प्यूठानको ओखरकोटमा चोयाचित्र उद्योग सञ्चालन

श्यामलाल पोखरेल
प्यूठान, असार ४ गते । प्युठानको झिमरुक गाउंपालिका ओखरकोटमा ओखरकोट चोयाचित्र उद्योग सञ्चालन गरिएको छ । यही नयां वर्षदेखि झमिरुक गाउंपालिका वडा नम्बर ५ ओखरकोटमा ओखरकोट चोयाचित्र उद्योग सञ्चालन गरिएको हो ।


गाउं घरमा खेर गैरहेका बासबाट मानिसको दैनिकी जीवनमा प्रयोग हुने सामाग्री उत्पादन गर्ने र गाउंमै रोजगार बढाउने ओखरकोट चोयाचित्र उद्योगकको उद्वेश्य छ । अहिले बासको चोयाबाट बन्ने विभिन्न सामाग्रीहरु उत्पादन गरी उदोगबाटै विक्री वितरण गरिएको छ ।

 

बासको चोयाबाट बन्ने विभिन्न प्रकारका समाग्रहीहरु व्यवसायीक रुपमा उत्पादन गर्न थालिएको चोयाचित्र उद्योगका उपाध्यक्ष कर्णबहादुर विकले बताए ।
अहिले बजारको कमी भएकाले बजार पाएमा आवश्यक अनुसार जति पनि उत्पादन गर्न सकिने बताउंदै उपाध्यक्ष कर्ण विकले भने – हामीलाई बजार र लगानीको खांचो छ । यदी सरकारले लगानी दिए समग्र नेपाललाई चिनाउन गरी उद्योग सञ्चालन गर्न सकिने छ ।

बासको चोयाबाट डोका, डाला, नाम्ला, ओरा, फुगा, मान्द्रा, सुपो, माला, छाचुरो, ढकिया, लैरोलगायतका पुराना सामाग्रहीहरु उत्पादन गरी ओखरकोट चोयाचित्र उद्योगले व्यवसायिक रुपमा विक्री गर्न थालेको छ । त्यस्तै डाइनिङ टेवल, कुर्ची, बासकेट, मुडा, हेङगर, टुल, कमलदानी, डष्टविन लगायतका समाग्रीहरु पनि उत्पादन गरिएको छ ।

बासको चोयाबाट बन्ने सामाग्रीलाई देशव्यापी बनाउनका लागि अहिले गाउंका बेरोजगार युवा, महिलाहरुलाई तालिम दिइएको ओखरकोट चोयाचित्र उद्योगका अध्यक्ष प्रदीप जीसीले बताए । स्थानीय कला संस्कृतिसंग जोडिएका सामाग्रीहरु पनि बांसको चोयाबाट उत्पादन गरिएको छ ।

बासको चोयाबाट उत्पादित सामाग्रीहरु दाङ, नेपालगञ्ज, बुटवल, काठमाण्डौ, पोखरालगायत देशका प्रमुख शहरहरुलाई केन्द्रित गर्न सकिने शिक्षक प्रचण्ड जीसीले बताए ।
लुम्बिनी प्रदेशको करिब ८ लाखको आर्थिक सहयोग र झिमरुक गाउंपालिकाको सहजीकरमा ओखरकोट चोयाचित्र उद्योगका सञ्चालन भएको छ । उक्त उद्योगमा गाउंघरमा खेर गैरहेका बासहरु उपयोग गरिएको छ ।