बुटवलमा क्यान्सरको निःशुल्क स्वास्थ्य शिविर शुरु

बुटवल, असार ४ गते । बुटवलमा पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर र आङ खस्ने समस्या सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर शुरु भएको छ । बुटवल उपमहानगरपालिकाको आयोजना र सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दाको प्राविधिक सहकार्यमा सोमबार बुटवलको बुद्धनगरस्थित शहरी स्वास्थ्य केन्द्रमा शिविर शुरु भएको हो । शिविरमा १४ बर्ष मुनिका सबै बालबालिकाको निःशुल्क पोषण अबस्था परिक्षणसमेत शुरु भएको छ ।

शिविरको शुरुवात गर्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बुटवलमा घरदैलोमा सेवा पु¥याउने गरी शिविर सञ्चालन गरिएको र यसलाई निरन्तरता दिने प्रतिवद्वता जनाएका छन् । महिला, बालबालिका र जेष्ठ नागरिकको स्वास्थ्य परीक्षण तथा उपचारमा प्राथमिकता दिदै बुटवलका सबै वडावडामा शिविर सञ्चालन गरिने प्रमुख पाण्डेयले बताए । नगरप्रमुख पाण्डेयले बुटवलमा अहिले २ वटा १५–१५ बेडका अस्पताल निर्माणको क्रममा रहेको र आगामी आर्थिक वर्षदेखि सञ्चालनमा आउने बताए ।

कार्यक्रममा वडा नं ११ का अध्यक्ष रामचन्द्र क्षेत्री, आम्दा अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. राजेन्द्र बस्याल,स्थानीय आनन्दमान शाक्यलगायतले निःशुल्क स्वास्थ्य शिविरलाई निरनतरता दिनका लागि स्थानीयको सहयोग आवश्यक पर्ने बताउंदै आफुसक्दो सहयोग गर्न जनप्रतिनिधि, समाजसेवी र स्थानीयलाई आग्रह गरेका छन् ।

शिविरमा प्रसुति रोग विशेषज्ञ डा राजेन्द्र बस्याल, डा बालगोविन्द चौधरी, बालरोग विशेषज्ञ डा. सुन्दर न्यौपाने, स्वास्थ्यकर्मीहरु ज्ञानु केसी, सुनिता चौधरी र शहरी स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीहरु परिचालन गरिएको बुटवल उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख युवराज पाण्डेले जानकारी गराए । स्वास्थ्य परीक्षण शिविर सबै वडाहरुमा क्रमैसंग सञ्चालन गरिने बुटवल उपमहानगरपालिकाले बताएको छ ।