नेकपाको हिरक जयन्ती – राजमोद्दारा दाङमा वृक्षरोपण

दाङ, साउन २७ गते । कम्युनिष्ट पार्टी स्थापनाको हिरक जयन्तीको अवसरमा राष्ट्रिय जनमोर्चा दाङले राप्ती गाउंपालिकाको घन्टदेब सामुदायिक बनमा वृक्षरोपण गरेको छ ।
राष्ट्रिय जनमोर्चाका कार्यकारी अध्यक्ष रश्मीराज नेपाली, दाङ कम्युनिष्ट पार्टीका संस्थापक सचिब नारायणप्रसाद शर्मा र जेष्ठ कम्युनिष्ट सदस्य तथा नेकपा एकीकृत समाजबादीका केन्द्रिय सल्लाहकार भगवतीप्रसाद चौधरले उक्त कार्यक्रमको सामुहिक रुपमा बिरुवा रोपेर उदघाटन गरेका हुन् ।

७५ बर्ष पहिला स्थापना भएको कम्युनिष्ट पार्टीमा विभिन्न समूहहरु भएपनि स्थापनाको अबिभाजित कम्युनिष्ट पार्टीको संदेश दिने उद्वेश्यसहित हिरक जयन्तीमा रचनात्मक कार्यक्रम गर्ने प्रयत्न गरिएको राष्ट्रिय जनमोर्चा दाङका अध्यक्ष गणेश आचार्यले बताएका छन् ।

राजमो दाङ अध्यक्ष गणेश आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय जनमोर्चाका कार्यकारी अध्यक्ष नेपालीले कम्युनिष्ट आन्दोलनमा बिचलन आएकाले कम्युनिष्ट आन्दोलनलाई क्रान्तिकारी रुपान्तरण गर्नेगरी हिरक जयन्ती मनाउनु पर्ने बताए ।

कम्युनिष्ट पार्टी दाङका संस्थापक सचिव नारायाणप्रसाद शर्माले कम्युनिष्ट पार्टीहरु हामी सबै धेरै बिग्रेका छौ असल कम्युनिष्ट बन्न सबैलाई आग्रह गरे । जेष्ठ कम्युनिष्ट नेता तथा नेकपा एकीकृत समाजबादीका केन्द्रिय सल्लाहकार भगवतीप्रसाद चौधरीले असल कम्युनिष्ट पार्टीहरुले राष्ट्रिय जनमोर्चाले जस्तै कार्यक्रम गर्नुपर्ने बताए ।

अहिले कुनै कम्युनिष्टहरु अछुतो नरहेको उल्लेख गर्दै सबै बदनाम बनेकोमा धेरै चिन्ता लाग्छ उनले भने । हामिले नेता मानेकाहरु अपराध गरेर खोरमा छ्न् । यो धेरै दुखको कुरा हो । तपाईहरु असल बन्न खोज्नु भएकोमा धेरै खुसी लागेको बताउंदै राष्ट्रिय जनमोर्चालाई धन्यबाद ज्ञपान गरे ।

राजमो केन्द्रिय सल्लाहकार तथा लुम्बिनी प्रदेश सभा सदस्य तारा थापाले कम्युनिष्ट पार्टीको कार्यकर्ता बन्न पार्टीको अनुसासन र कम्युनिष्ट आचारणको व्यवहार देखाउनु पर्ने बताइन । कम्युनिष्ट आन्दोलनका अग्रज रश्मीराज नेपाली, नारायणप्रसाद शर्मा र भगवतीप्रसाद चौधरीलाई राष्ट्रिय जनमोर्चा दाङका अध्यक्ष गणेश आचार्यले फुलमालाले सम्मान गरेका छन् ।

राजमो जिल्ला सचिवालय सदस्य केसबराज खनालको स्वागतमा भएको कार्यक्रमको जिल्ला सचिव बसन्त पौडेलले सहजीकरण गरेका थिए । राष्ट्रिय जनमोर्चा दाङले घण्टदेब सामुदायिक बनको तारबार गरेको पांच हेक्टर जमिनमा वृक्षरोपण गरिएको छ ।