बुटवलको बसपार्कमा स्नानगृह र शौचालय बनाउने तयारी

बुटवल, असोज २ गते । बुटवलको नयाँ बसपार्कमा स्नानगृह सहितको सुविधा सम्पन्न शौचालय बनाउने गरी शिलन्यास गरिएको छ ।
१ करोड ८० लाख ८४ हजार लागतमा बन्ने शौचालय निर्माणस्थलमा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले मंगलबार शिलान्याश गरेका हुन् ।

शिलान्याशपछि बोल्दै नगर प्रमुख पाण्डेयले बसपार्कलाई स्तरीय, सुविधासम्पन्न र सुरक्षित बसपार्कका रुपमा विकास गर्नेगरी योजना अगाडि बढेको बताए । बसपार्कमा उज्यालोका लागि २ वटा हाइमास्ट लाइट, स्तरीय क्यान्टिन, कोशेली घर, ७ तले कार पार्किङ भवन, सुविधासम्पन्न शौचालय र विश्रामस्थल बनाउने योजना रहेको नगरप्रमुख पाण्डेयले बताए ।

उनले बसपार्कलाई सफा र व्यवस्थित राख्न यातायात व्यवसायी र मजदुरहरुलाई चासो दिन आग्रह गर्दै भने – सबैको हितका लागि बन्ने संरचना बनाउन सबैको साथ, सहयोग र सुझाव चाहिन्छ ।

बुटवललाई सफा, सुन्दर र हरियाली शहर बनाउनका लागि नगरले निरन्तर अभियान सञ्चालन गरेको र यसमा जनसहभागिता तथा संघसंस्थाहरुले समेत यसलाई प्राथमिकताका साथ चासो दिएमा बुटवल उदाहरणीय शहर बन्ने बताए ।

नयाँ बसपार्क सुधार तथा व्यवस्थापनमा नगरले निरन्तर काम गरिरहेको बताउँदै बुटवललाई उपयुक्त विश्रामस्थल बनाउन चरणबद्ध योजना बनाएको बताउंदै नयाँ बसपार्कलाई सिटी बसपार्क बनाएर अर्को बसपार्क बनाउने गरी तयारी भइरहेको नगर प्रमुख पाण्डेयले बताए ।

 

योजना महाशाखाका निर्देशक सुमन श्रेष्ठका अनुसार ३० वटा शौचालय कक्ष, १० वटा स्नान गृह र विश्रामस्थल रहने शौचालयमा महिलाहरुका लागि सेनेटरी प्याड, बालबालिका हेरचाहका लागि उपयुक्त स्थल बन्छ ।

बुटवल वडा नं ९ का अध्यक्ष प्रदीप श्रेष्ठले बसपार्कलाई सुधार गर्दै स्तरीय बनाउनका लागि स्थानीयको साथ, सहयोग आवश्यक पर्ने बताउंदै सहयोग गर्न सबैलाई आग्रह गरे ।

सिभिल विल्डर्स एण्ड इन्जिनियरिङ कन्ट्रक्सनका सञ्चालक रामु ज्ञवालीले आगामी असारभित्र निर्माण सम्पन्न गर्ने प्रतिवद्दता जनाएका छन् ।