आज श्रीकृष्ण जन्माष्टमी पर्व, सानो तीज

बुटवल, भदौ २० गते । आज श्रीकृष्ण जन्माष्टमी पर्व कृष्णको पुजा आराधना गरी मनाईदै छ । यस अवसरमा देशभरका कृष्ण मन्दिरहरुमा विहानैदेखि दर्शनार्थीले पुजा आराधान गर्दै छन् । कृष्ण अष्टमीको अवसरमा रातभर धार्मिक प्रवचन तथा श्रीकृष्णको रथयात्रा गर्ने र झुला झुलाउने गरिन्छ । यसका साथै श्रीकृष्णका विभिन्न लीलासंग सम्बन्धित चित्र तथा झांकीहरु प्रदर्शन गर्ने गरिन्छ । धर्मशास्त्र अनुसार कंसले आफ्नी बहिनी देवकीको आठौं सन्तानबाट आफ्नो अन्त्य हुने भविश्यवाणी सुनेर बहिनी र ज्वाईलाई कैद गरि उनीहरुका सन्तान समाप्त पार्दै जाने क्रममा उनै बासुदेव र देवकीका आठौं सन्तानका रुपमा भगवान श्रीकृष्णको अवतरण आजकै मध्यरातमा मथुराको बन्दिगृहमा भएको मानिन्छ । सोही अनुरुप दिनभर व्रत बसी राती १२ बजे श्रीकृष्णको पुजा अर्चना गर्ने गरिन्छ ।

अन्याय अत्याचारबाट प्राणीहरुलाई संरक्ष्ँण प्रदान गर्न भगवान विष्णुले लिएका १० अवतार मध्ये श्रीकृष्णलाई आठौं अवतारको रुपमा मानिन्छ । तसर्थ भाद्र कृष्णअष्टमीको रातलाई मोहरात्री पनि भनिन्छ । कंसको आदेश अनुसार यस दिन जन्मिएका सबै बालकहरुलाई विशाक्त स्तनपान गराउदै हिंडेकी पुतनालाई बालक श्रीकृष्णले उसको स्तनबाट रगत समेत चुसी संहार गरेको पौराणिक कथन छ । त्यसैका आधारमा पुतनाको प्रतिकको रुपमा लाखेलाई श्रीकृष्णको रथयात्रासंगै परिक्रमा गराई कृष्णको जन्मपछि राक्षसको अन्त्य भएको मानि नागपञ्चमीदेखि शुरु भएको लाखे नांच समाप्त गरि सेलाउने गरिन्छ ।

आज बुटवल र आसपासपासका विभिन्न कृष्ण मन्दिरहरुमा पनि विहानैदेखि पुजाआजाको तयारी गरिएको छ । बुटवल ८ सुख्खानगरस्थित राधाकृष्ण मन्दिर, बुटवल ६ पुरानो बसपार्क स्थीत कृष्णमन्दिरमा विहानैदेखि भक्तजन पुगेका छन् । राधाकृष्ण मन्दिरमा नयांगाउं मुक्तिनाथ धाममा धार्मिक प्रवचन दिने कार्यक्रम छ ।

यस्तै रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर दुईमा रहेको सिद्वेश्वर महादेव मन्दिरमा कृष्ण जन्माष्टमीको अवसरमा धार्मिक कार्यक्रम गरिने बताइएको छ । श्रीकृष्ण जन्माष्टमी पर्वलाई नेपाली महिलाहरुले सानो तिजको रुपमा पनि मनाउने प्रचलन रहेको छ । श्रीकृष्ण जन्मेको दिनलाई सानो तिज तथा उनको न्वारान तथा जन्मिएको ११ औं दिनलाई ठुलो तिजको रुपमा मनाउने परम्परा रहेको छ ।
महिलाहरुले आज व्रत बसी श्रीकृष्णको पूजा अर्चना गरी तीजका गीत गाएर नांचगान गर्ने गर्दछन् ।