बुटवलको बजेट २ अर्ब ३६ करोड ५४ लाख

 बुटवल, असार १० गते । रुपन्देहीको बुटवल उपमहानगरपालिकाले आर्थिक बर्ष २०८०÷०८१ का लागि २ अर्ब ३६ करोड ५४ लाख बराबरको बजेट ल्याएको छ ।
आईतबार बसेको १३ औं नगर सभाको बैठकमा उपप्रमुख सावित्रादेवी अर्यालले २ अर्ब ३६ करोड ५४ लाख रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेकी हुन् ।

बजेटमा शिक्षा र स्वास्थ्यलाई मुख प्राथमिकतामा राख्दै कृषि, पर्यटन, रोजगार, उद्योग, व्यापार लगायतका क्षेत्रको समुन्नतिमा जोड दिइएको छ । त्यस्तै बजेटमा उज्यालो बुटवल, सफा, सुन्दर, हरियाली सहितको सुरक्षित र समुन्नत शहरको रूपमा विकास गर्ने लगायतका कार्यक्रम समावेश गरिएको छ ।

बजेटको पूर्णपाठ 

बुटवल उपमहानगरपालिका
आर्थिक वर्ष २०८०।८१ को लागि
उपप्रमुख सावित्रादेवी अर्यालद्वारा
नगरसभाको १३औं अधिवेशनमा प्रस्तुत आय र व्ययको अनुमान
वार्षिक कार्यक्रम
(बजेट वक्तव्य)

सम्मानित नगरसभाका अध्यक्षज्यू,
नगरसभाका सचिवज्यू,
नगरसभा सदस्यज्यूहरु,
बैठकलाई व्यवस्थित बनाउन खटिएका राष्ट्रसेवक कर्मचारीहरु,
र, पत्रकार एवम् सञ्चारकर्मी मित्रहरु ।

१. नेपालको संविधानले निर्दिष्ट गरेको व्यवस्थाबमोजिम गठन भएको स्थानीय सरकार बुटवल उपमहानगरपालिकाको ‘समानता, स्वाभिमान र अवसर–बस्नयोग्य बुटवल सहर’लाई आत्मसात गर्दै आगामी आर्थिक वर्ष २०८०।०८१ को अर्थसम्बन्धी विधेयक प्रस्तुत गर्न पाउँदा मलाई खुशी लागेको छ ।
२. २०७९ साल बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनबाट हामीलाई मतदान मार्फत निर्वाचित गर्नुहुने आदरणीय बुटवलबासी आमा, बुवा, दाजुभाई, दिदीबहिनीलगायत सबैमा हार्दिक आभार प्रकट गर्दछु ।
३. यस अवसरमा म नागरिक सर्वोच्चता र लोकतन्त्रको स्थापना तथा मुलुकको समृद्धि र परिवर्तनका लागि विभिन्न कालखण्डमा आफ्नो जीवन उत्सर्ग गर्नुहुने ज्ञात–अज्ञात शहीदहरु प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । साथै, राष्ट्रियता, लोकतन्त्र र जनजीविकाको आन्दोलनमा अगुवाइ गर्नुहुने श्रद्धेय नेताहरु, महिला नेतृहरुको योगदानको उच्च सम्मान सहित स्मरण गर्न चाहन्छु ।
४. हामीले निर्वाचित भएर कार्यभार सम्हालेको एक वर्ष अवधि पूरा गरी दोश्रो वर्षमा प्रवेश गर्दैछौं । हामीले यसक्रममा लिएका नीतिगत तथा सुधारात्मक उपायको परिणामस्वरुप सकारात्मक नतिजा देखिन थालेको छ । कार्यभार सम्हालेको एक वर्षमा प्राप्त उपलब्धिहरुले हामीलाई उत्साहित बनाएको छ । ‘समानता, स्वाभिमान र अवसर–बस्नयोग्य बुटवल सहर’ भन्ने मूल नीति र स्पष्ट मार्गचित्रका आधारमा बुटवल अगाडि बढिरहेको छ ।
५. बुटवलको विकास, सुधार र समृद्धिका लागि नेपालको संविधान तथा संघीय, प्रदेश र स्थानीय कानुनद्वारा प्रदत्त हक अधिकारको प्रचलन गर्न तथा कानुनतः निर्देशित काम, कर्तव्य र दायित्व निर्वाह गर्न हामी प्रतिबद्ध छौं । स्वच्छ, सफा, हरियालीयुक्त पर्यावरण विकास गरी बुटवललाई बस्नयोग्य सहर बनाउने हाम्रो ध्येय रहेको छ ।
६. शिक्षा, स्वास्थ्य, रोजगारी, उद्यमशीलता, सामाजिक विकास, युवा तथा खेलकुद, भौतिक पूर्वाधार विकास, सार्वजनिक यातायात, खानेपानी तथा सरसफाई, विपद व्यवस्थापन, न्याय निरुपण, मानव अधिकार प्रवद्र्धन जस्ता विषयगत क्षेत्रहरुलाई समेटेर बुटवलको आवश्यकता र प्राथमिकतालाई ध्यानमा राखी श्रोतको विनियोजन गर्ने र समृद्ध बुटवल बनाउने गरी प्रस्तुत बजेट तथा कार्यक्रम तयार गरिएको छ ।

