प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिविरुद्ध मसालका युवाहरुको विरोध

अघाँखाँची, असार २४ गते । अखिल नेपाल युवक संघ, अर्घाखाँचीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिविरुद्ध सिट्ठी फुकेर विरोध जनाएको छ । युवक संघले शुक्रबार सदरमुकाम सन्धिखर्कमा सिट्ठी जुलुश निकालेको हो । युवक संघले प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिसँगै, संघीयताको खारेजी, भ्रष्टाचार र सामाजिक हिंसाको पनि विरोध गरेको छ ।

सन्धिखर्क मसाल बजारबाट सुरु भएको सिट्ठी जुलुस चुत्राबेसी, हललाइन, सन्धिखर्कका विभिन्न चोक परिक्रमा गरप् शान्ति बगैंचामा पुगेर कोणसभामा परिणत भएको थियो ।

उक्त कोणसभामा बोल्दै राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष थम्मन केसीले प्रधानमनत्री प्रचण्डको अभिव्यक्ती देशको हित विपरित भएको बताए । व्यवस्था परिवर्तन भएपनि अवस्था नफेरिँदा देश र जनताको हितमा काम हुन नसकेको अध्यक्ष केसीले बताए ।


नेकपा (मसाल)का जिल्ला प्रवक्ता पशुपति ढकालले बहालवाला प्रधानमन्त्री पुष्पकमल दाहालको अभिव्यक्तिले नेपालमा सरकार कसले बनाउँछ भन्ने कुरा स्पष्ट पारेको बताउंदै अहिलेसम्मका सरकार र प्रधानमन्त्री भारतको इसारामा बन्ने गरेको प्रचण्डको अभिव्यक्तीले पुष्टि गरेको बताए ।


सरकारले उठाएका भ्रष्टचारका फाइल गायब नगरी भ्रष्चारीलाई हदैसम्म्को कारवाही गर्नुको विकल्प नभएको बताउंदै प्रवक्ता ढकालले भने – भ्रष्टाचारहिरुलाई उम्कन दिन नहुने र टाट पल्टिएको अर्थतन्त्रलाई लयमा ल्याउन संघीयता खारेजीको विकल्प छैन ।

अखिल नेपाल युवक संघका केन्द्रीय सचिव ठाकुर पन्थीले प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितमसिंह धेरै चोटी दिल्ली गएको कुरा सार्वजनिक गरेसँगै नेपालमा हुने सरकार गठन र विघटनमा भारतले खेल्ने भूमिका प्रष्ट पारेको बताए ।