खडेरीले वाली सुकेपछि किसान चिन्तित

बुटवल, जेठ ३० गते । लामो समयसम्म खडेरी हुंदा किसानले लगाएको बालीनाली सुकेर नष्ट हुन थालेको छ । गर्मीको समयमा लामो समय पानी नपरेपछि तराई र पहाडी जिल्लाहरुमा अन्नवाली सुकेर खेराजान थालेका छन् ।

मकै बाली सुकी सकेको छ, भने तरकारीहरु पनि सुकेपछि किसानहरु चिन्तित् भएका छन् ।गोड्नुपर्ने समयमा मकैका बोटहरू खडेरीका कारण सुक्न थालेपछि किसान चिन्तित भएका हुन् । पहाडी क्षेत्रमा करिब एक महिना अघि छरिएका मकै, तरकारीका बेर्ना समयमा पानी नआउंदा बारीमै सुक्न थालेका छन् । खडेरीसंगै तापक्रम बढेपछि गोड्ने समय भएका मकैका बोट सुक्न थालेका हुन् ।

बारीमा रोपिएका मकैका बोट सुक्ने र ओइलिदै गएपछि लगानी डुवेको गुनासो गर्छन रुपन्देही अमुवाका कृषक टिकाराम अधिकारी । खडेरीका कारण मकैका बोट ओइलाउने र सुक्न थालेपछि मिहिनेत खेर जाने हो कि भन्ने चिन्तामा परेका छन्, कृषकहरु ।

किसानले बारीमा छरेको मकै मात्र नभएर सबै वर्षेवाली यतिबेला सुक्ने र मर्ने अवस्थामा पुगेको छ ।
तराई क्षेत्रमा धानको विउ राखेका व्याडहरु सुकेर चिरा चिरा परी फुटेका छन्, कैयौ ठाउंमा पानीको अभावले किसानहरुले धानको विउ राख्न सकेका छैनन् ।