अब म चालु आर्थिक वर्ष २०७९।८० जेठ मसान्तसम्मको वित्तीय स्थितिको समीक्षा प्रस्तुत गर्न चाहन्छु ।
सभाध्यक्षज्यू,
७. यस अवधिमा चालू खर्चतर्फ रु. ७९ करोड ७४ लाख ३८ हजार ४१८ रुपैया अर्थात् ६४ दशमलव ०९ प्रतिशत र पूँजीगत ५१ करोड ६८ लाख १५ हजार ८९६ रुपैया अर्थात ४३ दशमलव ३५ प्रतिशत वित्तीय प्रगति भएको छ । त्यसै गरी वित्तीय खर्च ८२ लाख ३३ हजार ६९४ रुपैंया अर्थात ८२ दशमलव ३४ प्रतिशत खर्च भएको छ ।
८. क्षेत्रगत रुपले खर्च प्रगति मापन गर्दा आर्थिक विकासमा ५७ दशमलव १४ प्रतिशत, सामाजिक विकास तर्फ शिक्षा, स्वास्थ्य, महिला बालबालिका जस्ता क्षेत्रमा ६१ दशमलव १० प्रतिशत र पूर्वाधार विकासतर्फ ४१ दशमलव ६२ प्रतिशत र सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रतर्फ ३९ दशमलव ०७ प्रतिशत प्रगति भएको छ । त्यसैगरी कार्यालय सञ्चालन तथा प्रशासनिक खर्च तर्फ ७२ दशमलब ०५ प्रतिशत भएको छ । पूँजीगत खर्च आर्थिक वर्षको अन्त्यसम्म ७० देखि ८० प्रतिशत पुग्ने अनुमान गरेको छु ।
९. आन्तरिक आय अनुमान रु. ६० करोड गरिएकोमा जेष्ठ मसान्त सम्म ४२ करोड १२ लाख ५६ हजार ४१५ मात्र आन्तरिक आय प्राप्त भएको छ । आषाढ मसान्तसम्म आन्तरिक राजश्व जम्मा रु. ५० करोड सम्म बढी राजश्व असुली हुने अनुमान गरेको छु । यस अवधिसम्म नेपाल सरकार, प्रदेश सरकारबाट प्राप्त हुने समानीकरण अनुदान, शशर्त अनुदान, समपुरक अनुदान र राजश्व बाँडफाँडबाट जम्मा रु १ अरब २ करोड ५० लाख ९२ हजार २५ प्राप्त भएको छ । यसरी आर्थिक वर्ष २०७९÷०८० मा वित्तीय व्यवस्था र गत वर्षको अल्या रु. ३४ करोड २१ लाख ४२ हजार ४४९ समेत गरी रु. १ अरब ७८ करोड ८४ लाख ९१ हजार ८९० प्राप्त भएको छ । शुरु अनुमान २ अरब ३५ करोडको सट्टा संशोधित आय अनुमान र सोही बराबरको संशोधित व्यय अनुमान रु. २ अरब ४४ करोड ६५ लाख ६२ हजार ८ को संशोधित आय र व्यय अनुमान पेश गरेको छु ।
१०. चालू आर्थिक वर्ष ०७९÷०८० को जेठ मसान्तसम्मको, ५१ करोड ६८ लाख १५ हजार ८९६ पूँजीगत खर्च अर्थात् ४३ दशमलव ३५ प्रतिशत र चालु खर्च तर्फ रु. ७९ करोड ७४ लाख ३८ हजार ४१८ रुपैंयाँ अर्थात् ६४ दशमलब २५ प्रतिशत, अनिवार्य दायित्व सावा ८२ लाख ३३ हजार ६९४, भुक्तानी गरी, १ अरब ३२ करोड २४ लाख ८८ हजार ९, अर्थात ५४ दशमलब ५ प्रतिशत खर्च भएको छ ।

पूँजीगत खर्च चालू आर्थिक वर्षको अन्त्यसम्ममा वृद्धि भई ७० देखि ८० प्रतिशत सम्म पुग्ने अनुमान गरेको छु ।
११. आर्थिक वर्ष २०८०।८१ को बजेट तर्जुमा गर्दा वार्षिक नीति तथा कार्यक्रम, संघ र प्रदेशबाट प्राप्त भएका मार्गदर्शन तथा बजेट सीमा, नेपाल सरकार, स्थानीय सरकार सञ्चालन ऐन, दिगो विकास लक्ष्य, आवधिक योजनालगायतलाई मुख्य मार्गदर्शनका रुपमा लिएको छु । बजेट तर्जुमा गर्दा विभिन्न राजनीतिक दलहरुबाट प्राप्त सुझाव, व्यवसायिक, सामाजिक संघसंस्था, राजश्व परामर्श समिति, श्रोत अनुमान तथा सीमा निर्धारण समिति, वडा भेला, टोलविकास संस्था, नागरिक अगुवा, करदाता, जनप्रतिनिधि तथा बजेट तर्जुमाका क्रममा अभिभावकीय नेतृत्व प्रदान गर्नुहुने नगर प्रमुखज्यूबाट प्राप्त सल्लाह, सुझाव एवम् निर्देशनलाई बजेट तर्जुमा गर्दा आधार लिएको छु ।

