पश्चिमाञ्चल यातायात व्यवसायी समितिमा रक्तदान र छात्रवृत्रि वितरण

बुटवल, भदौ ३० गते । पश्चिमाञ्चल यातायात व्यवसायी समिति बुटवलले विद्यार्थीलाई छात्रवृत्ति वितरण गर्नुका साथै रक्तदान कार्यक्रम गरेको छ ।
समितिले शनिबार सरकारी स्कुलहरुमा अध्ययनरत गरिब तथा जेहेन्दार १९ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको हो । त्यस्तै समितिले आयोजना गरेको रक्तदान कार्यक्रममा ३५ युनिट रगत संकलन भएको छ ।

विभिन्न सरकारी स्कुलका १९ जना गरिब तथा जेहेन्दार विद्यार्थीलाई १० हजारका दरले छात्रवृत्ति वितरण गरिएको कार्यक्रम संयोजक तथा पश्चिमाञ्चल यातायात व्यवसायी समिति बुटवलका वरिष्ठ उपाध्यक्ष प्रतापबहादुर कार्कीले जानकारी गराएका छन् ।

रुपन्देही, कपिलवस्तु, नवलपरासी, अर्घाखांची, नवलपुर र स्याङ्जा केही सरकारी विद्यालयका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको हो । समितिले विभन्न अक्ष्यकोषमा जम्मा भएको व्याजबाट सरकारी स्कुलमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको हो ।

 

सोही कार्यक्रममा बोल्दै नेपाल यातायात व्यवसायी महासंघका पूर्व अध्यक्ष अर्जुन रानाभाटले सानो सहयोगले पनि विद्यार्थीलाई पढ्नका लागि हौसला बढ्ने हुंदा छात्रवृत्ति कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताए । यातायात व्यवसायीले राज्यलाई ठूलो सहयोग गर्दै आएको बताउंदै राज्यले यातायात व्यवसायीका समस्या नबुझेको बताए ।

समितिका पूर्व अध्यक्ष तथा नेपाल यातायात व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष लोकराज पोखरेलले रक्तदान र छात्रवृत्ति कार्यक्रमलाई निरनतरता दिनुपर्ने बताउंदै छात्रवृत्तिको रकम शिक्षामा नै प्रयोग गर्न आग्रह गरेका छन् ।

पश्चिमाञ्चल यातायात व्यवसायी समिति बुटवलका अध्यक्ष यमप्रसाद पाण्डेयले छात्रवृत्ति र रक्दान कार्यक्रमलाई थप व्यवस्थित गरी निरन्तरता दिने प्रतिवद्वता जनाउंदै यातायात व्यवसायीका समस्या सरकारले सम्बोधन नर्गदा व्यवसायी समस्यामा परेको बताए ।

कार्यक्रममा समितिका पूर्व अध्यक्ष गुप्तबहादुर केसी, पूर्व महासचिव जीतबहादुर भाट क्षेत्री, समितिका उपाध्यक्ष गणेश घिमिरे, दुर्वादत्त माध्यमिक विदालय शंकरनगरका प्रअ चण्डीप्रसाद पाण्डेय लगायतले आआफ्ना धारणा राखेका थिए ।

समितिका अध्यक्ष यमप्रसाद पाण्डेयको अध्यक्षता र महासचिव हरिप्रसाद कडेलको सञ्चालन र समितिका वरिष्ठ उपाध्यक्ष प्रतापबहादुर कार्कीको स्वागतमा कार्यक्रम भएको थियो ।