जलश्रोत तथा सिंचाई डिभिजन कार्यालय रुपन्देहीको कार्यप्रगती ७२ प्रतिशत

बुटवल, असार ३० गते । जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय रुपन्देहीले चालु आर्थिक वर्ष २०७९।०८० मा भएका कामबारे सार्वनजिक सुनुवाई गरी सार्वजनिक गरेको छ । चालु आर्थिक वर्षमा ७२ दशमलव ३९ प्रतिशत कार्यप्रगती हासिल गर्न सफल भएको जलश्रोत तथा सिंचाई डिभिजन कार्यालय रुपन्देहीले दाबी गरेको छ ।

कार्यालयले चालुतर्फ ९४ दशमलव ४८ प्रतिशत र पुंजीगततर्फ ७१ दशमलव २८ प्रतिशत बजेट खर्च भएको जनाएको छ । आर्थिक बर्ष ०७९÷८० मा रुपन्देहीमा जलउत्पन्न प्रकोप नियन्त्रण र सिंचाई क्षेत्रको बिकासका योजना संचालनका लागि कुल बिनियोजित बजेट २५ करोड ६८ लाख ४१ हजारमध्ये १८ करोड ५९ लाख ५१ हजार रुपैयाँ खर्च गरेको कार्यालयले जनाएको छ ।

कार्यालय प्रमुख बिष्णु प्रसाद पौडेलका अनुसार चालु आवमा जिल्लाभर कुल ७४ वटा योजनाका लागि नेपाल सरकारको सशर्त अनुदानतर्फ ९ करोड ४० लाख र समानिकरण अनुदान तर्फ १५ करोड ४४ लाख बजेट बिनियोजित गरिएको थियो । आर्थिक बर्ष ०७९÷८० मा सम्पन्न योजनाहरुको बिवरणसहित बार्षिक प्रगती प्रतिबेदन सार्वजनिक गर्दै कार्यालय प्रमुख पौडेलले बिभिन्न समस्या र चुनौतीहरुको सामना गर्दै सन्तोषजनक प्रगती हासिल भएको बताएका छन् ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख उमाकान्त चापागाईले कृषि र सिंचाईं समस्याहरुको समाधानका लागि स्थानिय तह, प्रदेश सरकार र संघिय सरकारसँग समन्वय र सहकार्य गरेर ठोस योजना तर्जुमा गर्नुपर्नेमा जोडदिएका छन् । सैनामैना नगरपालीका प्रमुख फणिन्द्र शर्माले स्थानिय तहको माग अनुसार आवश्यक अध्ययन गरेर मात्र योजना तर्जुमा गर्न आग्रह गरेका छन् ।

बिगतमा नेपालकै नमुना सिंचाईंका रुपमा परिचित १६÷३६ सिंचाईं प्रणालीका उपाध्यक्ष धु्रव धितालले सिंचाई र कृषिको बिकासका लागि स्थानिय जनताको माग र आवश्यक्ताका आधारमा कार्यक्रम बनाउनु पर्ने बताए । सियारी गाउपालीका उपाध्यक्ष तारा चौधरीले योजनाहरु जुन उत्साहका साथ शुरु हुन्छन तर समयमा सम्पन्न हुन नसकि जनतामा निराशा छाउने प्रबृतिको अन्त्य हुनुपर्ने धारणा ब्यक्त गरेकी छन् ।

कार्यक्रममा बुटवल उपमहानगरपालीकाका प्रबक्ता शिव राना, देवदह नगरपालीकाका प्रमुख ध्रुव खरेल, कन्चन गाउ पालिकाका अध्यक्ष नवराज ढकाल, तिलोत्तमा नगरपालीकाका वडाध्यक्षहरु, लगाएतले बाढी, पहिरो नदि कटानलगाएत प्रकृतिजन्य बिपदबाट बर्षेनी धनजनको क्षति हुने गरेको चर्चा गर्दै नदि नियन्त्रण, पहिरो नियन्त्रण र भुक्षयबाट कृषिक्षेत्रमा हुने बिनास रोक्न दिर्घकालिन योजना बनाएर काम गर्न सुझाव दिएका छन् ।

रुपन्देही कृषि उत्पादनका लागि लुम्बिनी प्रदेशमै समभावित जिल्ला भएकाले दीगो तथा भरपर्दो सिंचाई सुविधाको उचित व्यवस्था हुने गरी काम गर्न पनि सरोकारवालाहरुले जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय रुपन्देहीलाई सुझाव दिएका छन् ।