बुटवलको शिवशिखर सहकारीको भवन खाली गराइयो

बुटवल, असार २२ गते । बुटवलको योगिकुटीमा सञ्चालित शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाले बचत कताईलाई ठगेको छ । बचत कर्ताको रकम अपचलन गरेपछि उक्त सहकारी बन्द थियो ।

सहकारी सञ्चालन भएको भवनमा रहेको सहकारीको समान घरधनीले खाली गराएका छन् । प्रहरी, प्रशासन, स्थानीय सरकारका जनप्रतिनिधि, सहकारी क्षेत्रका प्रतिनिधि, सरकारी कर्मचारी, सञ्चारकर्मी, कानुन व्यवसायी, स्थानीय र सम्बन्धित निकायका प्रतिनिधिहरुको रोहवरमा घरमा राखिएका समानहरु शुक्रबार घरधनीले खाली गराएका हुन् ।

लामो समयसम्म सहकारीले भाडा नतिरेको र विद्युत, पानीकोसमेत महशुल नतिरेको घरधनी इश्वर मल्लले बताए । बचत रकम अपचलन गरी बचत कर्तालाई ठगी गरेको शिवशिखर बहुउद्देश्यीय सहकारीको कार्यालय र डिपार्टपेण्ट स्टोर्स बन्द अवस्थामा थियो ।सहकारी बन्द गरेर सहकारी सञ्चालकहरु फरार भएपछि घरधनी इश्वर मल्ले आफ्नो घर खाली गर्दिकन सहकारी सञ्चालकहरुलाई आग्रह गरेका थिए ।

सहकारी बन्द गरेर सञ्चालक र कर्मचारीहरु सम्पर्कमा नआएपछि घरधनीले आफ्नो घर खाली गर्न प्रहरी प्रशासन र स्थानीय सरकारलाई लिखित निवेदन दिएका थिए ।
सहकारीलाई पटक– पटक घरको भाडा तिरेर घर खाली गर्न आग्रह गरेपनि सहकारी सञ्चालकहरु सम्पर्कमा नै नआएकाले बाध्य भएर प्रहरी प्रशासन, स्थानीय सरकार, जनप्रतिनिधि, सञ्चारकर्मी, सरकारी कमृचारी, कानुन व्यवसायी र स्थानीयको रोहवरमा घर खाली गरी घरको अण्डर ग्राउण्डमा समान सुरक्षित सारिएको घरधनी इश्वर मल्लले बताए ।
शिवशिखर सहकारीका संचालकहरुलाई देशभरबाट १४ अर्ब रुपैयां भन्दा बढी रकम संकलन गरी ठगेको आरोप छ । सहकारीको रकम अपचलन गरी फरार भएका सहकारीका पूर्व अध्यक्ष केदारनाथ शर्मासहित केही सञ्चालकहरु पक्राउ परिसकेका छन् ।

२०६९ असोज २८ गते सहकारी विभागबाट दर्ता प्रमाणपत्र लिई भक्तपुरको कौशलटारमा केन्द्रीय कार्यालय रहेको शिवशिखर सहकारीले देशभर व्यावसायिक नेटवर्क बनाउने भन्दै बुटवलमा पनि २०७८ सालदेखि शाखा कार्यालयको रुपमा योगिकुटीमा सञ्चालन गरेको थियो ।