आजबाट एसिया कपको १६ औं संस्करण

नेपाल पहिलो पटक खेल्दै

बुटवल/एसिया कप क्रिकेट प्रतियोगिताको १६ औं संस्करण आज बुधवारबाट पाकिस्तानमा सुरु हुँदैछ । पाकिस्तान आयोजक रहेको प्रतियोगिता भारत र पाकिस्तानवीचको विवादका कारण यो पटक हाइब्रिड मोडलमा पाकिस्तान र श्रीलंकामा हुन लागेको हो । जस अनुसार पाकिस्तानमा ४ खेल हुँदैछन् भने श्रीलंकामा चार खेल हुनेछन् ।
यस पटकको एसिया कप नेपाल र नेपालीका लागि ऐतिहासिक बनेको छ । नेपाल पहिलोपटक एसिया कप खेल्न लागेको हुदा नेपाल र नेपालीका लागि ऐतिहासिक बनेको हो । नेपालले प्रतियोगिता अन्तरगत विश्वका उत्कृष्ट दुई टिम भारत र पाकिस्तानसंग पहिलो पटक प्रतिष्पर्धा गर्दैछ ।
एसिया कप भदौ १३ देखी ३१ गते (३० अगष्ट देखी १७ सेप्टेम्बर) सम्म पाकिस्तान र श्रीलंकामा हुने प्रतियोगितामा सहभागी टिमलाई दुई समुहमा बाडिएको छ । समूह ए मा नेपाल, भारत र पाकिस्तान छन् । समूह बी मा बंगलादेश, श्रीलंका र अफगानिस्तान छन् ।
प्रतियोगिताको उद्घाटन खेल पाकिस्तानको मुल्तानमा बुधवार नेपाल र पाकिस्तानबीच हुदैछ । नेपाली समयअनुसार अपराह्न सवा तीन बजे सुरु हुने खेलको नेपाली क्रिकेटप्रेमीहरुका लागि बेग्र प्रतिक्षा रहेको छ । नेपालले पहिलोपटक खेल्न लागेको यो ओडीआईको सबैभन्दा ठूलो प्रतियोगिता हो । नेपालले दोस्रो खेल ४ सेप्टेम्बरमा श्रीलंकाको क्यान्डीमा भारतसँग खेल्नेछ ।
प्रतियोगितामा सहभागी हुन नेपाली टिम भदौं ५ गते पाकिस्तान प्रस्थान गरे थियो । उद्घाटन खेल हुने मुल्तान क्रिकेट स्टेडियमको क्षमता ३५ हजार दर्शक हो । उद्घाटनको दिनको सबै टिकट विक्रि भएको पाकिस्तान क्रिकेट बोर्डले जनाएको छ । ।
मुल्तानको पिच फ्ल्याट मानिन्छ । यो पिचमा रन धेरै बन्ने गर्दछ । र यो पिचमा स्पीन बलरलाई भन्दा फास्ट बलरलाई फाइदा हुने बताइएको छ ।
एसियन क्रिकेट काउन्सिलले एक एसोसिएट टोलीलाई एसिया कपमा ठूला टोलीसँग खेल्ने अवसर दिँने निर्णय अनुसार नेपालले अवसर प्राप्त गरेको हो । नेपालले गत वैशाखमा घरेलु मैदान टियुमा एसिसी प्रिमियर कपको उपाधि जित्दै पहिलो पटक एसिया कप खेल्न लागेको हो । नेपालले आफ्नो क्रिकेट इतिहासमा पहिलो पटक भारत र पाकिस्तानसँग खेल्न लागेको हो ।
प्रतियोगिता सुरु हुनुभन्दा अगाडी सामाजिक सञ्जालमा नेपाली टिमका कप्तान रोहित पौडेलले आफुहरुमाथि आफ्नो टिम, पूरा राष्ट्र र लामो इतिहासको आशा रहेको बताउदै खेललाई एक यादगार यात्रा बनाउन तत्पर रहेको बताएका छन् । उनले सामाजिक सञ्जालमा लेखेकका छन्– ‘चुनौतीको सामना गर्न, सपना पछ्याउन र जोशका साथ खेल्न अघि बढेका छौं । ब्याटको हरेक स्ट्रोक, हरेक क्याच र मैदानका हरेक क्षण हाम्रो लक्ष्यतर्फ अघि बढेका छन् । समर्पण, टिम एकता र सदाझैं साथ र समर्थनले हामी एकाग्र भएर अघि बढेका छौं ।’
एसिया कपका नेपालको सम्भावित प्लेइङ ११ मा कुशल भुर्तेल, आसिफ शेख, अर्जुन साउद (विकेटकिपर), रोहित पौडेल (कप्तान), कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी र सन्दीप लामिछाने रहने छन् ।
नेपालले आफ्ना मुख्य केहि खेलाडीहरुमा भरोसा गरेको छ । उनीहरुले अहिलेसम्म देखाएको स्प्रिटलाई हेर्दा सन्दीप लामिछाने, कुशल मल्ल, कुशल भुर्तेल, दिपेन्द्रसिंह एरी, गुलशन झाले टिकेर प्रदर्शन गरेमा विपक्षलाई दवावमा राख्ने आशा गरिएको छ ।

नेपालका लागि स्पिनर सन्दीप लामिछाने प्रमुख बलिङ हतियार हुन् । धेरै अन्तराष्ट्रिय खेल खेलका आइपिएलदेखी विश्वका विदेशी लिग खेलेका सन्दीपलाई पाकिस्तानका स्टार खेलाडीविरुद्ध खेल्दाको दबाब राम्रोसँग थाहा छ । उनीबाट नेपाल सानदार प्रदर्शन आशा गरेको छ । सन्दीपलाई नेपालले पावर प्लेपछि बलिङमा प्रयोग गर्नेछ । लेगस्पिनर हुँदा साझेदारी तोड्न सन्दीपको भूमिका निकै महत्वपूर्ण हुनेछ ।
त्यसैगरि टिम युवा अलराउन्डरको पहिचान बनाएका कुशल मल्लले मध्यक्रमको इनिङलाई सम्हालेर विष्फोटक व्याटिङको अपेक्षा गरिएको छ । कुशल बायाँ हाते ब्याटरसँगै स्पिन बलिङ गर्ने गर्दछन् । कुशलबाट टिमले आक्रामक र धैर्यको व्याटिङ चाहेको छ । एसिसी प्रिमियर कपमा कुशलले ५९ बलमै ओडिआई शतक पूरा गरेका थिए । भारत र पाकिस्तानविरुद्ध राम्रो प्रदर्शन गर्न सके कुशललाई विदेशी लिगको बाटो खुल्नेछ ।
नेपाली टिमका भरोसायोग्य ओपनर कुशल भुर्तेलले आफ्नो ओपनर जोडी आसिफ शेखसंग गतिलो ओपिनिङको आशा छ । कुशलको भूमिका पावरप्लेमा आक्रामक क्रिकेट खेल्दै त्यसपछि इनिङमा टिक्नु पर्नेछ । दुई महिना अघि जिम्बावेविरुद्ध ९९ रनमा अल आउट भएका कुशललाई एसिया कपमा दुई ठूला टोलीविरुद्ध आफ्नो उत्कृष्ट क्रिकेट देखाउने अवसर छ ।