उपस्थित सभाध्यक्षज्यू तथा नगर सभा सदस्यज्यूहरु,

१२. प्रस्तुत विधेयक देहायबमोजिमकाउद्देश्य र प्राथमिकता हासिल गर्न केन्द्रित रहेको छः
क) उज्यालो बुटवल, सफा, सुन्दर, हरियालीसहितको सुरक्षित र समुन्नत शहरको रुपमा विकास गर्ने,
ख) शिक्षा र स्वास्थ्य क्षेत्रलाई मूख्य प्राथमिकतामा राख्दै कृषि, पर्यटन, रोजगार, उद्योग, व्यापारजस्ता क्षेत्रको समुन्नतिमा जोड दिने,
ग) नगरभित्र उपलब्ध प्राकृतिक श्रोत र साधनको अधिकतम उपयोग गरी उत्पादन र रोजगारी अभिवृद्धि गर्ने,
घ) नगरबासीको विकास र उन्नतिको आकांक्षालाई सामाजिक, आर्थिक र पूर्वाधार विकासमार्फत सामाजिक समावेशीकरणलाई आत्मसाथ गर्दै नागरिकको समग्र विकासमा जोड दिने,
ङ) स्थानीय सरकारलाई प्राप्त अधिकारलाई संस्थागत गर्दै संघ र प्रदेश सरकारसँग समन्वय र सहकार्यलाई जोड दिने ।
१३. अब म उपर्युक्त उद्देश्यहरु पूरा गर्न ‘समानता, स्वाभिमान र अवसर–बस्नयोग्य बुटवल सहर’को ध्येय प्राप्त हुने गरी क्षेत्रगत रुपमा प्रस्तावित प्रमुख कार्यक्रम एवम् विनियोजन प्रस्तुत गर्ने अनुमति चाहन्छु ।
१४. बुटवलबासीलाई उपचारका क्रममा आवश्यक पर्ने रगत र रगतजन्य पदार्थ निशुल्क उपलब्ध गराउनका लागि आवश्यक बजेटको व्यवस्था गरेको छु ।
१५. ‘स्वच्छ नगर, स्वस्थ नगरबासी’को नीतिलाई प्रभावकारी बनाउन नगरमातहतका अस्पताल, स्वास्थ्य चौकी, स्वास्थ्य केन्द्रलाई थप व्यवस्थित र सुविधासम्पन्न बनाउन आवश्यक बजेट विनियोजन गरेको छु ।
१६. बुटवल १३ र १७ मा१५।१५ शैयाका अस्पताल सञ्चालन तथा व्यवस्थापन गर्न रु. २ करोड छुट्याएको छु । वडा नं. १३ मा सञ्चालन हुने अस्पताललाई चौबिसै घण्टा आकस्मिक सेवा सञ्चालन गर्न र बुटवल–१४ सेमलार स्वास्थ्य चौकीको स्तरोन्नति गर्दै बर्थिङ सेन्टरलाई चौबीसै घण्टा सञ्चालन गर्न आवश्यक बजेट विनियोजन गरेको छु ।
१७. सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दामा सुत्केरी हुने महिलाहरुका लागि सबै खालको खर्च निःशुल्क गराउन नगर प्रमुख आमा सुरक्षा कार्यक्रमका लागि रु. १ करोड विनियोजन गरेको छु ।
१८. नगरप्रमुख घरदैलो स्वास्थ्य सेवा कार्यक्रम अन्तरगत परिवारको स्वास्थ्य जानकारी समेटिने डिजिटल रुपमा पारिवारिक स्वास्थ्य डाटा संकलन गर्दै सोहीअनुसारकोकार्यक्रम सञ्चालन गर्नका लागि आवश्यक बजेट विनियोजन गरेको छु ।
१९. बाआमासँग नगरप्रमुख कार्यक्रममार्फतज्येष्ठ नागरिकको स्वास्थ्य हेरचाह र उपप्रमुख सुरक्षित मातृत्व कार्यक्रमअन्तरगत गर्भवती महिलालाई निशुल्क प्रयोगशाला सेवाका लागि आवश्यक बजेट विनियोजन गरेको छु ।
२०. नवजात शिशु र आमाको स्वास्थ्य तथा पोषणमा सुधार ल्याउन जनही २ हजार रुपैयाँका दरले प्रदान गर्ने गरी नगरप्रमुख स्वस्थ शिशु सुत्केरी पोषण कार्यक्रमका लागि १ करोड विनियोजन गरेको छु ।
२१. अठार वर्षमुनिका एचआइभी संक्रमित बालबालिकालाई पोषणस्थिति सुधार गर्न मासिक रु. ३ हजार दिने व्यवस्था मिलाएको छु ।
२२. स्तनपान गराउने आमाहरुका लागि उपप्रमुख दुग्धवर्धक जडिबुटी वितरण कार्यक्रम सञ्चालनका लागि आवश्यक बजेटको प्रबन्ध गरेको छु ।
२३. नगरवासीलाई जटिल रोगहरु (मुटुरोग, मृगौला रोग, क्यान्सर, पार्किन्सन्स, अल्जाइमर्स, स्पाइनल इन्जुरी, हेड इन्जुरी र सिकलसेल एनेमिया) को उपचारमा जनही १७ हजार रुपैयाँ दिइने राहत अनुदानलाई निरन्तरता दिएको छु ।
२४. महिला स्वास्थ्य स्वयम्सेविकाहरुको सुविधा र सम्मान कार्यक्रम, स्वास्थ्य बीमा कार्यक्रम, कोभिड १९ जस्ता महामारी तथा नियमित खोप सञ्चालन, एच आई भी÷एड्स, क्षयरोग, कुष्ठरोग, औलो, कालाजार, हात्तीपाईले, डेगु, स्क्रब टाइफसजस्ता सर्ने नसर्ने लगायतका रोगहरुको रोकथाम, नियन्त्रण तथा निवारणका आवश्यक बजेट विनियोजन गरेको छु ।
२५. महिला स्वास्थ्य तथा बालस्वास्थ्यसम्बन्धी शिविर सञ्चालन तथा उपचारका लागि आवश्यक बजेटको व्यवस्था मिलाएको छु ।
२६. नगरप्रमुखः स्वस्थ शिशुदेखि जेष्ठ नागरिकसम्मको नवजात शिशुर आमाको पोषण, स्वास्थ्य परीक्षण शिविरहरुलाई घरदैलोसम्म पु¥याउन आवश्यक बजेट व्यवस्था गरेको छु ।

