एमालेबाट निर्वाचित बाग्लुङ ढोरपाटनका नगर प्रमुखविरुद्द ठगी मुद्दा दर्ता

बाग्लुङ, साउन २ गते । सहकारीमा जम्मा भएको पैसा अपचल गरेको आरोपमा बाग्लुङ ढारपाटन नगरपालिकाका नगर प्रमुख देवकुमार नेपालीको नाममा ठगी मुद्दा दर्ता भएको छ । इमेज बचत तथा ऋण सहकारी संस्थासमेत रहेका नगरप्रमुख नेपालीसहित ११ जनाविरुद्व सरकारी वकिलको कार्यालयमार्फत जिल्ला अदालत बागलुङमा ठगी मुद्दा दर्ता भएको हो ।
बागलुङमा मुख्य कार्यालय रहेको इमेज बचत तथा ऋण सहकारी संस्थाका १ हजार ५४३ जना बचतकर्ताको जाहेरीमा सरकारी वकिलको कार्यालयमार्फत जिल्ला अदालत बागलुङमा गत असार २५ गते ठगी मुद्दा दर्ता भएको हो । कार्यालयले संस्थाका अध्यक्ष देवकुमार नेपालीसहित ११ जनाविरुद्ध १ अर्ब ३० करोड ७६ लाख ९८ हजार ६६८ रुपैयाँ र आठदेखि १० वर्ष कैद सजाय माग गर्दै ठगी मुद्दा दर्ता गरेको जनाएको छ ।

सरकारी वकिलको कार्यालयका अनुसार ढोरपाटन नगरपालिकाका मेयर तथा संस्थाका अध्यक्ष नेपालीसहित देवबहादुर दर्जी भन्ने देवकुमार नेपाली, उपाध्यक्ष डोरबहादुर परियार, सचिव सुनील नेपाली, कोषाध्यक्ष लक्ष्मी सेन सुनार, सदस्य चित्रबहादुर भण्डारी, रूपा विक र झकबहादुर शाही, मुख्य कार्यालयका प्रबन्धक शक्ति किसान, मुख्य कार्यालयका लेखा प्रमुख लालमती रोका, गलकोट सेवा केन्द्रका प्रबन्धक अनिल नेपाली, बुर्तिबाङ सेवा केन्द्रका लेखा प्रमुख अनिता बुढा मगर विरुद्ध मुद्दा दर्ता भएको छ । भण्डारी, रोका, किसान पक्राउ परिसकेका छन् ।

देवकुमार नेपाली, डोरबहादुर परियार, सुनिल नेपाली, लक्ष्मी सेन सुनार, रुपा विक, झगबहादुर शाही, अनिल नेपाली र अनिता बुढा मगर फरार रहेको प्रहरीले जनाएको छ । देवकुमार नेपाली एमालेको तर्फबाट गत स्थानीय निर्वाचनमा दोस्रो पटक ढोरपाटन नगरपालिकाको मेयरमा निर्वाचित भएका हुन् । मेयर तथा नगर प्रमुख नेपाली अहिले फरार छन् ।