पूंजीगत खर्च गर्न रुपन्देहीमा सियारी गाउँपालिका पहिलो

बुटवल, साउन ३ गते । रुपन्देहीको सियारी गाउँपालिका सबैभन्दा बढी पूंजीगत खर्च गरेर जिल्लामै पहिलो भएको छ । सियारीले रुपन्देहीका १६ वटा पालिकामध्ये सबैभन्दा बढी पूँजिगत खर्च गरेको छ । सियारीले आर्थिक बर्ष २०७९÷०८० मा ८७ दशमलव १५ प्रतिशत खर्च गरेको कोष तथा लेखा नियन्त्रक कार्यालय रुपन्देहीले जनाएको छ ।

कार्यालयले दिएको जानकारी अनुसार रुपन्देहीका १६ वटा पालिकाहरुले समग्रमा ७७ प्रतिशत पूंजीगत खर्च गरेका छन् । ३१ करोड ७६ लाख ७३ हजार बजेट बिनियोजन भएकोमा २७ करोठ ७२ लाख ८४ हजार अर्थात ८७.१५ प्रतिशत खर्च गर्न सफल भएको प्रमुख कोष नियन्त्रक बिष्णुप्रसाद ज्ञवालीले जानकारी गराएका छन् ।

रुपन्देहीमा सबैभन्दा कम पुजिगत खर्च गर्नेमा मर्चवारी गाउँपालिका रहेको छ । मर्चवारीले ६४ प्रतिशत मात्र खर्च गरेको छ । त्यसपछि पुजिगत खर्च गर्न नसक्नेमा सुद्धोधन गाउँपालिका रहेको छ । सुद्धोधनले ६८ दशमलव ९७ प्रतिशत मात्र खर्च गरेको छ ।
पुँजीगत खर्च गर्नेमा सियारी पछि कोटहिमाई गाउँपालिका रहेको छ । कोटहिमाईले ८४ दशमलव ४१ प्रतिशत खर्च गरेको छ । त्यसपछि पुँजिगत खर्च गर्नेमा मायादेवि गाउँपालिका रहेको छ । मायादेविले ८२ दशमलव २४ प्रतिशत खर्च गरेको छ ।

यता बुटवल उपमहानगरपालिकाले भने ६९ दशमलव ४८ प्रतिशत, तिलोत्तमा नगरपालिकाले ७३ दशमलव ३८, देवदह नगरपालिकाले ७३ दशमलव ८१ प्रतिशत, लुम्बिनी सास्कृतिक नगरपालिकाले ७६ दशमलव ४० प्रतिशत, सिद्धार्थनगर नगरपालिकाले ७२ दशमलव ४९ प्रतिशत खर्च गरेका छन् । त्यसैगरी सैनामैना नगरपालिकाले ७९ दशमलब ३४ प्रतिशत, ओमसतिया गाउँपालिकाले ७९ दशमलव २६ प्रतिशत, कञ्चन गाउँपालिकाले ८१ दशमलब १२ प्रतिशत खर्च गरेको कोलेनिकाले जनाएको छ ।

त्यस्तै गरी गैडहवा गाउँपालिकाले ८२ दशमलव २ प्रतिशत, रोहिणी गाउँपालिकाले ७९ दशमलब ६३ प्रतिशत र सम्मरीमाई गाउँपालिकाले ७८ दशमलब ५४ प्रतिशत खर्च गरेको छ ।