प्रतापपुरले ल्यायो ७० करोड बढीको बजेट, सर्वसम्मत पारित – प्रमुख प्रशासकीय अधकिृत घिमिरे

बुटवल, असार ८ गते । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०÷०८१ का लागि वजेट सार्वजनिक गरेको छ । प्रतापुर गाउंपालिकाले ७० करोड ८ लाख बराबरको बजेट सार्वजनिक गरेको हो । बिहिवार चौधौ गाउँसभामा गाउँपालिका उपाध्यक्ष मानकुमारी चौधरीले सामाजिक सुरक्षा भत्ता बाहेकको ७० करोड बढीको अनुमानित आयव्यय विवरण प्रस्तुत गरेकी हुन् ।


सशर्त, समपुरक र विशेष अनुदान बाहेक कुल ४० करोड ७७ लाख बजेट मध्ये विकास बजेट भन्दा चालु खर्च बढी रहेको छ । कुल बजेटको ५०.९१ प्रतिशत चालु तर्फ र ४९.०९ प्रतिशत पुँजीगत खर्च अनुमान गरिएको छ । बजेटमा गाउँपालिकाले शिक्षा, स्वास्थ्य, कृषि र पशुपालन, पूर्वाधार विकास लगायतका कामलाई प्राथमिकतामा राखेको छ ।
प्रस्तुत बजेटमा व्यवसायिक कृषि पेशा अवलम्बन गरौँ आत्मनिर्भर बनौँ भन्ने मूल नाराका साथ कृषि प्रयोगशाला निर्माण, कृषि तथा पशुजन्य उपजनको संकलन र विक्रिका लागि कृषि बजार केन्द्र, चिस्यान केन्द्र निर्माण गर्ने जनाईएको छ ।

गाउँपालिकालाई केरा र उखुको पकेट क्षेत्रको रुपमा विकास गर्न केरा र उखुको उद्योग स्थापना गर्न सम्भाव्यता अध्ययन गर्ने र उखु खेतिमा लगानी कम गर्न उखु हार्भेसटिङ्ग मेशिन खरिद गर्न बजेट विनयोजन गरिएको छ । कृषक परिचयपत्र, कृष विद्युतिकरण, माटो प्रयोशाला, बिउमा अनुदान, कृषि तथा बालि संरक्षण कार्यक्रम, केरा क्षेत्रको विस्तार लगाएतको लागी कृषिमा २ करोड बजेट विनियोजन गरिएको छ ।

विद्यालयमा शैक्षिक जनशक्ति कम भएकाले बरोजगारबाट अध्यापन गराउन अध्यक्ष शैक्षिक बेरोजगार सम्बोधन कार्यक्रम सञ्चालन गर्न बजेट विनियोजन गरिएको छ । सामुदायिक विद्यालयको पठन–पाठन गुणस्तरीय र समयानुकुल बनाउन प्रत्येक विद्यालयका शिक्षकलाई आईसिटि तालिम दिने निति अनुरुप बजेट छुट्टाईएको छ ।

छात्रवृत्ति, प्राविधिक धारको विद्यालय संञ्चालन, स्थानीय पाठ्यक्रम छपाई, विद्यालय सुधार लगाएतका कामका लागि शिक्षा क्षेत्रमा कुल ३ करोड ५० लाख बजेट विनियोजन गरिएको उपाध्यक्ष चौधरीले बताईन् ।

स्वास्थ्य क्षेत्रमा दुई करोड बजेट विनियोजन गरेको प्रतापपुरले प्रसुती सेवाको लागि गरिव विपन्नलाई निःशुल्क एम्बुलेन्स सेवाको लागि बजेट विनियोजन गरिएको छ । यस्तै गरिव विपन्न, हिसां पिडित, कुपोषत बालबालिका लगायत नागरिकलाई राहत स्वरुप सहयोग प्रदान गर्न आर्थिक सहायता कोष स्थापनाका लागी पनि बजेट छुट्टाईएको छ ।

गाउँपालिकाले पुर्वाधार विकासमा सबै वडालाई छुने गरी चक्रपथ निर्माणलाई प्राथमिकता दिईएको छ । प्रशासकीय भवन निर्माण, अस्पतालको भवन निर्माण, वडा कार्यालय, स्वास्थ्य भवन निर्माण लगाएत वडा बाट समेत हुने विभिन्न कार्यका लागि पूर्वाधारतर्फ कुल १३ करोड ४ लाख ६४ हजार विनियोजन गरिएको छ ।

गाउँसभाले प्रस्तुत नीति तथा कार्यक्रम र बजेट सर्वसम्मतले पारीत गरेको गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत चिरन्जीवि घिमिरले जानकारी गराएका छन् ।
गाउँ सभा समापन गर्दै गाउँपालिका अध्यक्ष उमेशचन्द्र यादवले शिक्षाको गुणस्तरीयता, स्वास्थ्य क्षेत्रमा सुधार, खानेपानीको समस्या समाधान, किसानलाई थप सुविधा लगायतका काम आफुहरुको प्राथमिकतामा रहेको बताए ।