सहीद पार्कबाट हटाउने निर्णय अपमानजनक

ज्ञामुराम न्यौपाने
प्यूठान उद्योग बाणिज्य संघको २०७२ सालमा म अध्यक्ष हुँदा संघको आर्थिक अबस्था राम्रो थिएन। त्यो बेला संघ केही ऋणमा नै थियो। हाम्रो टीमले संघको आर्थिक अबस्था सुधार गर्न थप आयश्रोतहरु खोज्ने र मितव्ययिता अपनाउने योजना बनायौ। परियोजनाहरुको खोजी गर्ने, यात्रामा रिजर्भगाडिको सट्टा सार्वजनिक सवारी साधनको प्रयोग, होटलमा हुने खर्च नियन्त्रण, मेलामहोत्सव फाइदामा लैजाने प्रयत्न आदि । यसरी पैसा बचाएर संघको ऋण तिर्यौं, आधुनिक बैठक कक्षको निर्माण गर्यौं। बर्षौं देखी सम्पन्न हुन बाँकी रहेको सचिवालय भवनलाई सम्पन्न गरेर उद्घाटन गर्यौं। लुम्बिनी प्रदेश विभाजन विरुद्धको लामो आन्दोलन र दाङको अवैध कर खारेजीको संघर्षमा पनि खर्च भयो।

मेलामहोत्सव लगायत विविध विषयहरुबाट बचेको कोषबाट प्युठान उद्योग बाणिज्य संघको २७ औं स्थपना दिवस सप्ताहको अवसर पारेर बिजुवारको गाजुरीमा २०७५ साल असार २० गते सहिद स्मृति पार्कको स्थापना गरेका थियौ। यसबाट जिल्लाको गौरव बढ्नुको साथै महान सहिदहरुले देसको लागि गरेको उत्सर्गमा संदेश नयाँ पुस्ता सम्म पुग्ने आशा गरिएको थियो।
प्यूठान उद्योग बाणिज्य संघ, प्यूठान नगर पालिका, सृजनशील र कालिका सामुदायिक वनको त्रिपक्षीय सहकार्यमा पार्कको निर्माणको लागी वातावरण तयार गर्न हामीले धेरै मेहनत गरेका थियौं। पार्क समितिको गठन यिनै संस्थाहरुको प्रतिनिधित्वबाट हुने निर्णय समेत भएको थियो। २० बिघा जमीनमा पार्क क्षेत्र कायम गर्न, त्यहाँ रहेको ससस्त्र प्रहरीको ब्यारेक स्थानान्तरण गर्नु पर्दथ्यो। जुनकुरा सजिलो थिएन। यसबारे प्यूठान नगरपालिका र जिल्ला सुरक्षा निकाय संग लामो प्रयत्न भएको थियो। प्युठान उद्योग बाणिज्य संघको तर्फबाट मैले पार्क समितिको नेतृत्व गरिरहेको थियँ।

प्यूठानमा उद्योग बाणिज्य संघको यही असार दुई गते भएको बैठकले मलाइ पार्क समितिबाट हटाउने अपमानजनक निर्णय गरेको जानकारी प्राप्त भएको छ। पार्क निर्माणबारे मैले संघका अध्यक्ष पशुपति नारायण नकर्मीलाई केही महिना अगाडि भेटेको थियँ। उहाँलाई “सक्नुहुन्छ भनें तपाईंहरूले नयाँ कामको सुरुवात र नेतृत्व गर्नुहोस्, सहीद पार्कको कामको थालनी तत्कालीन साथीहरुले गरेको हो। त्यो मेरो सपना पनी थियो , मलाई पार्कको काम सक्न दिनुहोला “ भनेको थियँ। पार्क समितिबाट विनाकारण मलाई हटाउने अपमानजनक निर्णयले मलाई धेरै दुःखी बनायो ।

कोभीड महामारीको कठीन अबस्थामा समेत हामीले पार्क निर्माणको कार्यलाई निरन्तरता दिएका थियौ। फिल्ड मिलान, पिकनिक स्पट, शौचालय, खानेपानी त्यहीबेला बनाएका थियौं। बजेटको खोजी गर्न नगरपालिका, पर्यटन बोर्ड ,प्रदेश, संघ, अनेक ठाउँ धाई रहेका थियौं। वास्तवमै पार्कको लागी हामीले अथक मेहनत पूर्वक काम गरिरहेका थियौं ।
माथि उल्लेखित कामको अतिरिक्त हाल सम्म पार्कको विस्तृत आयोजना प्रतिवेदन (मउच) सहीत, सहिदहरुको स्मारक ,फाउन्टेन्, आन्तरिक सडक, बाल उद्यान, गार्डेन, नर्सरी,तारबार,आराम कुर्चीहरु, वृक्षारोपण,सस्त्र प्रहरीको स्थानान्तरणको काम भै सकेको छ । तत्कालको लागि पार्क सचिवालय, क्यान्टिन, गेट, ध्यान केन्द्र, घेरापर्खाल निर्माणाधीन अवस्थामा रहेका छन।

पार्क निर्माणको क्रममा पार्क अध्यक्षको आर्थीक अनुशासनको बिषय पनि जोडिन्छ होला। पार्कको नियमित बैठक, निर्माणको रेखदेख र अन्य समन्वयात्मक कार्य सम्पादन गर्न र आर्थीक स्रोत खोज्न ठुलाबेसीबाट दर्जनौं पटक आउजाऊ र होटलमा खाई–बसाई गर्नु पर्छ नै। यस विषयमा मैले कहिल्यै एक रुपैयाँ सम्म खर्च लिएको छैन।
राजनीति आ–आफ्नो ठाउँमा होला, तर संस्थामा आएर केही गरौँ भन्ने साथीहरूलाई अपमान गर्ने र हतोत्साही बनाउने कार्यले कुनैपनि संस्थाले सहीगती लिन सक्ने छैन। धन्यबाद साथीहरु…