गुल्मी धुर्कोटको बिचित्र गुफा ओझेलमा

बुटवल, असोज २७ गते । गुल्मीको धुर्कोट गाउंपालिकाको वस्तुस्थित धनार्जीको बिचित्र गुफा प्रचार– प्रसारको अभावमा ओझेलमा परेको छ । नाम जस्तै बिचित्रै रहेको गुफा २०४५ असार ५ गते भेटिएको हो । ३५ वर्ष अघि भेटिएको गुफाको प्रचार–प्रसारले प्राथमिकता नपाएको गुफा संरक्षक भानुभक्त भण्डारीले बताए ।

धुर्कोट गाउंपालिका वडा नम्बर ५ वस्तुको धनार्जी भन्ने ठाउंमा रहेको गुफाको संरक्षणप्रति राज्यको ध्यान नगएको स्थानीयको गुनासो छ । स्थानीयका अनुसार खेती खान भिमकान्त पन्थीको बारीमा पसेको ढेडुवा जनार्दन भण्डारीले धपाउने क्रममा उक्त गुफा भेटिएको हो । ढेडुवा अहिलेसम्म बाहिर निस्केको कसैले नदेखेकाले उक्त ढेडुवा शिवजीको रुपरहेको धार्मिक पण्डितहरुको भनाइ छ ।

१ सय ८५ मिटर लामो र ८० फुट उचाई रहेको उक्त गुफा भित्र अनेक प्रकारका आकृतिहरु देख्न सकिन्छ । गुफा भेटिएको ३५ वर्षसम्म पनि सहज रुपमा गुफामा जानका लागि बाटोको व्यवस्था छैन, भने गुफा भित्र लाइटकोसमेत व्यवस्था छैन । गुफाको ठूलो महत्व भएकाले संरक्षण गरी व्यवस्थित गर्नका लागि वजेटको आवश्यक रहेको स्थानीय दीपक भण्डारीले बताए ।

पर्यटकीय क्षेत्रको ठूलो सम्भावना रहेको उक्त बिचित्रको गुफाको उचित संरक्षणप्रति तिनै तहका सरकारहरुले ध्यान दिएमा यो गुफाले गुल्मीमा आन्तरिक र बाह्य पर्यटक भित्राउन सकिने सम्भावना छ । अहिले छल्दी खोलामा झोलुङेपुल बनेपछि गुफा हेर्न आउने आन्तरिक पर्यटकको संख्या बढ्न थालेको छ ।

प्रदेश सरकारको ३० लाख, आर्थिक मामिला मन्त्रालयबाट २५ लाख र धुर्कोट गाउंपालिकाबाट परेको ८० लाख बजेट लगानी गरिएको छ । तर उक्त विचित्र गुफा व्यवस्थित रुपमा सञ्चालन भएको छैन । गुफा हेर्न आउने पर्यटकका लागि निर्माणधिन भवन पुरा भएको छैन । विचित्र फुफा पर्यटन विकास समितिका अध्यक्ष सन्तोष सुनारले बजेट अभावले भवनले पूर्णता नपाएको र गुफालाई व्यवस्थित गर्न नसकिएको बताए ।

लामो समयदेखि पर्यटकका लागि बनाउन लागिएको भवनले पूर्णता नपाउंदा उक्त गुफा हेर्न जाने पर्यटकका लागि फुफा आसपासमा बस्ने ठउंको अभाव छ ।
टाढाबाट फुफा हेर्न गएका आन्तरिक पर्यटक गुफा हेरे फर्कनु पर्ने बाध्यता छ । गुफा नजिकै पानी आएको बेला ओत लाग्नेसम्म ठाउं छैन ।