तीजको अफरमा लुम्बिनी केबलकारको टिकटमा २५ प्रतिशत छुट


बुटवल, भदौ २२ गते । लुम्बिनी केबलकार लि.बुटवलले हिन्दु नारीहरुको मुख्य चाड हरितालिका तीजको अवसरमा साविक टिकट दरमा २५ प्रतिशत छुट सहितको तीज विशेष अफर ल्याएको छ ।

भदौ २१ गते देखि असोज १ गतेसम्म लागु हुने यो अफर १५ जना भन्दा धेरै समूहमा आउने महिला र पुरुष सबैका लागि लागु हुने कम्पनीले जनाएको छ ।संस्थागत सामाजिक उत्तरदायित्व वहन रहिन्दु नारीहरुको सम्मानमा तीज अफर ल्याएको केबलकारका अपरेसन म्यानेजर डिएन कायस्थ सैंजूले बताए । अफरमा आउनेहरुले केबलकारको टप स्टेशनमा रहेको रेष्टुरेन्टमा पनि विशेष छुट पाउने उनले जानकारी गराए ।
आईएमई ग्रुपको मुख्य लगानी रहेको लुम्बिनी प्रदेशकै पहिलो यो केबलकारकोसाधारण टिकट दर नेपालीका लागि ७५० रुपैयां, भारतीयका लागि ७५० भारु र तेस्रो मुलुकका नागरिकका लागि २२ अमेरिकी डलर रहेको छ ।कम्पनीले गत साउनदेखि भदौ मसान्तसम्मका लागि हरेक बुधबार बिहान ९ बजेदेखि १२ सम्म टिकट खरिदमा ५० प्रतिशत छुट सहित मर्निङ अफर पनि सञ्चालन गरेको छ । मर्निङ अफरमा जस्तै तीज अफरमा पनि सर्वसाधारणको उत्साहजनक सहभागिता हुने कम्पनीको विश्वास छ ।

केबलकारको कूल लागत ५ अर्ब रहेको छ । बुटवलको बमघाटमा बटम स्टेशन र पाल्पाको तिनाउ गाउंपालिका बसन्तपुरमा टप स्टेशन रहेको २.६ किलोमिटर दुरीको केबलकारको टप स्टेशनमा बनेको कामाख्या देवीको मन्दिर छ । कामाख्या मन्दिरको दर्शन गर्न भारतको उत्तर प्रदेशका विभिन्न शहरबाट समेत उल्लेख्य मात्रामा पर्यटकहरु आउने गरेका छन् ।
केबलकारले प्रत्येक टिकट शुल्कको २ प्रतिशत सेवा शुल्क वापत बुटवल उपमहानगरपालिका र तिनाउ गाउंपालिकालाई दिने गरी सम्झौता गरेको छ । उक्त रकम दुई पालिकाले ५०–५० प्रतिशतका दरले बांडफाड गर्छन् । टप स्टेशनमा साढे ३ अर्ब लागतमा २ वर्षभित्र सम्पन्न गर्ने गरी १ सय ५० कोठा,एक हजार जना क्षमताको बैंक्वेट हल, क्यासिनो सहित पांच तारे होटेल बनाउने तयारी भएको भएको केबलकारका अध्यक्ष चन्द्रप्रसाद ढकालले बताए ।