा सहित कोरोना संक्रमितहरुलाई अस्पताल सम्म पुर्याउने कार्यका लागि प्रयोगमा ल्याउनु सकारात्मक कदम भएको कतिपयको बुझाई छ ।