२७. विद्यालयहरुको स्तरोन्नति तथा शैक्षिक सुधारका लागि नगर प्रमुख शैक्षिक विकास कार्यक्रम, शिक्षक, अभिभावक, विद्यालय व्यवस्थापन समिति र विद्यार्थीसँग नगरप्रमुख कार्यक्रमका लागि आवश्यक बजेटको प्रबन्ध मिलाएको छु । विद्यालय भौतिक सुधारका लागि २ करोड विनियोजन गरेको छु ।
२८. बुटवलमै स्वास्थ्य जनशक्ति उत्पादनका लागि सिद्धार्थ बाल तथा महिला अस्पताल (आम्दा) मा पारामेडिकल शिक्षा शुरु गर्न रु. ३० लाख बजेटको व्यवस्था गरेको छु ।
२९. बुटवल टेक्निकल इन्स्टिच्युट (बीटीआइ)मा डिप्लोमा तहका इन्जिनियरिङ विषयहरु, अटो भिलेजमा स्नातकमा तहको अटो इन्जिनियरिङको अध्ययन आरम्भ गर्न आवश्यक बजेट विनियोजन गरेको छु ।
३०. स्थानीय पाठ्यक्रमलाई आवश्यकताअनुसार परिमार्जन गर्दै बुटवलको पहिचान, जातीय पहिचान, भाषा, संस्कृतिको संरक्षण गर्न आवश्यक बजेटको प्रबन्ध गरेको छु ।
३१. सामुदायिक विद्यालयमा अध्ययनरत भौगालिक रूपमा पछाडि परेका तथा विपन्न परिवारका बालबालिकाहरूलाई विद्यालयसम्म पहुँच विस्तार गर्न निःशुल्क पोशाकको व्यवस्थाका लागि आवश्यक बजेटको प्रबन्ध गरेको छु ।
३२. विद्यालय परिसरलाई बालमैत्री, छात्रामैत्री र अपाङ्गमैत्री बनाउँदै भौतिक सुधारका लागि आवश्यक बजेट विनियोजन गरेको छु ।
३३. लुम्बिनी बस टर्मिनललाई यात्रु सेवामैत्री बनाउन विद्युत, शुद्ध खानेपानी, व्यवस्थित खाजाघर, सफा शौचालय र स्नानघर, निःशुल्क वाईफाई, सुरक्षित विश्रामस्थल निर्माण गरी सुविधासम्पन्न बसपार्कको रूपमा विकसित गर्न आवश्यक बजेट विनियोजन गरेको छु ।
३४. उज्यालो बुटवल कार्यक्रमअन्तरगत मुख्य मुख्य चोकहरुमा हाइमास्ट लाईट तथा भित्री सडक र गल्लीहरुमा स्मार्ट स्ट्रिट लाईट र सौन्दर्यीकरणका लागि रु. ४ करोड २५ लाख विनियोजन गरेको छु ।
३५. बुटवलको मुख्य सडकक्षेत्रलाई व्यवस्थित र बहुउपयोगी बनाउन पैदलयात्री लेन, साइकल लेन, पार्किङ लेन निर्धारण गरी आवश्यकता अनुसार स–साना पार्क र पार्किङ क्षेत्रहरु निर्माण गर्न आवश्यक बजेटको प्रबन्ध गरेको छु ।
३६. नगरक्षेत्र भित्रका सडकहरुमा स–साना खाल्टाखुल्टी पुरी आवतजावतमा सहजता ल्याउन नगरप्रमुख पूर्वाधार एम्बुलेन्स सञ्चालन गर्न रु. २ करोडको व्यवस्था गरेको छु ।
३७. लुम्बिनी बस टर्मिनलभित्र पार्किङ भवन, व्यवसायिक कोशेली भवन निर्माणका लागि आवश्यक बजेटको व्यवस्था गरेको छु ।
३८. वडाहरुको समग्र विकासका लागि १६ करोड ५० लाख रुपैयाँ विनियोजन गरेको छु । एकवडा एक पहिचान कार्यक्रमका लागि आवश्यक बजेट विनियोजन गरेको छु ।
३९. वडा नंं ११ स्थित देवीनगरमा वी.पी. कोईराला, पुष्पलाल श्रेष्ठ र सूर्य प्रसाद प्रधानको स्मृतिमा शालिक सहित पार्क निर्माणलाई निरन्तरता दिइनेछ ।
४०. नगर क्षेत्र भित्रका अति व्यस्त सडकहरुमा ट्राफिक व्यवस्थापनका लागि एकतर्फी सवारी सञ्चालन गर्न आवश्यक बजेटको व्यवस्था गरेको छु ।
४१. बुटवलको खानेपानी आपूर्ति सम्बन्धी समस्यालाई दीर्घकालीन समाधान गर्न बोरिङ्ग, ओभरहेड टंकी निर्माण, स्यालो ट्युबेलका लागि आवश्यक बजेट विनियोजन गरेको छु ।
४२. जितगढी किल्ला, रामापिथेकस पार्क, मणिमुकुन्दसेनको ग्रीष्मकालीन दरबार, जितगढी युद्ध संग्रहालयजस्ता महत्वपूर्ण स्थानलाई नगरको गौरव सम्पदाका रुपमा प्रवद्र्धन गर्न आवश्यक बजेटको प्रबन्ध गरेको छु ।
४३. वडा नं. १५ मा जेष्ठ नागरिक मैत्री पार्क निर्माण गर्न आवश्यक बजेटको प्रबन्ध गरेको छु ।
४४. घरनक्शाहरु डिजिटाइजेशन गर्न, भूमीहिन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीमा रहेका लालपूर्जाविहिन घरहरुको सूचीकृत गर्न र जग्गा नापजाँच तथा हालसाविक गर्न आवश्यक बजेटको व्यवस्था गरेको छु ।
४५. संघ तथा प्रदेश सरकारको सहकार्यमा वडा नं.३, ४, ६, ७ र ८ हुँदै बग्ने सुखौरा खोला व्यवस्थित गरि हरियाली सहित पैदल मार्ग निर्माणका पहल गरिने छ ।
४६. सडकक्षेत्रमा सवारी साधन पार्किङ गर्ने परिपाटीलाई निरूत्साहित गर्दै निजी र सार्वजनिक जग्गाको खोजी गरी स–शुल्क पार्किङ स्थल बनाउन पहल गरिने छ । वडा नंं १ देखि ११ सम्मका खाली जग्गाहरुलाई सम्बन्धित जग्गाधनी, संघसंस्थासँग समन्वय गरी पार्किङ क्षेत्रको रुपमा प्रयोग गर्न आवश्यक बजेटको व्यवस्था गरेको छु ।
४७. न्यायमा सर्वसाधारणको पहँुच वृद्धि गर्न र विवादरहित, हिसांरहित न्यायोचित समाज निर्माण गर्न वडास्तरमा मेलमिलाप केन्द्र स्थापना र नयाँ मेलमिलापकर्ता थप गर्न आवश्यक बजेटको व्यवस्था गरेको छु ।
४८. उपमहानगरपालिका जनतामा सूचनाको पहुँच बढाउन, सम्बद्ध सूचना तथा तथ्यांकलाई एकीकृत र व्यवस्थित गर्न डाटा बैंकको स्थापना गर्न, नगरका विभिन्न स्थानमा आवश्यकताअनुसार फ्री वाईफाई र आइपीटीभी जडान गर्न, वेबसाइट, मोबाइल एप, डिजिटल डिस्प्ले र च्याटबट निर्माण गर्न आवश्यक बजेट विनियोजन गरेको छु ।
४९. जातीय पहिचानका भाषा, साहित्य, धर्म, कला, संस्कृति, ऐतिहासिकता लगायतको पहिचानलाई प्रवद्र्धन गर्ने खालका सामग्री उत्पादन तथा वितरणमा सुविधा तथा सहुलियत उपलब्ध गराइने छ ।
५०. नगरको विविध क्षेत्रको प्रवद्र्धनका लागि पुस्तक, वृत्तचित्र, गीतसंगीत र चलचित्र निर्मातालाई सामग्री उत्पादनमा प्रोत्साहित गर्न आवश्यक बजेट विनियोजन गरेको छु ।
५१. “समयमै कर शुल्क भुक्तान गरी नगरको विकास निर्माणमा सहभागी बनौ, समयमै कर तिर्नु नागरिकको दायित्व मात्र होईन, सम्मान पाउने अवसर पनि हो” भन्ने भावना जगाउन करदाता सम्मानजस्ता प्रवद्र्धनात्मक र प्रचारात्मक कार्यक्रम तथा व्यवसाय दर्ता, नवीकरण, घरबहाल करजस्ताक्षेत्रको राजस्व संकलनलाई थप व्यवस्थित बनाउन राजस्व संकलन स्पेशल टास्क फोर्स गठन गरी परिचालन गर्नका लागि आवश्यक बजेटको व्यवस्था गरेको छु ।
५२. अव्यवस्थित रूपमा छरिएका ठेला गाडीलाई रात्रीकालीन बजार सञ्चालन तथा सौन्दर्यीकरणका लागिआवश्यक बजेट व्यवस्था गरेको छु ।
५३. खेलकुदका लागि पूर्वाधारहरु विकास गर्न, खेलाडीहरुलाई उत्साहित र क्रियाशील बनाउन विविध विधाका खेलकुद प्रतियोगिता सञ्चालनका लागि आवश्यक बजेटको व्यवस्था गरेको छु । खेलाडी उत्पादनमा जोड दिदै नगरका विद्यालयहरुका बीचमा विद्यालयस्तरीय मेयर कप फुटबल प्रतियोगिता कार्यक्रम सञ्चालन गर्नका लागि आवश्यक बजेट विनियोजन गरेको छु ।
५४. बुटवल उपमहानगरपालिकाको संरक्षकत्व रहेको तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिता सञ्चालनका लागि आवश्यक बजेट विनियोजन गरेको छु । जीपी कोइराला महिला भलिबल, मनमोहन स्मृति कप, मदन भण्डारी स्मृति कप, सैलजा साहना महिला भलिबल, सहीद स्मृति कप, कर्णेल उजिरसिंह ब्याडमिन्टन प्रतियोगिता, क्रिकेट, लनटेनिस, फुटबललगायत परम्परागत खेलकुद प्रतियोगिता सञ्चालन गर्न तथा खेलाडी र प्रशिक्षकलाई प्रोत्साहन गर्नका लागि आवश्यक बजेटको व्यवस्था गरेको छु ।
५५. बुटवलभित्रका सबै गृहिणी महिलाहरुलाई रोजगार, स्वरोजगार बनाउँदै उत्पादन तथा बिक्रीसँग जोड्न नगरप्रमुख गृहिणी महिला रोजगार कार्यक्रमका लागि रु. ३ करोड विनियोजन गरेको छु । मेयर युवा इलम कार्यक्रम, वैदेशिक रोजगारबाट फर्किएका श्रमिकहरुको सीप पहिचान गरी स्वरोजगारमूलक कार्यमा सहभागी गराउन तथा विद्यार्थीहरुलाई कमाउँदै पढ्दै गर्ने कार्यक्रमलाई आवश्यक बजेटको व्यवस्था गरेको छु ।
५६. महिलाहरुलाई उद्यमी बनाउन प्रोत्साहन गर्नका लागि उपप्रमुख उद्यमशीलता कार्यक्रम, एकल महिलाहरुलाई आत्मनिर्भर र स्वरोजगार बनाउन क्षमता विकास,अपाङ्गता भएका व्यक्तिहरुलाई सीप र रोजगारसँग जोड्न आवश्यक बजेट विनियोजन गरेको छु ।
५७. आदिवासी जनजाति, दलित, मुस्लिम, अल्पसंख्यक, लोपोन्मुख समुदाय, असहाय, ज्येष्ठ नागरिक, अशक्त, अपाङ्गता भएका व्यक्ति, लैंगिक तथा यौनिक अल्पसंख्यकलगायत समाजमा पछाडि पारिएका व्यक्ति वा समुदायलाई मूल प्रवाहमा ल्याउने गरी क्षमता विकास गर्न आवश्यक बजेटको व्यवस्था गरेको छु ।

