रुपन्देही उधोग संघमा अध्यक्षसहित १४ पद निर्विरोध, राजनीतिक पूर्वाग्राहीले सहमती भएन

 बुटवल, असोज २७ गते । रुपन्देही उधोग संघको यही असोज २९ गते ४५ औं साधारण सभा तथा २३ औं अधिवेशन हुंदै छ । संघको साधारण सभा तथा अिधवेशन पूर्व नै अध्यक्षसहित पांच पदाधिकारीसहित केही सदस्यहरु निर्विरोध भएका छन् ।

अध्यक्षमा दिलिप सापकोटा, वरिष्ठ उपाध्यक्षमा कृष्णप्रसाद श्रेष्ठ, प्रथम उपाध्यक्षमा जिवकान्त काफ्ले, महासचिवमा हिरामणी भट्टराई र महिला सचिवमा मञ्जु भुसाल निर्विरोध निर्वाचित भएको बताएका छन् ।

अध्यक्ष दिलिप सापकोटोको संयुक्त प्यानलले शनिबार बुटवलमा पत्रकार सम्मेलन गरी निर्विरोध निर्वाचित भएको बताएको हो । अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, प्रथम उपाध्यक्ष, महासचिव र महिला सचिवसहित एशोसिएट सदस्य प्रज्ज्वल थान्जु, उमाशंकर मालपानी, आजीवन सदस्य माधवप्रसाद नेपाल, संस्थागत सदस्य गोविन्दप्रसाद भुसाल निर्विरोध निर्वाचित भएका हुन् ।

बुटवल औधोगिक क्षेत्र खुल्ला सदस्यमा लालप्रसाद बस्याल पनि निर्विरोध भएका छन् । त्यस्तै बुटवल उपमहानगरपालिका तर्फको सदस्यमा लालहरि पाण्डेय, तिलोत्तमा नगरपालिका सदस्य रमेशप्रसाद आचार्य, सैनामैना नगरपालिका सदस्य नारायणप्रसाद ज्ञवाली र शुद्वोधन गाउंपालिका सदस्यमा टंकनारायण आचार्य निर्विरोध हुनुभएको पत्रकार सम्मेलनमा जानकारी गराईएको छ ।
रुपन्देही उद्योग संघमा हुनुपर्ने २९ जना उम्मेदवार मध्ये १४ जना निर्विरोध निर्वाचित भएका छन् । अन्य पदमा भने निर्वाचन हुन सक्ने सम्भावना रहेको छ ।

सबै साथिहरुलाई मिलाएर अघि बढ्नका लागि अझै पहल गरिने संयुक्त प्यानलबाट निर्विरोध निर्वाचित अध्यक्ष दिलिप सापकोटाले पत्रकार सम्मेलनमा बताएका छन् ।
एमाले र कांगे्रस निकट उधोगीहरुले संयुक्त प्यानल बनाएपछि माओावादी, नेकपा एकीकृत समाजवादी लगायत अन्य दलसंग निकट उधोगी व्यवसायी संयुक्त प्यानलमा परेका छैनन् ।
एमाले निकट उधोगीहरुले माओवादी र नेकपा एकीकृत समाजवादी निकट उद्योगीलाई मिलाउन नमानेपछि सबै पदमा निर्विरोध हुन नसकेको एक उधोगीले बताए ।