रुपन्देहीलाई पूर्णखोप दिगोपना सुनिश्चित जिल्ला घोषणा गरियो

श्यामलाल पोखरेल
बुटवल, असार ३१ गते । रुपन्देहीलाई पूर्णखोप दिगोपना सुनिश्चित जिल्ला घोषणा गरिएको छ । जिल्ला खोप समन्वय समिति रुपन्देहीले पूर्णखोप दिगोपना सुनिश्चित घोषणा गरेको हो । रुपन्देहीका स्थानीय तहका प्रमुख तथा अध्यक्ष, स्थानीय तहका स्वास्थ्य शाखा प्रमुख र रुपन्देहीका स्वास्थ्यकर्मीहरुको सहभागितामा आइतबार भैरहवामा कार्यक्रमको आयोजना गरी रुपन्देहीलाई पूर्णखोप दिगोपना सुनिश्चित जिल्ला घोषणा गरिएको हो ।

पूर्णखोप जिल्ला सुनिश्चित गर्ने राष्ट्रिय निर्देशिका बमोजिम सम्पूर्ण प्रक्रिया पुरा गरी रुपन्देहीलाई आर्थिक वर्ष २०७९÷८० मा १६ महिनादेखि ५९ महिनासम्मका सबै बालबालिकाहरुलाई खोप लगाइएकाले रुपन्देहीलाई पूर्णखोप सुनिश्चित जिल्ला घोषणा गरिएको जिल्ला खोप समन्वय समिति रुपन्देहीले बताएको छ ।

उक्त घोषणा सभामा बोल्दै लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनालले पूर्णखोप दिगोपना सुनिश्चित जिल्ला घोषणा गरेर रुपन्देहीले सकरात्मक सन्देश दिएको बताए ।
विगतको समयमा महामारीको रुपमा आउने सरुवा रोगलाई खोपको माध्यमबाट केही छिटपुट घटनाबाहेक पूर्णरुपमा अन्त्य गरिएको मन्त्रीको दाबी छ । स्वास्थ्यमाथि कसैले पनि खेलवाड गर्न नहुने बताउंदै स्वास्थ्यमन्त्री खनालले भने – गरिब तथा विपन्न वर्गलाई स्वास्थ्य सेवाको पहुंचमा पुराउनु पर्छ ।
स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख गौरव ढकालले रुपन्देहीलाई २०७३ सालमा पूर्णखोप जिल्ला पहिलोपटक भएको र त्यसपछिका वर्षहरुमा हरेक वर्ष पूर्णखोप दिगोपना सुनिश्चितता दिदै आएको बताए ।

स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख गौरव ढकालले महिला स्वास्थ्य स्वंयसेवीदेखि सबै स्वास्थ्यकर्मी र स्थानीय जनप्रतिनिधिको सहयोगका कारण रुपन्देहीलाई पूर्णखोप जिल्ला घोणणा गर्न सफलता मिलेको बताए ।
कार्यक्रममा सिद्वार्थनगर नगरपालिकाका प्रमुख इतिइस्त्याक खांले रुपन्देहीलाई पूर्णखोप दिगोपना सुनिश्चित जिल्ला घोषणा गरेर स्वास्थ्यमा अब्बल जिल्लाको रुपमा स्थापित भएको बताए ।
प्रमुख जिल्ला अधिकारी भरतमणि पौडेलले स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयंसेविकाको सहयोगले गर्दा रुपन्देहीलाई पूर्णखोप दिगोपना सुनिश्चित जिल्ला घोषणा गर्न सकिएको बताए ।

स्वास्थ्य निर्देशनालय लुम्बिनी प्रदेशका निर्देशक डाक्टर विनोदकुमार गिरीले रुपन्देहीलाई पूर्णखोप दिगोपना सुनिश्चित जिल्ला घोषणाले स्वास्थ्य क्षेत्रमा काम गर्नेहरुका लागि हौसला बढेको र स्वास्थ्यका लागि राम्रो पक्ष भएको बताए ।
स्वास्थ्य कार्यालय रुपन्देहीका खोप अधिकत भेषराज शर्माले पूर्णखोप सुनिश्चितताका लागि १६ महिनादेखि ५९ महिनासम्म उमेरका बालबालिकाहरुमा खोपको अवस्था, पहिचान र विश्लेषण गरिने बताए ।

महिला स्वास्थ्य स्वयंसेविका लिला खड्काले पूर्णखोप दिगोपना सुनिश्चित जिल्ला घोषणामा महिला स्वास्थ्य स्वयंसेविकाहरुको ठूलो हात रहेको बताइन । जनताको घरदैलोमा गएर दिनरात कामगर्ने स्थानीय डाक्टरका समस्याप्रति सरकारले केही गर्न नसकेको बताइन । स्थानीय डाक्टरका रुपमा काम गर्ने महिला स्वास्थ्य स्वयंसेविकाहरुले रिक्सा भाडा तिर्नपनि नसक्ने अवस्थामा पनि सरकारबाट कुनै सहयोग नमिलेको गुनासो गरिन् ।

जिल्ला खोप समन्वय समिति रुपन्देहीका अध्यक्ष एवं जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चापागाईंको अध्यक्षता र खोप अधिकृत भेषराज शर्माको सञ्चालनमा कार्यक्रम भएको हो ।