रुपन्देहीको तिलोत्तममा निःशुल्क अटोरिक्सा सेवा

बुटवल, असोज २२ गते । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले निःशुल्क अटोरिक्सा सेवा संचालन गरेको छ । नगरपालिकाले शंकपुरदेखि नगरपालिकाको कार्यालयसम्म जाने – आउने सेवाग्राहीका लागि निःशुल्क अल्टो संचालनमा ल्याएको हो ।

निःशुल्क अटो रिक्साको सोमबार तिलोत्तमा नगरपालिका प्रमुख रामकृष्ण खांण र उपप्रमुख जागेश्वदेवी चौधरीले अटो रिक्सा सांचो महिला चालक इन्द्रकला श्रेष्ठलाई हस्तारन्तरण गरेर सुभारम्भ गरेका हुन् ।

उक्त कार्यक्रममा बोल्दै नगरप्रमुख खांणले भौतिक र मानवीय विकाससंगै नगरवासीलाइ सेवा दिनका लागि निःशुल्क अटो रिक्सा संचालन गरिएको बताए ।
महिलाहरुले अवसर पाए जुन सकै काम गर्न सक्छ भन्ने कुरालाई पुष्टि गर्नका लागि अटो चालक महिला राखिएको नगरप्रमुख खांणले बताए । तत्कालका लागि एउटा अटो संचालनमा ल्याइएको आवश्यकता अनुसार अटोको संख्या बढाउने नगर प्रमुख खांणले प्रतिवद्वता जनाएका छन् ।

तिलोत्तमा नगरपालिकाकी उपप्रमुख जागेश्वीदेवी चौधरीले नगरपालिकाको कार्यालयमा जान आउन सार्वजनिक यातायातको सुविधा नभएकाले निःशुल्क अटो संचालनमा ल्याइएको बताइन ।

प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले नगरपालिका नगरवासीको सेवाप्रति जिम्मेवार र उत्तरदायी भएर निःशुल्क अटो सेवा सञ्चालन गरिएको बताए ।

अटोरिक्सा सिट फुल वा १५ मिनेट मध्य जुन पहिला हुन्छ सोही अनुसार संचालन हुने छ ।