रुपन्देही पत्रकार महासंघमा प्रेस चौतारीको तालावन्दी

बुटवल, साउन १४ गते । प्रेस चौतारी रुपन्देहीले पत्रकार महासंघ रुपन्देहीको कार्यालयमा तालाबन्दी गरेको छ । पत्रकार महासंघले नयां सदस्य दिंदा गरेको निर्णयमा असहमति जनाउंदै पे्रस चौतारीले आइतबार महासंघको कार्यालयमा तालाबन्दी गरेको हो ।

नेकपा एमाले लुम्बिनी प्रदेश प्रचार विभाग प्रमुख तथा पत्रकार महासंघ रुपन्देहीका पूर्व अध्यक्ष डिआर घिमिरेको नेतृत्वमा पे्रस चौतारी रुपन्देही अध्यक्ष लक्ष्मण पौडेलसहितको टोलिले महासंघको मुल गेटमा तालावन्दी गरेको हो ।

महासंघको साउन ६ गते बसेको बैठकले ३२ जनालाई नयां सदस्यता दिने निर्णय गरेको र त्यसउपर आफुहरुले उजुरी दिंदा पनि महासंघ समस्या समाधानमा उदासिन भएकाले तालाबन्दी गर्नुपरेको अध्यक्ष लक्ष्मण पौडेलले बताए ।

तालावन्दीबाट हुने उत्पन्न परिस्थितिको जिम्मेवार पे्रस चौतारी नहुने र स्वंय पत्रकार महासंघ नै हुने पे्रस चौतारी रुपन्देही अध्यक्ष लक्ष्मण पौडेलले बताए ।
नयां सदस्यता सिफारिसमा पत्रकार महासंघले विभेद गरेको भन्दै महासंघले गरेको उक्त निर्णय सच्चाउन पत्रकारहरुसंग सम्बन्धित संघसंगठनहरुले पत्रकार महासंघ रुपन्देहीको ध्यानाकर्षण गराएका थिए ।

यस अघि नै प्रगतिशील पत्रकार संघ, नेपाल रुपन्देही, पे्रस चौतारी र नेपाल पे्रस युनियनले निर्णय सच्चाएर निष्पक्ष रुपमा महासंघको सदस्याता सिफारिस गर्न आग्रह गर्दै ध्यानाकर्षण गराएका थिए ।
पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेलले ताला लगाएर समस्याको समाधान नहुने बताउंदै समस्याको समाधानका लागि छलफलमा जान सकिने बताए ।