रुपन्देहीको सियारीमा अबैध कुखुरा नियन्त्रण


बुटवल, असोज ७ गते । भन्सार छली भारतबाट नेपाल भित्राइएका कुखुरा रुपन्देही सियारीका स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुुझाएका छन् । रुपन्देहीको मर्चवार नाकाबाट बेथरी हुंदै भारतीय अवैध कुखुरा विक्री गर्नका लागि सियारी गाउंपालिकाको चिलिया र अमुवाबाट स्थानीयले नियन्त्रण गरी प्रहरीलाई बुझाएका हुन् ।

सियारी गाउंपालिकाको चिलियाबाट २ वटा मोटरसाइकल र आमुवाबाट एक मोटरसाइकलसहित अवैध कुखुरा विक्री गर्न लागको अवस्थामा स्थानीयले आइतबार नियन्त्रणमा लिएका थिए । भन्सार छली गरेर अबैधानिक रुपमा गाउंगाउंमा बेच्न ल्याएका भारतीय कुखुरा मोटर साइकलसहित समातेर इलाका प्रहरी कार्यालय छपियामा बुझाईएको स्थानीय कृष्णप्रसाद चौधरीले बताए । तीन वटा मोटरसाइकलमा १३२ वटा कुखुरा स्थानीयको सहयोगमा नियन्त्रण गरिएको ईलाका प्रहरी कार्यालय छपियाले बताएको छ । भन्सार छलेर ल्याइएका करिव साढे ४ क्वीन्टल कुखुरा अवैध भएको प्रहरीले बताएको छ ।

स्थानीयको सहयोगमा नियन्त्रण गरिएका ब्रोइलर कुखुरा मोटर साइकलसहित कुखुरा र मोटरसाइकलमा व्यापार गर्ने तीनै जनालाई आवश्यक कारवाहीका लागि पशु क्वारेन्टाईन चेक पोष्ट बेलहिया पठाईएको बरिष्ट प्रहरी नायव निरिक्षक कवि सेन्चुरीले जानकारी गराए ।
भारतबाट भन्सार छलेर दैनिक रुपमा कुखुरा ल्याउंदा नेपाली कुखुरा पालक कृषक समस्यामा परेका छन् । भारतीय अवैध कुखुरासंग प्रतिष्पर्दा गर्न नसक्दा कुखुराले बजार नपाएको गुनासो गरेका छन्, सियारीका स्थानीय कृषक कामेश्वर चौधरी । मोटरसाइलमा ल्याएका ब्रोइलर कुखरा मरेका र खानका लागि अयोग्य भएको स्थानीयले बताएका छन् ।