प्यूठानमा खानेपानी परिक्षण गर्दा इकोली ब्याक्टोरिया भेटियो

प्यूठान, असार २९ गते । प्यूठानमा खानेपानीको नमुना परिक्षण गर्दा इकोली नामको ब्याक्टोरिया भेटिएको छ । प्यूठान स्वास्थ्य कार्यालय प्यूठानले विभिन्न समयमा १ सय ३५ वटा खानेपानीको नमुना परीक्षण गर्दा ५३ वटामा इकोली भेटिएको हो ।
प्यूठानका ९ स्थानीय तहमा गरिएको परीक्षणमा ३९ प्रतिशत नमुनामा इकोली भेटीएको स्वास्थ्य कार्यालय प्यूठानका प्रमुख हेमराज पाण्डेले जानकारी गराए । पानीमा दिसाजन्य पदार्थ मिश्रण हुनुलाई इकोली भनिन्छ ।

प्यूठानका माण्डवी गाउंपालिका, प्यूठान नगरपालिका र स्वर्गद्धारी नगरपालिकाको धेरै स्थानको पानी परिक्षण गर्दा मानिसको स्वास्थ्यमा प्रतिकूल असर पार्ने खालको पाइएको छ । प्रमुख पाण्डेका अनुसार माण्डवी गाउंपालिकामा खानेपानीको ११ नमुनामा परीक्षण गर्दा ८ वटामा इकोली भेटिएको छ ।
प्यूठान नगरपालिकामा १७ वटा नमुना परीक्षण गर्दा ११ वटामा, स्वर्गद्धारी नगरपालिकामा १८ नमुना परीक्षण गर्दा १० वटामा, गौमुखीमा गाउंपालिकामा १६ नमुना परीक्षण गर्दा ७ वटामा इकोली भेटिएको छ ।

त्यस्तै मल्लरानी गाउंपालिकामा १५ नमुना परीक्षण गर्दा ६ वटामा, ऐरावती गाउँपालिकामा १७ नमुना परीक्षण गर्दा ४ वटामा, झिमरुक गाउंपालिकामा १५ नमुना परीक्षण गर्दा ३ वटामा, नौवहिनी गाउंंपालिकामा १९ नमुना परीक्षण गर्दा ३ वटामा र सरुमारानी गाउँपालिकामा ७ नमुना परीक्षण गर्दा १ वटामा इकोली भेटिएको हो ।
स्वास्थ्य संस्था, सार्वजनिक धारा, निजी धारा, मुल, ट्यांकी, इनार, विद्यालयबाट नमुना परीक्षण गर्दा इकोली देखिएको स्वास्थ्य कार्यालयका ल्याव टेक्निशियन निरीक्षक परशुराम पोखरेलले जानकारी दिए ।

वर्षादको मौसम भएको कारण पनि इकोली बढि देखिएको हुनसक्ने बृहत बिजुवार खानेपानी तथा सरससफाई उपभोक्ता समितिका अध्यक्ष जानका केसीले बताए । प्रमुख जिल्ला अधिकारी मदन कोइरालाले इकोलीले हैजा, झाडापखाला, टाइफाइड जस्ता दुषित पानीजन्य सरुवा रोग फैलन सक्ने भएकाले समयमै पानी शुद्धिकरण सम्वन्धी सचेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्न सरोकारवाला निकायलाई आग्रह गरेका छन् ।

खानेपानी प्रयोग गर्दा सचेत हुन सचेत रहन स्वास्थ्य कार्यालय प्यूठानले आग्रह गरेको छ ।