प्रदेशसभा सञ्चालन गर्न लुम्बिनीमा एमाले सहमत

बुटवल, असार २० गते । लुम्बिनी प्रदेश सभाको बैठक सञ्चालनका लागि प्रमुख प्रतिपक्षी दल एमालेले सत्ता पक्षलाई सघाउने भएको छ । बजेटप्रति असन्तुष्टि जनाउंदै एमालेले बैठकमा अवरोध गर्दै आएको थियो । एमालेले असार १३ गतेदेखि बजेटमाथिको छलफलमा अवरोध गर्दै आएको थियो ।

मुख्यमन्त्री डिल्लीबहादुर चौधरीसहितको छलफलपछि एमालेले बैठकमा अवरोध नगरी सहयोग गर्न तयार भएको हो । मंगलबारको बैठक एमालेले बहिष्कार गरेको थियो ।
एमालेको बहिस्कारका बीच आर्थिक वर्ष २०८०÷८१ को बजेट प्रदेश सभाले पारित गरेको थियो । बैठकको पूर्वसन्ध्यामा सभामुख तुलाराम घर्तीमगरले मुख्यमन्त्री चौधरी, नेकपा एमालेका संसदीय दलका नेता लिला गिरी, उपनेता चेतनारायण आचार्य, प्रमुख सचेतक तुलसी चौधरीसहितको बैठक बोलाएका थिए ।

उक्त बैठकमा एमालेले उठाउंदैै आएका मागका सम्बन्धमा मुख्यमन्त्री चौधरीले आजको बैठकमा सम्बोधन गर्ने र एमालेले सदन संचालनमा अवरोध नगर्ने सहमति भएको एमालेका प्रमुख सचेतक चौधरीले बताए ।

लुम्बिनी प्रदेश सभाका सचिव दुर्लभकुमार पुनले सदन सन्चालनबारे सहमति जुटेको बताए । प्रदेश सभाका सचिव दुर्लभकुमार पुनका अनुसार आजको बैठकमा सबैभन्दा पहिले मुख्यमन्त्री चौधरीले सम्बोधन गर्ने कार्यसूची रहेको छ ।

हिजो मंगलबारको बैठकमा एमालेले बजेट किताब च्यातेर बहिस्कार गरेको थियो । त्यसपछि सभामुख घर्तीमगरले बैठक अनिश्चितकालका लागि स्थगित भएको घोषणा गर्नुभएको थियो ।