प्यूठानको मुख्य सडमा धान रोपाईं

प्युठान, असार २० गते । प्यूठानको सबै भन्दा बढी व्यस्त हुने बाग्दुलाको मुख्य सडकमा स्थानीयले रोपाईं गरेका छन् । बाग्दुला– दम्ती सडक खण्डको बाग्दुला बजार क्षेत्रमा स्थानीयले बुधबार सडकमै रोपाइँ गरेका हुन् ।

जिल्लाकै मुख्य व्यापारिक केन्द्र बाग्दुला बजारको मोटरबाटो स्तरोन्नती गर्न सडक पूर्वाधार कार्यालय मार्फत ५ करोड ४१ लाख रुपैयाँमा हाम्रो निर्माण सेवा सुर्खेतले ३.३०० मिटर कालोपत्र गर्ने जिम्मा लिएको थियो ।

असार मसान्त सकिनै लाग्दा जम्मा मात्र २० प्रतिशत काम भएको छ। जसले गर्दा पानी परेपछि सडकमा हिड्नै नमिल्ने गरी हिलो भएपछि स्थानीयले सडक छिटो सम्पन्न गर्न माग गर्दै आएका थिए ।
स्थानीयको माग अनुसार सडक समयमा सम्पन्न नभएपछि बिरोध गर्दै स्थानीयले सडकमा धान रोपेका हुन् । समयमै काम नभएको र वर्षात लागेपछि काम थाल्दा पैदल यात्रीलाई ठूलो समस्या भएपछि स्थानीयले सांकेतिक रुपमा बिरोध गर्दै खेत रोपेका हुन् ।

तत्काल समस्याको समाधान नभए आन्दोलनमा उत्रने स्थानीयले चेतावनी दिएका छन् । यातायात बन्द गरी सडकमा धान रोपेपछि आवतजावतमा समस्या भएको छ । हिड्न पनि नमिल्ने गरी सडक हिलाम्मे भएपछि व्यापार व्यवसाय पनि नभएको व्यवसायीको गुनासो छ ।