सरकारका कारण आर्थिक संकट – पौडेल

उत्कृष्ट आर्थिक पत्रकारिता पुरस्कारबाट पत्रकार शेरबहादुर केसी पुरस्कृत

बुटवल, असोज २९ गते । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले सरकारले उद्योगी व्यवसायीका समस्या बुझ्न नसकेको बताएका छन् । उनले सरकारका कारण मुलुकले आर्थिक संकट भोग्नुपरेको भन्दै आलोचना गरे ।

रुपन्देही उधोग संघको ४५ औं साधारणसभा तथा २३ औं अधिवेशनको सोमवार बुटवलमा उद्घाटन कार्यक्रममा बोल्दै सरकार सत्ता टिकाउने खेलमा लागेको आरोप लगाए । राष्ट्रको अर्थतन्त्र भयावह हुंदा पनि त्यसतर्फ सोच्ने सरकारलाई फुर्सद नभएको बताउंदै सरकारलाई देशको अर्थतन्त्रका समस्याबारे कुनै मतलब र चासो छैन भने ।

उनले कागजमा लेखेको चिर्कटोमा सम्झौता गर्दैमा सरकाले जनताको कामन गर्न नभ्याएको आरोप लगाउंदै सरकारको नीति र कार्यशैलीप्रति कुनै पनि उद्योगी सन्तुष्ट नभएको दावी गरे ।

पूर्वअर्थमन्त्रीसमेत रहेका पौडेलले उद्योगी र व्यवसायीलाई त्रसित गर्ने, आतंकित गर्ने, उनीहरूको भय दोहन गर्ने, उनीहरूबाट अनुचित किसिमको लाभको अपेक्षा गर्दै सरकार लाठीसहित हिंडेको आरोप लगाए ।

 

सरकारका कारण पूंजी पलायन हुंदा उद्योगी व्यवसायी पनि पलायनको अवस्थामा पुगेको बताउंदै नेपालमा लगानीका लागि अनुकूल वातावरण नभएको सन्देश विदेशीसम्म पुगेको बताए ।

 

प्रतिनिधि सभा सदस्य बासुदेव घिमिरेले गठबन्धन सरकार आम नागरिकको समस्याप्रति गम्भीर नदेखिएको दाबी गरे । उद्योगीहरु बैक ब्याज दरको चिन्तामा रहेको भन्दै यस विषयमा सरकार समाधान गर्ने गरि कुनै काम नगरेको बताए ।

नेपाल उद्योग परिसंघ (सिएनआई)का अध्यक्ष राजेश कुमार अग्रवालले उद्योगमैत्री नरहेका कानुनलाई परिमार्जित गर्ने र अग्रिम जमानतको ब्यवस्था गर्ने जस्ता विषयमा कार्यान्वयन आवश्यक रहेको बताए ।

रुपन्देही उद्योग संघका अध्यक्ष माधव पौडेलले आर्थिक संकटसंगै युवा शक्तिको पलायनले उद्योगको विस्तार र पुस्तान्तरणमा संकट सिर्जना हुने डरलाग्दो अवस्थाले उद्योगीहरू पिरोलिएको गुनासो गरे ।

 

कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य भोज प्रसाद श्रेष्ठ, बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डे, संघका पूर्व अध्यक्ष एवं लुम्बिनी उद्योग परिसंघका अध्यक्ष एजाज आलम, संघका पूर्व अध्यक्ष बोनिन पिया, पत्रकार महासंघ रुपन्देही अध्यक्ष रामराज पोखरेल, लुम्बिनी वाणिज्य क्याम्पसका अध्यक्ष मोतिलाल पाण्डे, गुल्मी उद्योग संघका अध्यक्ष नवराज भुसाल, उद्योग व्यापार संघ गठनका अध्यक्ष दर्पण श्रेष्ठ, ढुवानी ब्यवसायी संघका अध्यक्ष जीतबहादुर भाट लगायतले बोलेका थिए ।

कार्यक्रममा उत्कृष्ट आर्थिक पत्रकारिता पुरस्कार पत्रकार शेरबहादुर केसीलाई प्रदान गरिएको थियो । ५० हजार राशीको सो पुरस्कार पत्रकार महासंघको समन्वयमा संघले स्थापना गरेको हो ।