मेडिकल शिक्षा व्यवसायी आन्दोलनमा

बुटवल, साउन २८ गते । मेडिकल शिक्षा व्यवसायीले चिकित्सा शिक्षा सरोकार संघर्ष समिति गठन गरी आन्दोलन गर्ने सरकारलाई चेतावनी दिएका छन् । मेडिकल शिक्षा व्यवसायीले सरकारसंग राष्ट्रिय चिकित्सा शिक्षा ऐन तथा सिटिईभिटी पुनः संरचनाको माग गरेका थिए । सरकारले माग सम्बोधन नरेपछि आन्दोलनमा जानु परेको लुम्बिनी प्रदशका व्यवसायीले बाध्यताले आन्दोलन घोषणा गर्नुपरेको बताएका छन् ।

संघर्ष समितिका अनुसार सीटीईभीटी अन्तर्गतका प्रिडिप्लोमा तहका स्वास्थ्य विषयका १३७ वटा र स्टाफ नर्स ७३ वटा, विश्वविद्यालय अन्तर्गतका स्नातक तहका बिएन १० र बिएस्सी नर्सिङ ८ वटा शिक्षण संस्था बन्द भएका छन । नेपालमा धमाधम शिक्षण संस्था बन्द हुंदा भारतीय सीमा नाकामा भने धमाधम मेडिकल कलेज तथा शिक्षालय खुलिरहेको र सोही मार्फत लाखौं रकम विदेशएिको फोरम अफ टेक्निकल साइन लुम्बिनी प्रदेशका अध्यक्ष प्रकाश रानाले बताए ।

संघर्ष समितिले आइतबार बुटवलमा पत्रकार सम्मेलन गर्दै विभिन्न १४ बुंदे मागसहित आन्दोलनको घोषणा गरेको हो । स्तरोन्नती गर्न बांकी रहेका संस्थाहरुको भर्ना खोल्नुपर्ने, बन्द भएका नर्सिङ कलेजहरुमा तत्काल भर्ना खोल्नुपर्ने, छात्रवृत्तिमा भएको विभेद अन्त्य गर्नुपर्ने, समान रुपले छात्रवृत्तिको अवसर पाउने ग्यारेन्टी गर्नुपर्ने लगायतका मागहरु राखिएको छ ।
फोरम फर टेक्निकल साईन्सका केन्द्रीय सल्लाहकार चिरञ्जीवी जोशीले आयोग गठन गरी स्वार्थपूर्तिको काम भएको बताए । नर्सिङ लगायतका पारामेडिकल विषयहरु चिकित्सा शिक्षाबाट अलग गरिनु पर्ने, खुला बजार अर्थनिति अनुसार मुल्य निर्धारणको व्यवस्था, हरेक तहका लागि अस्पताल चाहिने कार्यविधी खारेज तथा विश्वविद्यालय प्रतिष्ठानहरु, विषयगत काउन्सिलहरु र सिटिईभिटीलाई स्वायत्त बनाउनु पर्ने जोशीले बताए ।

फोरम फर टेक्निकल साईन्सका केन्द्रीय सचिव गणेश ज्ञवालीले आयोगका कारण नेपालका शिक्षण संस्थाहरु बन्द भएका र नेपालमा शिक्षण संस्था बन्द गराउने उद्देश्यले ठूलै गिरोह सक्रिय रहेको दावी गरे ।

पत्रकार सम्मेलनमा नेपाल चिकित्सा संघका पूर्व अध्यक्ष मुक्ति श्रेष्ठ, पत्रकार सम्मेलनमा फोरम लुम्बिनी प्रदेशका पूर्व अध्यक्ष गोविन्द खनाल, नीजि प्राविधिक महासंघका केन्द्रिय सदस्य डिपी खनाल लगायते ऐनमा भएको गलत व्यवस्थाले मेडिकल क्षेत्रमा जनशक्ति अभाव भएकाले उत्पादन नभएको बताए ।