नवलपरासीमा छोराले आमाको हत्या गरे

  बुटवल, असार १२ गते । पश्चिम नवलपरासीमा छोराले आमाको हत्या गरेका छन् । नवलपरसीको सुनवल नगरपालिका–१३ बिचैपुर गाउंमा छोराले आमाको हत्या गरेको प्रहरीले बताएको छ ।
सोमबार साँझ २५ वर्षीय शिवकुमार मुसहरले ५० वर्षीया बुद्धिरानी मुसहरको टाउकोमा धारिलो हतियार प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालयका डीएसपी भोजराज पाण्डेले बताएका छन् ।

प्रहरीका हनुसार आमाको हत्या गरेर शवलाई घरभित्र छाडेर छोरा फरार भएका थिए । काम गरेर साँझ घर फर्केका शिवका बुवाले घरभित्र श्रीमतीको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

अभियुक्त शिवकुमारले यसअघि पनि २ पटकसम्म आमालाई बेहोस हुने गरी कुटपिट गरेर छाड्ने गरेको प्रहरीले जनाएको छ। आमालाई मात्र होइन उनले श्रीमतीलाई पनि दैनिक रूपमा कुटपिट गर्ने गरेका थिए।

कुटपिट सहन नसकेपछि अभियुक्तकी श्रीमती दुई महिनाअघिबाट माइतमा बस्दै आएको प्रहरीले बतायो । हत्यापछि फरार रहेका अभियुक्त रुपन्देहीको गैंडाहवा–८ मैनिहवामा लुकेर बसेको अवस्थामा मंगलबार प्रहरीले पक्राउ गरेको हो ।
हत्याबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।