५८. टोलविकास संस्थाहरुलाई विकास निर्माण, समुदाय परिचालन, वातावरण संरक्षण र राजस्व संकलनसमेतमा परिचालन गर्नका लागि आवश्यक बजेट विनियोजन गरेको छु ।
५९. विभिन्न जातजाति, समुदायका भाषा, कला, संस्कृतिको संरक्षण, सम्बद्र्धन गर्न आवश्यक बजेटको व्यवस्था गरेको छु ।
६०. बुटवलमा लगानीकर्तालाई आकर्षित गर्न बुटवल लगानी सम्मेलन आयोजना, रात्रीकालीन बजार सञ्चालन तथा पर्यटन प्रवद्र्धनका लागि पर्याप्त बजेट विनियोजन गरेको छु ।
६१. आर्थिक विकाससँग सम्बन्धित कृषि, पशुविकास, श्रमरोजगारी, वन वातावरण, सहकारी प्रवद्र्धन, पर्यटन क्षेत्रको विकास सँग सम्बन्धित योजना कार्यक्रमहरुका लागि पर्याप्त बजेट विनियोजन गरेको छु ।
६२. सरसफाई प्रकोप नियन्त्रण तथा व्यवस्थापन, छाडा चौपाया नियन्त्रण तथा व्यवस्थापन, फोहोर व्यवस्थापन, लैंगिक समानता र समता, समावेशीता र सामाजिक परिचालन जस्ता क्षेत्रमा काम गर्ने गरी विभिन्न कार्यक्रमका लागि पर्याप्त बजेटको व्यवस्था गरेको छु । छाडा चौपाया व्यवस्थापनको दीर्घकालीन समाधानका लागि गाई राष्ट्रिय निकुञ्ज स्थापनाका लागि प्रदेश सरकार तथा स्थानीय सरकारहरुसँग सहकार्य गर्न आवश्यक बजेटको व्यवस्था गरेको छु ।
६३. स्थानीय सेवा व्यवस्थापन, सुशासन प्रवद्र्धन र मानव श्रोतको क्षमता विकास र व्यवस्थापनका लागि आवश्यक बजेट व्यवस्था गरेको छु । जनशक्तिको मनोबल उच्च बनाउन कर्मचारीहरुको तलबमान र अन्य सुविधा कर्मचारीहरुले पाएकोमा न्यून नहुने गरी बजेट व्यवस्था गरेको छु । साहित्य, सञ्चार तथा सूचना प्रविधिसँग सम्बन्धित कार्यक्रमका लागि आवश्यक बजेट व्यवस्था गरेको छु ।
६४. प्रकोप व्यवस्थापन तथा तत्कालीक सबै किसिमका महामारी, प्राकृतिक प्रकोपजस्ता विषयलाई सम्बोधन गर्न आवश्यक बजेट विनियोजन गरेको छु ।
६५. आर्थिक क्षेत्रको पुनरुत्थान, आर्थिक गतिविधिको बढोत्तरी गर्ने, उत्पादन र उत्पादकत्वको वृद्धि, उत्पादित वस्तु तथा सेवाको बजारीकरण, कृषि तथा पशुपंक्षी विकास, उद्योग वाणिज्य, सहकारी पर्यटन, उद्यमशीलता रोजगार प्रवद्र्धन, श्रम बैंक, सूचना केन्द्र स्थापना तथा सञ्चालन गर्दै रोजगार मेला, विदेशबाट फर्केकाहरुका लागि क्षमताका आधारमा रोजगार प्राप्तिका लागि सहजीकरण गर्नलगायतका आर्थिक विकास क्षेत्रसँग सम्बन्धित भई कार्यक्रम कार्यान्वयन गर्न पर्याप्त बजेटको व्यवस्था गरेको छु ।
६६. क्षेत्रगत रुपमा वन वातावरण, सञ्चार तथा सूचना प्रविधि, भाषाकला साहित्य, वित्तिय व्यवस्थापन सुशासन, न्याय तथा मेलमिलाप प्रवद्र्धन जस्ता अन्तरसम्बन्धित क्षेत्रका लागि आवश्यक बजेटको व्यवस्था गरेको छु ।
६७. सञ्चार क्षेत्र सबलीकरण गर्न, आदिवासी जनजाति, महिला, दलित तथा अल्पसंख्यक समुदायको क्षमता विकासका लागि आवश्यक बजेटको व्यवस्था गरेको छु ।

