परासीको प्रतापपुरमा प्रविधिको प्रयोगबाट कार्यालयको नियमन

बुटवल, भदौ ४ गते । पश्चिम नवलपरासीको प्रतापपुर गाँउपालिकाले प्रविधिको प्रयोगबाट मातहतका कार्यालयको नियमन गर्न थालेको छ । सिसिक्यामेराको माध्यमबाट मातहतका कार्यालयको दैनिक नियमन गर्ने गरिएको गाउंपालिकाका अध्यक्ष उमेशचन्द्र यादवले बताएका छन् ।

गाउंपालिकाले सबै वडा कार्यालय, विद्यालय, स्वास्थ्य संस्था, गाँउपालिकाका सबै शाखा र पालिका भित्रका मुख्य बजार र चोकहरुमा सिसिक्यामेरा जडान गरेको छ । गाउंपालिकाका नौ वटै वडा कार्यालय, नौ वटै स्वास्थ्य संस्था र २३ ओटा विद्यालयको कार्यालय शाखामा सिसिक्यामेरा जडान गरी गाँउंपालिकाबाटै नियमन गर्ने गरिएको अध्यक्ष उमेशचन्द्र यादवले बताए ।

बजार चोक बाहेक बांकी पालिका मातहतका कार्यालयको क्यामेरा मार्फत गरिने निगरानीले धेरै समस्या तत्कालै समाधान गर्न सहयोग पुगेको गाउंपालिकाका प्रमुख प्रशासकिय अधिकृत चिरन्जीवि घिमिरेले बताए । प्रमुख प्रशासकिय अधिकृत घिमिरेका अनुसार गाउंपालिकाले क्यामेराको नियमित निगरानी गरी आवश्यक रिपोर्ट पेश गर्ने तथा समस्या समाधानका लागी जानकारी गराउन एक जना फोकल पर्सन कर्मचारीनै नियुक्त गर्ने तयारी छ ।

झन्डै १५ लाखको लागतमा सिसि क्यामेरा जडान गरिएको हो । जडान गरिएका सिसि क्यामेरामध्ये गोपिगञ्ज, सुर्यपुरा, बेलाटारी गण्डक नहर क्षेत्र तथा अन्य मुख्य चोकको क्यामेरा मार्फत ईलाका प्रहरी कार्यालय बेलाटारीले निगरानी गर्दे आएको गाउंपालिकाले बताएको छ । यसबाट चोरी, तस्करी नियन्त्रणमा सहयोग पुगेको र प्रहरीलाई अनुसन्धानमा पनि धेरै सहयोग मिलेको प्रमख प्रशासकीय अधिकृत घिमिरेले बताए ।

सबै ठाउंमा ई–हाजिरीको व्यवस्था गरिएको छ भने ल्यान्डलाईन फोनमा ईन्टरकमको व्यवस्था गरी अध्यक्ष र प्रमुख प्रशासकिय अधिकृतको कार्यकक्षबाटै तत्कालै टेलिफोन सम्र्पक गर्न सकिने व्यवस्था गरिएको छ । प्रविधिको प्रयोगबाट काम गर्न सजिलो भएको र गाउंमा कहां के भयो भन्ने विषयमा पनि छिटो जानकारी लिन सकिने भएकाले सिसी क्यामराको प्रयोग व्यवहारिक र वैज्ञानिक रहेको प्रमुख प्रशासकीय अधिकृत घिमिरेले बताए ।