बुटवलमा स्वास्थ्य अवधारण विषयक गोष्ठी

बुटवल, असोज २९ गते । मानिसको भान्सामा स्वास्थ्यकर माछा मासु पुराउन बधस्थल र बधशाला निर्माण गर्नु पर्ने सरोकारवालाले बताएका छन् । बधस्थल र बधशाला नहुंदा आमनेपाली उपभोक्ताले स्वास्थ्यकर माछा मासु खानाबाट बन्तिच भएको बताए ।

लुम्बिनी प्रदेश पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालयले सोमबार बुटवलमा आयोजना गरेको स्वास्थ्य अवधारण विषयक गोष्ठीमा बोल्ने पशु चिकित्सक र पशु पालक किसानहरुले आवश्यक अनुसार बधशाला बनाउन माग गरेका छन् ।

कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका कृषि तथा भुमि व्यवस्था मन्त्रालयका प्रवक्ता अनिल मरासीनीले मानीसबाट पशुमा र पशुवाट मानिसमा सर्ने रोगविरुद्व सचेत हुनुपर्ने बताए ।
निर्देशनालयका निमित्त निर्देशक डा. प्रवेशसिंह कुँवरले मानिसबाट पशुमा, पशुबाट मानिसमा सर्ने जुनोटिक रोगकको विषयमा सबैजना बेलैमा सचेत हुनुपर्ने र खानपिनमा ध्यान दिन आग्रह गरेका छन् ।

पशुपंक्षी रोग अन्वेशण प्रयोगशाला नवरासीका प्रमुख डा. भरत काफ्लेले पशुपंक्षी पाल्ने तरिका, बध गर्ने स्थान, बध पश्चात मासुजन्य बस्तुको ढुवानीसहित उपभोग लगायतका विषयमा प्रकाश पार्दै मानव जीवनमा स्वास्थ्य सबै भन्दा ठूलो भएकाले स्वासथ्यकर माछा मासु खान सुझाव दिए ।

पशु क्वारेन्टीन कार्यालय भैरहवाका प्रमुख डा. भक्त न्युरेले कतिपय किसान, व्यवसायी तथा उपभोक्ताको कारण पनि मानिसमा पशुजन्य रोग फैलेको बताउंदै पर्यावरण र मानव स्वासथ्य जोगाउन सबैले ध्यान दिनुपर्नेमा जोड दिए ।

लुम्बिनी प्रदेश कृषि तथा भुमि व्यवस्था मन्त्रालयका पूर्व पशुपंक्षी महाशाखा प्रमुख तुलसीराम भण्डारीले पशुपंक्ष्ी पालक किसान समयमा नै सचेत भए रोग लागेका पशुपंक्षीको समयमै उपचार गर्न सकिने बताए ।
कार्यक्रममा व्यवसायी बाख्रापालक महासंघका केन्द्रीय महासचिव तारानाथ पोखरेलले नेपाल बाख्रामा आत्मनिर्भर भएको समयमा विदेशबाट आयात गर्न नहुने बताए । उनले अबैध रुपमा भारतबाट भित्राइने बोका खशी रोक्नु पर्ने बताउंदै सीमा क्षेत्रमा सरकारी निकायबाटै निगरानी बढाउन माग गरे ।

व्यवसायी बाख्रा पालक महासंघका पूर्व केन्द्रीय अध्यक्ष प्रेम सागर पौडेलले पशुपालक किसानको हितमा बाख्रा संकलन केन्द्र निर्माण गर्न माग गरे ।

उक्त कार्यक्रममा बंगुर पालक किसान संघका प्रदेश अध्यक्ष टिलाबहादुर सूर्यबंशी, निर्देशनालयका सूचना अधिकृत लोकराज भुसाल लगायतले पर्यावरण र मानव स्वासथ्यबारे आआफ्ना धारण राखे ।

निर्देशनालयका सूचना अधिकृत लोकराज भुसालले कृषि तथा पशुपालन व्यवसायलाई व्यवस्थित गरेर आमउपभोक्ताई गुणस्तरीय माछा मासु उपलब्ध गराउनु पर्ने बताए ।