उपस्थित सभाध्यक्ष महोदय,
नगर सभा सदस्यज्यूहरु,
६८. आर्थिक मन्दीका कारण सामाजिक, आर्थिक क्षेत्रमा देखिएको प्रभावलाई न्यूनीकरण गर्न राहत प्रदान गर्ने गरी आर्थिक क्रियाकलापमा जुट्न सहयोग पुगोस् भन्ने उद्देश्यले संघ सरकारले ल्याउने मौद्रिक नीति तय हुनेछ भन्ने विश्वाससहित आर्थिक क्षेत्रको निराशालाई आशामा बदल्ने मौद्रिक नीति ल्याउनका लागि संघीय सरकारलाई हार्दिक अनुरोध गर्दछु ।
६९. एकल महिला, लैंगिक तथा यौनिक अल्पसंख्यक व्यक्ति इरिक्सा र टेम्पुको सवारी धनी भई स्वयम् चालक भएकाहरुलाई प्रोत्साहन गर्न नवीकरणमा २५ प्रतिशत र स्वरोजगार महिला सवारी धनी र चालकलाई प्रोत्साहन गर्न नवीकरणमा १५ प्रतिशत छुट दिइनेछ ।
७०. राजश्व असुली र संकलनमा नकारात्मक प्रभाव नपर्ने गरी सम्पत्तिकर, बहालकर, हाटबजार बैठकी, ई–रिक्सा नवीकरण÷रुट ईजाजत जस्ता कर तथा गैरकरका दरहरु कम्तीमा १० प्रतिशत सम्म न्यून गरिएको र निश्चित समय निर्धारण गरी तोकिएको समयमा कर शुल्क बुझाउने करदातालाई प्रोत्साहित गर्ने गरी व्यवस्था मिलाएको छु । यसबाट सामाजिक तथा आर्थिक क्षेत्रले न्यून मात्रामा भए पनि राहत महसुस गर्ने र राजश्वको दायरा फराकिलो हुने विश्वास लिएको छु ।
७१. सम्पत्ति कर र भूमिकर २०८० कात्तिक मसान्तसम्म बुझाउँदा निर्धारित खुद करमा १० प्रतिशत छुट दिने प्रस्ताव गरेको छु ।
७२. पेशा व्यवसाय कर र घर वहाल करमा १० प्रतिशतसम्मका दरले छुट दिने प्रस्ताव गरेको छु । पेशा व्यवसाय करमा महिला, अपाङ्गता भएका र यौनिक तथा लैङ्गिक अल्पसंख्यक करदाताहरुलाई माथि तोकिएको कर छुटमा थप १० प्रतिशत कर छुट दिने प्रस्ताव गरेको छु ।
७३. महिलाहरुले सञ्चालन गरी महिलाहरुलाई रोजगारी प्रवद्र्धन गर्ने महिला उद्यमीहरुलाई प्रोत्साहन गर्ने व्यवस्था मिलाएको छु ।
७४. विभिन्न सरकारी निकायमा दर्ता भई व्यवसाय गरी आएका तर यस उपमहानगरपालिकामा दर्ता गर्न छुटेका र विगतदेखि यस पालिकामा व्यवसाय दर्ता गरी आएका तर नवीकरण गर्न छुटेका व्यवसायीहरु २०८० कात्तिक मसान्तभित्र नगरमा दर्ता हुन वा नवीकरण गर्न आएमा तीन आधार वर्षको व्यवसाय कर लिने गरी त्यसअघिका आर्थिक वर्षको करमा छुट दिने व्यवस्था मिलाएको छु ।
७५. उजीरसिंह नगर अटोभिलेज क्षेत्रको जग्गा बहाल सम्झौता हुन बाँकी रहेका व्यवसायीको २०८० कात्तिक मसान्तसम्ममा सम्झौता गरेमाबक्यौता रकममा लाग्ने जरिवाना छुट गर्ने व्यवस्था मिलाएको छु । २०८० कात्तिक मसान्तभित्र सम्झौता गर्न नआएमा कानूनबमोजिम नयाँ प्रक्रिया अगाडि बढाउने गरी व्यवस्था मिलाएको छु ।
७६. दर्ता पूँजी पाँच लाखसम्म राखी दर्ता भएका साना उद्योग व्यवसायहरु नगरपालिकामा पहिलो पटक व्यवसाय दर्ता हुन आउँदा ५० प्रतिशत मात्र व्यवसाय कर लिई दर्ता गर्ने र शुन्य कारोबार भएका व्यवसायीहरुलाई सो समयको व्यवसाय करमा ५० प्रतिशत छुट दिने व्यवस्था मिलाएको छु ।
७७. राजमार्ग चौराहादेखि गोलपार्क सम्मको राजमार्ग क्षेत्रमा रहेका व्यवसायहरु हाल सडक विस्तारको क्रममा लामो समयदेखि नियमित सञ्चालन हुन नसकेको कारण मर्कामा परेका व्यवसायीहरुलाई राहत महसुस गराउन त्यस राजमार्ग मोहडाका सटरहरुलाई आर्थिक वर्ष ०८०÷०८१ को व्यवसाय करमा थप २० प्रतिशत छुट दिने व्यवस्था मिलाएको छु ।
७८. वैदेशिक प्रयोजनका लागि आय स्रोत प्रमाणित गर्न बहालकर तिर्ने करदातालाई वार्षिक कर दाखिला गरेमा प्रयोजन खुलाई ५० प्रतिशत छुट दिने व्यवस्था मिलाएको छु ।
७९. आय बन्दोबस्तका विषयका कर छुट, शुल्क, जरिवाना छुट लगायतका राजश्व छुटसँग सम्बन्धित सुविधाहरु विशेष परिस्थिति परी छुट गर्नुपर्ने अवस्थामा कार्यपालिकाको बैठकबाट निर्णय गरी सुविधा दिने व्यवस्था मिलाएको छु ।

