तिलोत्तमाले ल्यायो २ अर्ब ७३ करोड बढी बजेट

बुटवल, असार १० गते । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आर्थिक वर्ष २०८०।०८१ का लागि २ अर्ब ७३ करोड ८४ लाख ३९ हजार ५ सय २९ रुपैंयांको बजेट सार्वजनिक गरेको छ । उप—प्रमुख जागेश्वर चौधरीले नगरसभाको तेस्रो अधिवेशनको दोस्रो बैठकमा आइतबार प्रस्तुत गरेको बजेटमा चालु खर्च १ अर्ब ६ करोड २४ लाख ५० हजार अर्थात् ३८ दशमलव ७९ प्रतिशत र पूँजीगत खर्च १ अर्ब ६७ करोड ५९ लाख ८९ हजार अर्थात् ६१ दशमलव २१ प्रतिशत अनुमान गरिएको छ ।

तिलोत्तमाले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेट चालु आर्थिक वर्षको भन्दा ६६ करोड ५ लाख ५६ हजारले बढी हो । चालु आर्थिक वर्षको बजेट २ अर्ब ७ करोड ७८ लाख ८३ हजार रहेको छ । बजेटमा आन्तरिक राजस्वतर्फ ४५ करोड २४ लाख ५० हजार आम्दानी हुने लक्ष्य राखिएको छ । यस्तै अन्तर सरकारी वित्तीय हस्तान्तरणबाट १ अर्ब ७७ करोड ९१ लाख ४४ हजार ५ सय २९ रुपैंयाँ प्राप्त हुने लक्ष्य लिइएको बजेट सार्वजिनक गरिएको हो । बजेटमा आन्तरिक आयतर्फ अपेक्षा गरिएको रकम चालु आर्थिक वर्षको भन्दा ६६ लाख बढी हो ।

बजेटले शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधारलाई जोड दिइएको उप—प्रमुख चौधरीले बताउनुभयो । बजेटमा स्वास्थ्यमा १४ करोड ३८ लाख ७७ हजार, शिक्षामा ४८ करोड १२ लाख, कृषि, पशुपालन र सिंचाईमा ३ करोड २३ लाख ५१ हजार, भवन, सहरी विकास र पूर्वाधारमा २ अर्ब १५ करोड ९५ लाख विनियोजन प्रस्ताव गरिएको छ । यस्तै युवा, खेलकुद तथा मनोरञ्जनतर्फ ७३ लाख, लैगिक समानता तथा सामाजिक समवेशीकरणतर्फ ३ करोड ६५ लाख ५९ हजार बजेट प्रस्ताव गरिएको छ ।

नगरबासीको तीव्र विकासको उत्कट चाहनालाई आत्मसाथ गरी सबै क्षेत्रको समतामुलक विकासलाई दृष्टिगत गरी बजेट तयार पारिएको उपप्रमुख चौधरीले उल्लेख गर्नुभयो । तिलोत्तमा नगरले स्थापित गरेको गरिमालाई थप उचाइँमा पुर्याउने गरी ल्याइएको बजेटले नगरभित्रका बहुआयामिक पक्षलाई सम्बोधन गरिएको उनको भनाइ छ ।

आइतबारको बैठकमा आर्थिक ऐन प्रस्तुत गर्दै बजेट तथा कार्यक्रम तर्जुमा समिति संयोजक रहनुभएकी उपप्रमुख चौधरीले आगामी आर्थिक वर्षको लागि करका दर अधिकांश यथावत् राखिएको र कतिपय छुटेका क्षेत्रलाई करको दायरामा ल्याइएको बताइन ।

तेस्रो अधिवेशनको शनिबार बसेको पहिलो बैठकमा नगर प्रमुख रामकृष्ण खांणले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको वार्षिक नीति कार्यक्रम सर्वसम्मतले पारित गरेको थियो ।
आइतबार प्रस्तुत भएको बजेट तथा आर्थिक ऐनको दफाबार छलफलको लागि नगर प्रमुख खांणले असार १६ गते दिउंसो २ बजे नगरसभाको तेस्रो बैठक बोलाउनु भएको छ ।