लेखक हुनुको पीडा

ह्दय लेकाली

महोदय तपाईंको परिवारमा लेखक छन् छैनन् आफै जान्नुस्।,फलाना त लेखक हो ,जे जे देख्छ त्यही लेख्छ यदाकदा हामी लेखक नभए पनि कुरा चाहिँ हुने गर्छ।घराँ खर्च टरोस् या आर्थिक अवस्था तल झरोस्।लेखकले धेरैभन्दा धेरै पढ्नै पर्छ र भोको पेटलाई पटुका बाँधेर लेख्नै पर्छ।यो सच्चा कर्मठ इमान्दार लेखकको कर्तव्य हो दायित्व हो या जिम्मेवारी आदि आदि।

बरु राजनीतिमा आठ कक्षा पास गर्न नसकेर गाडीमा ढुङ्गा हान्ने,बजार बन्द गराउनेहरु ठूला नेता बनेकाछन् यो मुलुकमा।रक्तचन्दनदेखि सुनका बन्डल तस्करी गर्ने ठूला धनाढ्य छन्। सरकारी र गैह्र सरकारी जग्गा हड्पेर जमिनदार भएकाछन्।पत्नीको हार बालादेखि मन्दिरको मूर्ति भाला बेच्नेहरु धनी छन् या चोकचोकमा भिजलान्ते भेट्नेदेखि गरिबको गला रेट्नेहरु ठूला सज्जन कहलिएकाछन् तर लेखक हुन कुभिण्डो जत्रो टाउकोलाई सिङ्गो भूगाोल पढ्नैपर्छ बुझ्नैपर्छ,पुरानादेखि नयाँनयाँ बिकास परिवर्तन जान्नै पर्छ।हिजो आज र भोलिको समग्रता लेखकले जान्नैपर्छ।पलपलको अवस्था लेखकले अनुभूत गर्नैपर्छ। जातजाति भाषा धर्म संस्कृति कला साहित्य इतिहास विज्ञान राजनीति, दर्शन ,मानव तथा समाज शास्त्र राम्ररी बुझ्नुपर्छ तब न ऊ लेखक बन्न सक्छ।

प्रसङ्ग लेखक हुनुको पीडा बडा बिचित्र छ।यो मुलुकमा लेखक हुनु भनेको भोकले मर्नु पनि हो।विकसित मुलुकमा लेखक राज्य स्तरबाटै सम्मानित भएको हुन्छ।उसको पेटको जोहोमा राज्य सम्वेदनशील हुन्छ।उसका लेखले मान्यता पाएको हुन्छ।यौटा लेखक प्रशस्त धन कमाएको हुन्छ,गास बास कपासको समस्यादेखि माथि उठेको हुन्छ भने यो देशमा लेखक कवि साहित्यकार,अन्वेशक कलाकार संगीतकार ,खेलाडीले मृत्युसित लड्नुपर्छ भोकसित सिँगौरी खेल्नु पर्छ पलपल समस्यासित जुध्नुपर्छ ।देशमा सरकार छ छैन बालुवाटारदेखि बानेश्वर बुझ्नु पर्छ।आज देशमा भएका ठूला लेखकको हविगत साह्रै दयनीय छ।

अलि पहिलेको कुरा हो यौटा लेखक जो भैरहवा बस्नु हुन्थ्यो ।काम विशेषले उहाँ बुटवल जानु भो।फकँदा गाडी भाडा समेत रहेन छ उहाँसित। बुटवलमा साथीहरुसित पैसा सापट माग्न पनि उहाँलाई संकोच लागेछ।शुरु गर्नुको एघार नम्बरको आफ्नै हिँडाई ।बुटवलबाट बेलुका ५ बजे हिडेको मान्छे बिहान ३ बजे भैरहवा आफ्नो घरमा आएको कुरा।लेखक हुनुको पीडा उहाँले त पाउनु भो ,अरु केही केहीले पनि पाइरहेकाछन् भने यो मुलुकमा लेखकको अवस्था यो छ।

त्यही भएर रैछ उहिले बूढापाकाले भनेको,नोकरी गरेर खा,नत्र टोकरीमा व्यापार गरेर खा,कि प्रदेशतिरै जा अथवा बाँझा खरिया फोरेर खा।जे होस् तपाईं लेखक हुने नहुने कुरा तपाईंमा विचाराधीन छ।

लेखक प्रगतिशील लेखक संघ केन्द्रिय सदस्य र रुपन्देही उपाध्यक्ष हुन् ।