लुम्बिनी प्रदेश अधिवेशनको तयारी पुरा – एमाले

बुटवल, भदौ १५ गते । नेकपा एमाले लुम्विनी प्रदेशको बुटवलमा हुन लागेको पहिलो अधिवेशनको तयारी पुरा सो पार्टीले बताएको छ । एमाले लुम्बिनी प्रदेशले शुक्रबार बुटवलमा पत्रकार सम्मेलन गरी तयारी पुरा भएको जानकारी गराएको हो ।

भदौ १६ र १७ गते बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा हुने अधिवेशनले एमालेको राजनीतिक जीवनलाई रक्तसञ्चार गर्ने र देशलाई नै नयां सन्देश दिने एमालेको दावी छ । नेकपा एमालेले वर्ष २०८० लाई आफ्नो पार्टीको अधिवेशन वर्षका रुपमा घोषणा गरी अघि बढेको प्रदेश अध्यक्ष राधाकृष्ण कंडेलले बताए ।
सात वटा प्रदेशमध्ये लुम्बिनी प्रदेशले पहिलो पटक अधिवेशन गर्न लागेको हो । पार्टी जीवनलाई संघीय ढांचा अनुरुपमा लगेर नयां नेतृत्व चयन गर्ने भएकाले अधिवेशन ऐतिहासिक महत्वको रहेको अध्यक्ष कडेलले बताए ।

सम्मेलनको उद्घाटन पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले भोली शनिबार दिउसो साढे १२ वजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको परिसरमा गर्ने कार्यक्रम रहेको अध्यष कडेलले बताए । अध्यक्ष कडेलका अनुसार अधिवेशनमा पार्टीका उपाध्यक्षहरु युवराज ज्ञवाली र विष्णुप्रसाद पौडेल,महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, सचिवहरु गोकर्ण विष्ट, छविलाल विश्वकर्मा एवं प्रदेशका इन्चार्ज पदमा अर्यालका साथै पोलिटब्युरो सदस्यहरु, केन्द्रीय सदस्यहरु, केन्द्रीय आयोगका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहने छन् ।

अधिवेशनका लागि १२ वटै जिल्लाका ८२ हजार ८९५ पार्टी सदस्यबाट प्रतिनिधि तथा विभिन्न २३ वटा जनसंगठनबाट छानिएका १००४ प्रतिनिधिहरु सम्मेलनका प्रतिनिधि रहने छन् ।

पत्रकार सम्मेलनमा बोल्दै प्रदेश इन्चार्ज पदमा अर्यालले प्रदेशको नेतृत्व चयन सकेसम्म सर्वसम्मतबाट गरिने र सहमतिबाट हुन नसके स्वस्थ प्रतिस्पर्धा हुने बताइन ।

पोलिटव्यूरो सदस्य सूर्य थापाले पार्टीभित्र स्वस्थ प्रतिष्पधालाई निषेध नगरिने बताउंदै उनले भने – अन्तिम समयमा सर्वसहमत नेतृत्व आए आश्चय चकिन नहुनुहोला ।
सम्मेलनका लागि रुपन्देहीबाट सबैभन्दा धेरै १ सय ६४, कपिलवस्तुबाट ७२, दांङबाट १३१, बांकेबाट ५४, बर्दियाबाट ७४, रुकुम पूर्वबाट १२, रोल्पाबाट २७, प्युठानबाट ५७, अर्घाखांचीबाट ८२, गुल्मीबाट १११, पाल्पाबाट ८३ र पश्चिम नवलपरासीबाट ५२ जना प्रतिनिधि छनोट भएका छन् ।