बेलहिया भन्सार कार्यालयले लक्ष्य पुरा गर्न सकेन

 बुटवल, साउन २ गते । रुपन्देहीको बेलहिया भन्सार कार्यालय राजश्व संकलनमा लक्ष्य पुरा गर्न सकेन । भैरहवा भन्सार कार्यालय, बेलहियाले आर्थिक वर्ष ०७९÷०८० मा विभागले निर्धारण गरे अनुसार राजश्व संकलनमा लक्ष्य पुरा गर्न सकेन । बेलहिया नाका हुंदै हुने आयात खुम्चिँदा भन्सारले राजश्व संकलन लक्ष्य भेट्टाउन नसकेको हो ।
भन्सारले तोकिएको भन्दा आधा मात्रै राजश्व संकलन गरेको छ । राजश्व संकलनमा योगदान दिने मुख्य वस्तु आयात नै न्यून हुंदा आर्थिक वर्ष ०७९÷०८० मा भैरहवा भन्सार कार्यालयको राजश्व संलकनमा ह्वात्तै गिरावट आएको छ ।

भन्सार विभागले भैरहवा भन्सार कार्यालयलाई १ खर्ब ५५ अर्ब ६० करोड राजश्व संकलन लक्ष्य तोकेको थियो । तर, भन्सार कार्यालयले उक्त लक्ष्यको आधा पनि राजस्व संकलन गर्न सकेन । भन्सारले ७६ अर्ब ८९ करोड मात्रै राजश्व संकलन गरेको छ । जुन लक्ष्यभन्दा करिब ५१ प्रतिशतले कमी हो ।

भन्सारले अघिल्लो आव पनि लक्ष्य भेट्टाउन सकेको थिएन । आब ०७८÷०७९ १ खर्ब २७ अर्ब लक्ष्य पाएको भन्सार १ खर्ब १५ अर्ब ८७ करोड राजश्वस संकलन गरेको थियो । विगतमै राजश्व संकलन लक्ष्य भेटाउन नसकेको भन्सारलाई विभागले पुनः २२ प्रतिशत बढी लक्ष्य बढाइदिएपनि राजश्व लक्ष्यको आधा पनि संकलन हुन सकेन । मधेश आन्दोलनमा बेला मुलुकभरमा अन्य भन्सार नाका प्रभावित थिए ।

राष्ट्र बैंकले विलासिताका वस्तु आयातमा केही समय एलसी अनिवार्य गर्यो र यसले राजश्व संकलन प्रभावित बन्यो । त्यसैमाथि ८ महिनासम्म सरकारले जिप, कार, भ्यान र मोबाइल आयातमा प्रतिबन्ध नै लगायो, जसले गर्दा भन्सार राजश्व संकलनमा भारी गिरावट आएको हो ।

सरकारले राजश्वमा योगदान दिने फलामे कच्चा पदार्थ एमएस बिलेट्समा अन्तशुल्क बढाएर लगाउनु र स्पन्ज आइरनमा भन्सार महशुल पूर्णछुट गर्दा पनि राजश्व प्रभावित भएको हो । मुलुकको समग्र भन्सार राजश्व संकलनमा भैररहवा भन्सारको कार्यालयको योगदान करिब १२ प्रतिशत छ । तर, यसपटक भने राजश्व असुली घट्दा मुलुकको राजश्व लक्ष्यमै प्रभाव परेको छ ।