हाते ट्याक्टर पाएपछि प्यूठान सरुमारानीका कृषक उत्साहित

बुटवल, असार २५ गते । प्यूठानको सरुमारानी गाउंपालिकाले कृषकलाई हाते ट्याक्टर वितरण गरेको छ । गाउंपालिकाले खेतीपाती लगाउने समयमा पालिका भित्रका कृषकलाई ५० प्रतिशत अनुदानमा हाते ट्याक्टर वितरण गरेको हो ।

गाउंपालिकाले ५८ जना कृषकलाई मिनी तथा पावर टेलर अनुदानमा वितरण गरेको छ । किसानलाई खेतीमा लाग्न हौसला बढाउने गरी ५० प्रतिशत अनुदानमा हाते ट्याक्टर वितरण गरिएको गाउंपालिकाका अध्यक्ष झगबहादुर विश्वकर्माले बताए ।

गाउंपालिकाले निर्वाहमुखी कृषि पेसालाई व्यवसायीकरण गर्न आर्थिक वर्ष ०७५ र ७६ बाट किसानसंग गाउं सरकार कार्यक्रम सञ्चालन गरेको छ । जुन कार्यक्रले पालिका भित्रका कृषकहरुलाई ठूलो राहत मिलेको छ । गाउंपालिकाले कृषि तथा पशुपालनका लागि पनि अनुदानका कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

परम्परागत ढंगले खेती गर्दै आएका कृषहरु अहिले हाते ट्याक्टरप्रति आर्कर्षित भएका छन् । हाते ट्याक्टरको प्रयोगबाट समयको बचत र सीमित जनशक्तिबाट धेरै खेती गर्न सकिने र उत्द्पादन पनि बढ्ने भएपछि कृषकहरु हाते ट्याक्टरप्रति आर्कषित भएका हुन् । ५० प्रतिशतमा भएपनि हाते ट्याक्टर पाएपछि खेतीपातीका लागि उत्साह थपिएको स्थानीय कृषक हिराबहादुर घर्तीले बताए ।

प्यूठानको सरुमारानी गाउंपालिकाका कृषि तथा पशुजन्यका क्षेत्रमा अब्बल मानिन्छ । प्यूठानको बड्डांडा, बांगेशाल, दरभान लगायतका उक्त गाउंपालिका भित्रका सबैजसो गाउं कृषि तथा पशुपन्क्षी र नगदेवाली उत्पादन हुने गर्दछ । बड्डांडाको अदुवा, हलेतो, मह र सिमी, भागो प्रख्यात छ ।