बुटवलमा बुटवललाई हरियाली बनाउने अभियान

बुटवल, साउन ५ गते । बुटवल उपमहानगरपालिकाले मुख्य सडकमा सरसफाइ तथा वृक्षरोपण गर्ने भएको छ । साउन १५ गतेदेखि शुरु हुने ४५ दिने अभियान अन्तरगत मुख्य सडकको डिभाइडरमा विरुवा रोप्ने र सडक क्षेत्रमा सरसफाइ गर्ने बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बताए ।

बुटवललाई सफा, सुन्दर र हरियाली शहरका रुपमा स्थापित गर्नका लागि चालु अर्थिक वर्षमा उज्यालो बुटवल अभियान अन्तरगत मुख्य सडक क्षेत्रमा उच्च क्षमताका बत्ती जडान गर्ने, मुख्य सडक क्षेत्रलाई हरियाली बनाउने र भित्री सडकहरुलाई उज्यालो बनाउंदै रात्रीकालीन बजार सञ्चालन गर्ने योजना रहेको छ ।

चालु आर्थिक वर्षभित्रमा बुटवललाई उज्यालो, हरियाली, सफा र सुन्दर शहर बनाउंदै उपयुक्त पर्यटकीय विश्रामस्थलका रुपमा स्थापित गर्ने योजना अगाडि बढाउने योजना छ । चालु आर्थिक वर्ष २०८०÷०८१ का लागि बुटवल उपमहानगरपालिकाले पर्याप्त बजेट विनियोजन गरेको छ ।

बुटवलले चालु आर्थिक वर्षमा उज्यालो बुटवल कार्यक्रम अन्तरगत विद्युतीकरण, सडक बत्ती र सौन्दर्यीकरणका लागि १ करोड ९० लाख विनियोजन गरेको छ । एक घर तीन रुख कार्यक्रमका लागि १२ लाख विनियोजन गरेको छ । यस्तै रात्रीकालीन बजार सञ्चालन व्यवस्थापनका लागि १० लाख रुपैया विनियोजन गरेको छ । नगर प्रमुख पाण्डेयका अनुसार मुख्य सडक क्षेत्रलाई सफा र सुन्दर बनाउन विभिन्न प्रजातिका फूल र विरुवा रोपिने छ ।

साउन १५ गते शुरु भएको नगरस्तरीय अभियान मुख्य सडक, भित्री सडक, खोलानाला र सार्वजनिक स्थलहरु सरसफाइका लागि प्रत्येक महिना नियमित रुपमा सञ्चालन हुने प्रमुख पाण्डेयले बताए ।
साउन १५ गते योगीकुटीबाट शुरु हुने अभियान पहिलो दिन योगीकुटीदेखि राजमार्ग चौराहासम्म, १६ र १७ गते चौराहादेखि भुड्की चोकसम्म, १८ र १९ गते भुड्की चोकदेखि ट्राफिक चोकसम्म, २१ गतेदेखि २३ गतेसम्म ट्राफिक चोकदेखि गोलपार्कसम्म सरसफाइ गर्दै वृक्षरोपण गरिने छ ।

यस्तै २५ र २६ गते गोलपार्कदेखि चिडियाचौकीसम्म, २८ र १९ गते अस्पताल चोक प्रहरीदेखि तिनाउ पुलसम्म र भदौ १ गतेदेखि भदौ मसान्तसम्म योगीकुटीदेखि चिडियाचौकीसम्म नियमित सरसफाइ तथा विरुवा संरक्षण, सौन्दर्यीकरण गर्दै बांकी क्षेत्रमा अभियान सञ्चालन गरिने निमित्त प्रमुख प्रशासकीय अधिकृत मित्रमणि खनालले जानकारी गराएका छन् ।