सभाका अध्यक्षज्यू,
सभाका सदस्यज्यूहरु,
८०. अब म, आर्थिक वर्ष २०८०।८१ को लागि खर्च प्रस्ताव गरिएका कार्यक्रमहरुको कार्यान्वयनका लागि श्रोत व्यवस्थापनका लागि देहायबमबमोजिम श्रोतबाट पूर्ति हुने गरी रु. २ अर्ब ३६ करोड ५४ लाख आय अनुमान पेश गरेको छु ।
८१. संघीय सरकारबाट प्राप्त हुने समानीकरण ३० करोड १७ लाख, सशर्त अनुदान ४७ करोड ९२ लाख, समपूरक अनुदान ८० लाख र विशेष अनुदान २ करोड रहेको छ । प्रदेश सरकारबाट प्राप्त हुने समानीकरण अनुदान २ करोड ३१ लाख ६९ हजार, शशर्त अनुदान २ करोड ९ लाख ५० हजार र समपूरक अनुदान २ करोड रहेको छ । राजश्व बाँडफाँडबाट प्राप्त हुन अनुदान रु. ३१ करोड ८५ लाख ३१ हजार र आन्तरिक आयतर्फ ९१ करोड राजस्व संकलन गर्ने अनुमान गरेको छु । गत आर्थिक वर्षको अघिल्लो वर्षको बाँकी (अल्या) २६ करोड ३८ लाख ५० हजार हुने अनुमान गरेको छु ।

