लुम्बिनीमा लम्पी स्किन रोगको संक्रमण र मृत्युदर घट्दै, निःशुल्क खोप सञ्चालन

बुटवल, भदौ ८ गते । पशु चौपायांमा लागेको लम्पी स्किन रोग लुम्बिनी प्रदेशमा नियन्त्रणमा आउन थालेको छ । लुम्बिनी प्रदेशको १२ वटै जिल्लामा फैलिएको लम्पी स्किन रोग साउनमा भन्दा भदौमा घट्दोक्रममा छ ।

खोप सञ्चालन गरेपछि क्रमस मृत्यु र संक्रमणदर घट्दै गएको पशुपन्छी तथा मत्स्य विकास निर्देशनलायका निमित्त निर्देशक डाक्टर प्रवेशसिंह कुवंरले बताए ।
प्रकोपका रुपमा फैलिंदै लम्पी स्किन रोगविरुद्व सबै ठाउंमा खोपको व्यवस्था गरी पशु विज्ञ तथा चिकित्सकहरु खटाएर खोप लगाउन थालेपछि घट्दै गएको निमित्त निर्देशक कुवंरले बताए ।

पशुपन्छी तथा मत्स्य विकास निर्देशनलायका अनुसार लम्पी स्किन रोगबाट लुम्बिनी प्रदेशमा ९ हजार ३ सय १७ वटा पशु मरेका छन् । प्रकोपका रुपमा फैलिंदै गएको यो रोगबाट लुम्बिनी प्रदेशका १२ वटै जिल्लामा १ लाख ९० हजार ९ सय ४९ पशु संक्रमति भएका छन् । निर्देशनालयको पछिल्लो तथ्यांक अनुसार १ लाख १७ हजार ९ सय ४८ वटा पशुको उपचार भएको छ । ६२ हजार २ सय १८ वटा संक्रमति पशुलाई लम्पी स्किन रोगविद्वको खोप लगाईएको छ । लुम्बिनीको बांके र प्यूठानमा लम्पी स्किन रोगबाट गाइ, गोरु बढी संक्रमति भएका छन् ।

पछिल्लो तथ्यांक अनुसार बांकेमा ४१ हजार २ वटा पशु संक्रमिति भएका छन् । त्यस्तै प्यूठानमा ३४ हजार ७ सय २० वटा पशु लम्पी स्किन रोगबाट संक्रमित भएको पशुपन्छी तथा मत्स्य विकास निर्देशनलायले बताएको छ । त्यस्तै सबै भन्दा बढी रोल्पा र पूर्वी रुकुममा पशु मरेका छन् । रोल्पामा अहिलेसम्म ३८ हजार ४७ र पूर्वी रुकुममा २० हजार ६२ वटा पशु मरेका छन् । लुम्बिनीमा सबै भन्दा कम पश्चिम नवलपरासीमा लम्पी स्किन रोग देखिएको छ ।

पश्चिम नवलपरसीमा अहिलेसम्म ३७ वटा पशु मरेका छन्, भने ७ सय ९९ पशु संक्रमति भएका छन् । रुपन्देही, गुल्मी, पाल्पा, अर्घाखांची, कपिलवस्तु, दाङ र वर्दियामा लम्पी स्किन रोगको संक्रमण अन्य जिल्लामा भन्दा कम छ । पशुपन्छी तथा मत्स्य विकास निर्देशनलाय र स्थानीय तहले एकसाथ संक्रमति ठाउंका किसानका घरघरमा पुगेर खोप दिएपछि संक्रमण र मृत्युदर घट्दै गएको पशु चिकित्सकहरुको दावी छ ।

अहिले लम्पी स्किन रोगविरुद्व संक्रमित पशुलाई निःशुल्क खोप लगाउनु शुरु भएको पशुपन्छी तथा मत्स्य विकास निर्देशनलायका निमित्त निर्देशक डाक्टर प्रवेशसिंह कुवंरले जानकारी गराए । सबै गाउं ठाउंमा लम्पी स्किन रोगविरुद्द खोप अभियान पुराउने र संक्रमण र मृत्युदर नियन्त्रण गर्ने योजना अनुसार काम भैरहेको निमित्त निर्देशक डाक्टर प्रवेशसिंह कुवंरले बताए ।