बजेट अभावले बुटवल र तिलोत्तमाको सीमा पथको सडक अलपत्र

बुटवल, जेठ २६ गते । रुपन्देहीको बुटवल र तिलोत्तमाको सीमानामा पर्ने सीमा पथको सडक निर्माणको काम रोकिएको छ । बजेटको अभावले सडक निर्माणको काम रोकिएको हो ।
दुईवटा नगरपालिकालाई छुट्टाएको सडक लामो समयदेखि मर्मत नहुंदा जीर्ण बनेको थियो ।स्थानीयको सक्रियतामा निर्माणको काम शुरु भएपनि सडक निर्माणको कामले गतिलिन सकेको छैन ।

सडक निर्माणका लागि २०७८ साउन २१ गते एक्सेटिक इन्जिनियरिङ र रिजाल कन्टक्सन एण्ड विल्डिङ निर्माण ठेकेदार कम्पनीले संयुक्त रुपमा ठेक्का लिएका थिए । २०७९ जेठ २१ गते सडकको काम सम्पन्न गर्ने गरी ठेकेदार कम्पनीसंग सम्झौता भएको थियो ।

सम्झौता अनुसार सडक निर्माणको काम पुरा हुन सकेको छैन । बुटवल र तिलोत्तमाको सीमानामा पर्ने बुटवल धागो कारखाना, योगीकुटी हुंदै मगर घाटसम्मको करिव २ किलो मिटर सडक विस्तार र कालोपत्रेका लागि ९ करोड ९० लाख ४४ हजार ३ सय २ रुपैयांको बजेटमा सडक निर्माणका लागि सम्झौता भएको थियो ।

विद्युत कार्यालयदेखि योगिकुटीसम्म लागि ३ करोड ३७ लाख ७० हजार र योगीकुटीदेखि तिनाउ खोलासम्मका लागि ६ करोड ५२ लाख ७४ हजार ३ सय २ रुपैयांको बजेटमा सम्झौता भएको हो । समयमा बजेट निकासी नहुंदा सडक निर्माण गर्न नसकिएको ठेकदार एनपी शेरचनले बताए ।
ठेकदार एनपी शेरचनका अनुसार काम अनुसारको बजेट पुरा निकासी नभएको र सडक सम्पन्न गर्नका लागि बजेटको शिर्षक नहुंदा समस्या भएको हो । २०७७।०७८ को बजेट भुक्तानी भएपनि २०७९।०८० मा बजेट नहुंदा सडक निर्माणको काम रोकिएको छ ।

सडक किनारमा रहेका विद्युतका पोल र खानेपानीका पायपको व्यवस्थापन नहुंदा पहिला कामा ढिलाइ भएको र अहिले बजेट नहुंदा सडक निर्माणको काम रोकिएको सडक निर्माण उपभोक्ता समितिका उपाध्यक्ष केशव न्यौपानेले बताए ।

सडक भत्किएको लामो समयसम्म पनि सामान्य मर्मत सम्भार नहुंदा वर्षायाममा हिल्यामे, हिंउदमा धुल्याम्मे हुने सडकको अवस्था अहिले पनि उस्तै छ । सडकको बेस तयार गरेर अब कालो पत्रे गर्न बांकी रहेको छ । स्थानीयले समयमा सडक बनाउन माग गरेपनि सुनुवाई नभएको सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष भूमि सापकोटाले बताए ।

बजेट अभाव भएपछि बजेटको माग गर्दै अर्थ मन्त्रालय, सडक डिभिजन कार्यालय बुटवल र प्रदेशका निकायहरुमा डेलिकेशन गएपनि कुनै सुनुवाई नभएको स्थानीयले गुनासो गरेका छन् ।
सडक निर्माणका लागि बजेट अभाव भएपछि स्थानीयको सहभागितामा संघर्ष समिति गठन गरिएको छ । पूर्णानन्द गिरीको अध्यक्षतामा १३ सदस्य रहेको संघर्ष समिति गठन गरिएको छ ।
सरकारले बजेट विनियोजन नगरे सडक डिभिजन कार्यालय बुटवलमा अनिश्चितकालिन तालावन्दी गर्ने र स्थानीय सडकहरु अरुद्व गरेर आन्दोलनमा उत्रने संर्घष समितिका अध्यक्ष पूर्णानन्द गिरीले चेचतावनी दिएका छन् ।