देवदहमा उत्खनन गर्दा प्राचिन संरचनाका भग्नावशेष भेटिए


बुटवल, असार १३ गते । बुद्धको मावली रुपन्देहीको देवदहमा उत्खनन गर्दा महत्वपूर्ण प्राचिन संरचनाका भग्नावशेष फेला पारिएको छ । देवदह नगरपालिका–९ घोडाहास्थित खयरडाँडामा उतखनन् गर्दा संरचनाका भग्नावशेष फेला पारिएको हो । उत्खननका क्रममा उक्त क्षेत्रमा प्राचीन पर्खाल र प्राचिन इनारका संरचना फेला परेका हुन् ।

लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डीराज भट्टराईका अनुसार कोषको पहलमा उत्खनन सुरु गरिएको हो । कोषको पहलमा कोषका पुरातत्व महाशाखा प्रमुख हिमाल उप्रेतीको नेतृत्वमा सात जनाको टोलीले एक महिना लगाएर उत्खनन गरेको हो।
एक महिनाको उत्खननबाट महत्वपूर्ण उपलब्धि प्राप्त भएको र उत्खननलाई निरन्तरता दिनुपर्ने उनले बताए । यसअघि बैरीमाई, कन्यामाई र पुरातत्व विभागले भवानीपुरमा उत्खनन गरिएको थियो ।
उत्खननको नेतृत्व गरेका पुरातत्वविद् उप्रेतीले अहिलेको उत्खननबाट प्राचीन भवनको संरचना, इनार र पुराना माटोका भाँडाका टुक्रा, माटोको दीयो जस्ता वस्तु फेला गरेको बताए ।
यसपटकको उत्खननबाट फेला परेका संरचना र वस्तुको प्रारम्भिक अध्ययनबाट ती संरचना र वस्तु तत्कालीन समयमा धार्मिक प्रयोजनका लागि बनाइएको पाइएको उनको भनाइ छ।

‘भवनको संरचना तत्कालीन अवस्थामा प्रवचन दिनका लागि बनाइएका सभाहल जस्ता ठूलाठूला कोठा रहेका छन्,’ उप्रेतीले भने, ‘४५ मिटर लम्वाइ र ३४ मिटर चौडाइमा भवन फैलिएको देखिन्छ । यसबाट तत्कालीन समयमा ठूलो भवन थियो भन्ने अनुमान लगाउन सकिन्छ।’
अहिलेको प्रारम्भिक उत्खनन र त्यसबाट प्राप्त संरचनाबाट अहिले नै कोलिय गणराज्यको दरबार क्षेत्र भनेर मान्न सकिने अवस्था नरहेको उनी बताउँछन् । कोलिय राज्यको संरचना पुष्टि हुन अहिले देखिएका इँटाभन्दा धेरै अगाडिका संरचना र वस्तु प्राप्त हुनुपर्ने उप्रेतीको भनाइ छ।
यस पटकको उत्खनन र अध्ययनबाट अहिले फेला परेका वस्तु १४औँ शताब्दीभन्दा पछिका नभएर त्यस अघिकै हुनसक्ने उप्रेतीले बताए। देवदह नगरपालिकाका प्रमुख ध्रुवप्रसाद खरेलले यसपटक अधुरो रहेको उत्खनन कार्यलाई आगामी वर्ष पनि लुम्बिनी विकास कोषसँगको सहकार्यमा निरन्तरता दिइने बताए।
घोडाहास्थित खयरडाँडामा लामो समयदेखि दरबार क्षेत्रको भग्नावशेष रहेको भन्दै उत्खननका लागि स्थानीयले माग गर्दै आएका थिए ।