लुम्बिनीमा बजेटमाथिको छलफल सकियो, एमालेको बिरोध

बुटवल, असार १८ गते । प्रमुख प्रतिपक्षी दल एमालेको बिरोधकाबचि लुम्बिनी प्रदेशमा बजेटमाथिको छलफल सकिएको छ । आगामी आर्थिक वर्ष ०८०÷०८१ का लागि अर्थमन्त्री धनबहादुर मास्कीले प्रस्तुत गरेको बजेटमाथि सैद्दान्तिक छलफल गर्न आह्वान गरिएको प्रदेश सभा बैठक एमालेको अवरोधले अघि बढ्न सकेको थिएन ।

सोमबार बोलाइएको बैठकमा पनि प्रतिपक्ष दल एमालेले बजेटमाथि असन्तुष्टी जनाउंदै आफ्नो विरोध जारी राखेको थियो । बैठक सुरु भएलगत्तै बोल्ने समय पाएका एमालेका प्रदेशसभा सदस्य तुलसीप्रसाद चौधरीले सरकारले आफूहरुले राखेको माग नसुनेको भन्दै विरोध जनाएका थिए । तर उनको र उनको पार्टीको बिरोध सुनिएन ।

एमालेको अवरोधपछि एक घण्टा स्थगीत गरेर पुनः सुरु भएको बैठकमा एमाले प्रदेश सांसदले नाराबाजी गरिरहे पनि सभामुख तुलाराम घर्ती मगरले बैठक अघि बढाएका थिए ।
बैठकमा नाराबाजीकै बीच सत्ता पक्षका सांसदहरुले बजेटमाथि आआफ्ना धारणा राखेका थिए ।

नेपाली कांग्रेसका बसिउद्दिन खांले प्रदेशको हालसम्मकै राम्रो बजेट आएको भन्दै सरकारले नमुना प्रदेश बनाउन सक्ने खालको बजेट ल्याएको दाबी गरे ।
राष्ट्रिय जनमोर्चाकी सांसद तारा थापाले बजेटमा क्रमागत योजनाहरु कटौती गरिएको भन्दै त्यसलाई बजेटमा सच्याउन माग गरिन् । क्रमागत बजेट कटौती गरिनु गलत भएको भन्दै उनले त्यसको बिरोध जनाइन ।

स्वतन्त्र सांसद खड्ग बस्नेतले राजनीतिक मुद्दमा भन्दा जनताका समस्यामा केन्द्रित हुन आग्रह गरेका छन् । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रदेश सरकारले बजेटमा विगतका क्रमागत योजनाहरु कटौती गरेको र प्रदेशका निर्देशनालयहरु खारेज गर्ने भनेको भन्दै असन्तुष्टि जनाउंदै आएको छ ।
एमालेले सरकारले ल्याएको ०७५÷०७६ का यताका बजेटमा रहेका क्रमागत योजनाहरुमा यसपाली बजेट कटौती गरेको र प्रदेशका निर्देशनालय खारेज गर्न खोजेको भन्दै विरोध गर्दै आएको छ ।

एमालेका प्रमुख सचेतक तुलसीप्रसाद चौधरीले सरकारले आफूहरुसंग नीतिगत बेइमानी गरेको आरोप लगाएका छन् । सरकारले विगतका क्रमागत योजनाहरु कतौती नगर्ने र प्रत्येक निर्वाचन क्षेत्रमा थप दुई दुई वटा थप्ने भन्ने नीतिगत सहमति विपरीत बजेट ल्याएको उनको दाबी छ ।

एमाले सांसदहरुको नाराबाजीकैबीच बजेटमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिंंदै अर्थमन्त्री धनबहादुर मास्कीले प्रतिपक्षले उठाएका विषयबारे आफूहरु छलफलमै रहेको बताएका थिए ।