विमल पोखरेलको पांचौ कृति ‘धरतीको इन्द्रेणी’ विमोचन

बुटवल, साउन १४ गते । अनेरास्ववियु छैठौका निःवर्तमान अध्यक्ष एवम् अधिवक्ता विमल पोखरेलले निबन्ध–नियात्रा संग्रह ‘धरतीको इन्द्रेणी’ पुस्तक प्रकाशित गरेका छन् । राष्ट्रियताको विषय उठान गरी प्रकाशित पुस्तक शनिबार काठमाण्डौमा विमाचोन गरिएको हो ।
पूर्व सांसद तथा राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल, प्रगतिशील लेखक संघका पूर्व अध्यक्ष मातृका पोखरेल, प्रज्ञा परिषद्का सदस्य डा. कौशिला रिसाल र पत्रकार अरुण बरालले पुस्तक सार्वजनिक विमोचन गरेका हुन् ।

राजनीति, पत्रकारिता र कानुनी विषयमा राम्रोसंग अध्ययन गरेका युवा लेखक विमल पोखरेलले यस अघि ४ वटा पुस्तक लेखेका छन् ।प्यूठानको झिमरुक गाउंपालिका १ साविक बादिकोट निवासी पोखरेलको पछिल्लो कृति हो ‘धरतीको इन्द्रेणी’ पुस्तक पांचौ हो ।
यसअघि शिक्षाको राजनीतिक स्वरुप, ज्ञानको पाइला, नेपालको पूर्वीय दर्शनको शासन र नेपालको विद्यार्थी आन्दोलन अखिल छैठौँको इतिहास प्रकाशित छन् । १७५ पृष्ठको सो पुस्तकमा २३ वटा निबन्धन तथा नियात्रा समावेश गरिएका छन् । पुस्तकको मूल्य ३२० रुपैयाँ राखिएको छ ।

उक्त पुस्तकमा राजनीतिक गतिविधिमा संलग्न हुने क्रममा देशका विभिन्न भौगोलिक स्थानमा, संस्कृृति, राजनीतिक तथा धार्मिक अवस्थाको वर्णन गरिएको छ ।साथै, अखिल (छैठौं) ले देशमा खेलेको भूमिका, संघीयताविरुद्धको आन्दोलन लगायतका विषयमा चर्चासमेत गरिएको छ ।

सोही पुस्तक विमोचन कार्यक्रममा बोल्दै पूर्व सांसद तथा राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले सिमानाको रक्षा गर्ने योद्धाहरूलाई राज्यले उचित कदर गर्न सकेन बताउंर्दै आफ्नो ज्यान दिएर देशको सीमा रक्षा गर्नेहरुलाई राष्ट्रले कदर गर्न नसकेको बताइन ।
पुस्तकमा उल्लेख गरिएका सहिद गोविन्द गौतमलगायत सीमा रक्षाका लागि लड्ने योद्धाहरुबारे चर्चा गर्दै पौडेलले सिमानाका सिपाहीको राज्यले ध्यान दिनुपर्ने बताइन । जीतगढी किल्लाले राष्ट्र जोगाउन महत्वपूर्ण भूमिका खेलेको पनि स्मरण गर्दै नेतृ पौडेलले भनिन् – नयाँ पिँढी आत्मकेन्द्रित हुँदै गएको राष्ट्र र राष्ट्रियताको भावना कमजोर बनिरहेको छ । लेखक विमल पोखरेलले लेखेको पुस्तकले दिएको सन्देश सकरात्मक भएको भन्दै सबैलाई अध्ययन गर्न आग्रह गरिन् ।

उक्त कार्यक्रममा प्रगतिशील लेखक संघका पूर्व अध्यक्ष मातृका पोखरेल, प्रज्ञा परिषद्का सदस्य डा. कौशिला रिसाल र पत्रकार अरुण बरालले पुस्तकका बारेमा आआफ्ना भनाइ राख्दै लेखक पोखरेललाई बधाइ ज्ञापन गरेका थिए ।
पुस्तक विमोचनका लागि अखिल छैठौंका सचिव पुरन पोखरेलले सहजीकरण गरेका थिए ।