८२. जसअनुसार शिक्षा, स्वास्थ्य, महिला, बालबालिका, समावेशीकरणतर्फ २७ करोड ४९ लाख, नगरस्तरीय योजना तथा कार्यक्रमका लागि ४१ करोड १८ लाख, वडास्तरीय योजनाहरुको लागि १६ करोड ५० लाख, कृषि, पशुपंक्षी विकास, पर्यटन, उद्योग, वाणिज्य, सहकारी र रोजगारतर्फ ४ करोड ४० लाख, फोहोरमैला व्यवस्थापन तथा वातावरणतर्फ १ करोड ८३ लाख र सुशासन तथा सेवाप्रवाह, नगर विकासका लागि पर्याप्त बजेटको व्यवस्था गरेको छु ।
८३. कर तथा गैर कर राजश्वको विस्तृत विवरण र दरबन्दी विवरण आजै यसै सभामा पेश हुने आर्थिक विधेयक २०८० अनुसूचीहरुमा र विनियोजन विधेयक २०८० तर्फका ऐनका विभिन्न अनुसूचीहरुमा समावेश गरेको छु ।
८४. बजेटले लिएका उद्देश्य लक्ष्य हासिल गर्न आवश्यक कानूनी प्रबन्ध तथा कार्यविधिहरु निर्माण गरिनेछ । संघीय सरकारले जारी गरेका निर्देशिका, कार्यविधिलाई स्थानीय आवश्यकता, प्राथमिकता र सापेक्षताअनुसार निर्माण गरी कार्यान्वयन गरिनेछ । सार्वजनिक क्षेत्रमा भएको अनुत्पादक खर्चलाई नियन्त्रण गरी मितव्ययिताको नीति अबलम्बन गरिनेछ ।
८५. अति आवश्यक बाहेकका तालिम, गोष्ठी अध्ययन अवलोकन भ्रमणका कार्यक्रमहरु सञ्चालन नगर्ने नीति अबलम्बन गरिनेछ ।
८६. नगरभित्र पूर्वाधार निर्माण तथा व्यवस्थापन, सञ्चालन कार्यमा सार्वजनिक निजी साझेदारीलाई प्रवद्र्धन तथा प्रोत्साहित गरिने छ ।
८७. प्रस्तुत बजेटको कार्यान्वयनबाट समग्रतामा अर्थतन्त्रमा देखिएको जटिल परिस्थितिका बीचमै रहेर नगरबासीहरुको सामाजिक आर्थिक क्रियाकलापमा बढोत्तरी भई राजस्वका लक्ष्य हासिल हुने विश्वास लिएको छु ।
८८. सार्वजनिक खर्च मितव्ययिता ल्याउन आर्थिक कार्यसञ्चालन निर्देशिका, २०८० लाई परिमार्जन गरी लागू गरिनेछ ।
८९. कार्यालयको सेवाप्रवाहलाई चुस्त दुरुस्त बनाउन आवश्यकताका आधारमा कर्मचारीहरुको दरबन्दी तथा संगठन संरचनामा पुनरावलोकन गर्दैजनशक्ति थप गरिनेछ ।

९०. आन्तरिक नियन्त्रण प्रणालीलाई व्यवस्थित गर्दै सुशासन कायम गर्न कार्यसम्पादन सम्झौतामार्फत कर्मचारीहरुलाई जिम्मेवार बनाउने र कार्यपालिका बैठकहरुबाट जनप्रतिनिधिहरुलाई थप उत्तरदायी बनाइनेछ ।

सभा अध्यक्षज्यू,
नगर सभा सदस्यज्यूहरु,
९१. उल्लेखित बजेट कार्यक्रम कार्यान्वयन गर्न आवश्यक पर्ने सबै किसिमका कार्यविधिहरु आर्थिक वर्ष २०८०।८१ भदौ महिनाभित्रै स्वीकृत गरी कार्यान्वयन गर्ने व्यवस्था मिलाइनेछ । उल्लेखित बजेट कार्यक्रमहरु सफलतापूर्वक कार्यान्वयन गरी ‘समानता, स्वाभिमान र अवसर–बस्नयोग्य बुटवल सहर’को ध्येय पूरा हुनेछ भन्ने विश्वास लिएको छु ।

अन्त्यमा,
सभाका अध्यक्षज्यू,
सचिवज्यू,
नगर सभाका सदस्यज्यूहरु,
र उपस्थित कर्मचारी एवम् सञ्चारकर्मी महानुभावहरु,
प्रस्तुत गरेका बजेटको कार्यान्वयन उपमहानगरपालिकाको एक्लो प्रयासबाट मात्रै सम्भव छैन । संघ, प्रदेश सरकारसँगको समन्वय, सहकार्य, सबै तहका जनप्रतिनिधिहरु, राजनीतिक दल, उद्योगी, व्यवसायी, विभिन्न सरकारी, गैरसरकारी निकाय, संघसंस्था, निजी क्षेत्र, टोलविकास संस्था, नागरिक समाज, सामाजिक अभियन्ता, सञ्चारकर्मी, निर्माण व्यवसायीलगायत सम्पूर्ण नगरबासी आमाबुवा, दाजुभाई तथा दिदीबहिनीहरुको साथ सहयोग र सक्रियता अझ बढी हुनेछ भन्ने विश्वास लिएको छु ।
प्रस्तुत बजेट तर्जुमा गर्दा विभिन्न राजनीतिक दलहरुबाट प्राप्त सुझाव, व्यवसायिक, सामाजिक संघसंस्था, राजश्व परामर्श समिति, श्रोत अनुमान तथा सीमा निर्धारण समिति, वडा भेला, टोलविकास संस्था, नागरिक अगुवा, करदाता, जनप्रतिनिधि तथा बजेट तर्जुमाका क्रममा अभिभावकीय नेतृत्व प्रदान गर्नुहुने नगर प्रमुखज्यूलाई विशेष धन्यवाद ज्ञापन गर्दछु ।
हामीले अबलम्बन गरेको नीति कार्यक्रम तथा बजेटलाई आर्थिक वर्ष २०८०।०८१ मा लागू गर्न सबैले आआफ्नो क्षेत्रबाट सकारात्मक भूमिका निर्वाह गरी बुटवललाई समानता, स्वाभिमान र अवसर–बस्नयोग्य बुटवल शहर भन्ने नारालाई घनीभूत रुपमा अगाडि बढाउन सहयोग हुने अपेक्षा गरेको छु ।
म यस सम्मानित सभामार्फत् बुटवलबासी आमाबुवा, दाजुभाई, दिदीबहिनीहरुलाई हार्दिक धन्यवाद ज्ञापन गर्दै बुटवलको उन्नति र प्रगतिका निम्ति आगामी दिनमा पनि सकारात्मक र रचनात्मक सल्लाह, सुझाव र सहयोगको अपेक्षा गर्दछु ।

धन्यवाद ।
२०८० असार १० गते आइतबार ।

सावित्रादेवी अर्याल
उपप्रमुख, बुटवल उपमहानगरपालिका
बुटवल, रुपन्देही ।