मदन भण्डारी स्पोर्टस एकेडेमीद्दारा बुटवलमा भलिबल प्रतियोगिता

बुटवल, असार १० गते । मदन भण्डारी स्पोर्टस एकेडेमी केन्द्रीय भलिबल विभागले रुपन्देहीको बुटवलमा प्रदेशस्तरीय अन्तर मावि छात्र÷छात्रा भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ । बुटवल–१० रामनगरस्थित कालिका मानवज्ञान माविको मैदानमा यही असार १३ गतेदेखि १७ गतेसम्म प्रतियोगिता हुंदै छ ।

लुम्बिनी प्रदेशस्तरीय अन्तरमावि छात्र÷छात्रा भलिबल प्रतियोगिताबारे आइतबार बुटवलमा पत्रकार सम्मेलन गरी आयोजकहरुले जानकारी गराएका छन् । एकेडेमीले लुम्बिनीबाट सुरु भएको सिजनको अभियान समापनको सन्दर्भमा भलिबल प्रतियोगिता आयोजना गरिएको भलिबल विभागका प्रमुख बुद्धि बस्यालले जानकारी गराए । बुटवलमा आयोजित भलिबलमा विजेता समुहले ७० हजार नगद राशीसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।


यसैगरी उप विजेता समूहले ५० हजार, तृतीयले ३० हजार तथा सेमिफाइनलमा प्रवेश गर्ने अन्तिम ४ ले १५ हजार नगद राशीसहित कप मेडल पमाणपत्र प्राप्त गर्ने प्रमुख बस्यालले बताए ।
यसैगरी विधागत तर्फ वेष्ट प्लेयरका लागि ३ हजार, उत्कृष्ट स्पाइकर, उत्कृष्ट सर्भर, उत्कृष्ट डिफेन्डर तथा उत्कृष्ट सेटरका लागि प्रतिव्यक्ति १ हजारका दरले नगद पुरस्कारको व्वस्था गरिएको छ । प्रतियोगितामा लुम्बिनी प्रदेशका करिब २ दर्जन छात्र तथा डेढ दर्जन बढी छात्रा तर्फको समूह सहभागी हुने छन् ।

प्रत्येक समूहले २ जना राष्ट्रिय खेलाडीलाई सहभागी गराउने पाउने र प्रतियोगिता सम्पन्न गर्नका लागि १२ लाख खर्च हुने उक्त पत्रकार सम्मेलनमा जानकारी गराईएको छ ।
एकेडेमीका अध्यक्ष धुर्व आचार्यले खेलाडी उत्पादन गर्नका लागि खेलकुंदको विकासमा महत्वपूर्ण भूमिका निभाउने गरी प्रतियोगिता आयोजना गरिएको बताए ।

एकेडेमीले बालबालिकादेखि युवासम्मलाई खेलकुंदमा आकर्षित गर्ने गरी विभिन्न विद्याका खेलहरुमा प्रतियोगिता आयोजना गर्दै आएको र भविश्यमा पनि प्रतियोगिताहरुलाई निरनतरता दिने बताए ।
एकेडेमीले यो वर्ष, अन्तर्राष्ट्रिय खेलकुद दिवसको अवसरमा लुम्बिनी पिस ओपन हाफ म्याराथन प्रतियोगिता लुम्बिनीबाट सुभारम्भ भई अन्य विभिन्न खेल विधाका राष्ट्रिय एवं क्षेत्रीय प्रतियोगिता सम्पन्न गरेको छ ।
मदन भण्डारी स्पोर्टस एकेडेमीले एमालेका तत्कालिन महासचिव स्व. मदन भण्डरीको जन्म जयन्ती तथा स्मृतीमा प्रत्येक वर्ष खेल प्रतियोगिताहरु आयोजना गर्दै आएको छ ।