लुम्बिनीमा लम्पी स्किन रोग घट्दोक्रममा

बुटवल, साउन १५ गते । पशु चौपायांमा लागिरहेको लम्पी स्किन रोट लुम्बिनी प्रदेशमा नियन्त्रणमा आउन थालेको छ । लुम्बिनी प्रदेशको १२ वटै जिल्लामा यो रोग फैलिएपनि असारमा भन्दा साउनमा घट्दोक्रममा छ । सबै ठाउंमा खोपको व्यवस्था र पशु विज्ञ तथा चिकित्सकहरु खटाएर गाउंगाउंमा खोप लगाउनत थालेपछि नियन्त्रणमा आउन थालेको पशुपन्छी तथा मत्स्य विकास निर्देशनलायका निर्देशक डाक्टर परवेज आलमले बताए ।

लुम्बिनी प्रदेशमा लम्पी स्किन रोगबाट ५ हजार बढी पशु मरेका छन् । लुम्बिनी प्रदेशको पछुपन्छी निर्देशनालयका अनुसार हालसम्म प्रदेशमा ५ हजार ६४६ पशुको मृत्यु भएको छ । लुम्बिनी प्रदेशमा पहिलो पटक २ साउन ०७७ मा लम्पी स्किन रोगको संक्रमण फेला परेको थियो । हाल सम्म १ लाख ८१ हजार ९३५ पशु यो रोगबाट संक्रमणमा परेका छन् । निर्देशनालयका निर्देशक डा. परबेज आलमले लुम्बिनी प्रदेशमा लम्पी स्किन रोगका कारण १२ करोड ५० लाख बराबरको पशुमा क्षति भएको जानकारी गराएका छन् ।
मंगलबार निर्देशनलायमा पत्रकार सम्मेलन गरी लम्पी स्किन रोग लागेका पशुबाट ५० प्रतिशतसम्म दुध उत्पादनमा कमी हुने बताए ।

उनले अहिले प्रदेशमा दैनिक १ करोड ५० लाखको आर्थिक क्षति भएको बताउंदै उनले भने – हाल प्रदेशमा प्रदेश स्तरीय लम्पीरोग नियन्त्रण कार्यदल गठन गरेर रोगको नियन्त्रण भएको छ । लुम्बिनी प्रदेशमा अहिले ३० लाख बढिको औषधी तथा खोप खरिद गरी परिचालन गरिएको निर्देशनालयले जनाएको छ । हालसम्म ३८ हजार ७९३ खोप तथा १ लाख २ हजार ४७६ पशुको उपचार गरिएको र त्यसका लागि ६३८ जनशक्ति परिचालन गरिएको बताइएको छ । स्थानीय तहबाट पनि लम्पी स्किन रोगको खोप लगाउने कार्य भइरहेको छ । यो रोगबाट प्रदेशमा २३ हजार ९२७ पशु निको भएको छन ।

अहिले प्रदेश सरकारले आकस्मिक कोषको बजेटले खोप खरिद गरेर जिल्ला जिल्लामा पठाइएको छ । निर्देशनालयका अनुसार आकस्मिक खोपका लागि ३९ लाख, खोप खरिदका लागि ५३ लाख, लजिष्टिकका लागि ३५ लाख १ करोड २७ लाख र थप नियन्त्रणका लागि २ करोड ८३ लाख बराबरको कार्ययोजना बनाई बजेट माग गरेको निर्देशनलयका निर्देशक आलमले जानकारी गराएका छन् ।