लुम्बिनीका आठ जना कृषक सम्मानित

बुटवल, कार्तिक ३ गते । लुम्बिनी प्रदेश कृषि तथा भूमि व्यवस्था मन्त्रालय अन्तरगत कृषि विकास निर्देशनालयले ८ जना कृषकलाई सम्मान गरेको छ । ४३ औं विश्व खाद्य दिवसको अवसरमा शुक्रबार रुपन्देहीको मंगलापुरमा आर्थिकसहित कृषकलाई सम्मान गरिएको हो ।

राजापुर बर्दियाका पाहारी चौधरी, रोल्पाका तिलक खड्का, दाङ तुल्सीपुरका माधव केसी र राजु थापा, नवलपरासीका नरेश जयसवाल, पाल्पाका सुदर्शन पन्त र जनकप्रसाद आचार्य र रुपन्देहीका प्रकाश गुप्तालाई सम्मान गरिएको हो । कृषि गरेको कामको मुल्याकंनका आधारमा सम्मान गरिएको कृषि विकास निर्देशनालयले बताएको छ ।

जीवन खाद्यको आधार हो पानी भन्ने नाराका साथ रुपन्देहीमा विश्व खाद्य दिवस मनाईएको छ । सोही कार्यक्रममा बोल्ने कृषि क्षेत्रका विज्ञहरुले पानीको अभावले खाद्य सुरक्षामा असर परेको बताएका छन् । खाद्य सुरक्षालाई भरपर्दो बनाउन पानीको श्रोतलाई संरक्षण गरी कृषिमा सिंचाईको सुविधा हुनुपर्नेमा जोड दिएका छन् ।

कार्यक्रममा बोल्दै कृषि तथा भूमि व्यवस्था मन्त्रालय लुम्बिनी प्रदेशका सचिव यामनारायण देवकोटाले खाद्य सुरक्षाको संकटलाई समाधान गर्ने गरी आवश्यक नीति नियम बनाउने तयारी भैरहेको बताए ।उनले खाद्य सुरक्षाका लागि उत्पादन बढाउने नीति अनुसार प्रदेशका सबै जिल्लामा काम गर्ने र कृषकहरुको मनोबल बढाउने उनको भनाइ छ ।

खाद्य सुरक्षाको चुनौती भएपनि खाद्य सुरक्षाका लागि लुम्बिनी प्रदेशमा भरपर्दो अवसर रहेको कृषि अधिकृत आशा भण्डारीले बताइन ।
जलवायु परिवर्तन, भू–क्षयको महामारी, कृषि सामाग्रीको सिमित पहुंच, पूर्वाधारको अभाव, गरिवी र असमानताले खाद्य सुरक्षा कमजोर भएको उनले बताइ ।

खाद्य सुरक्षाको ग्यारण्टीका लागि कृषि कानुन नीति बनाउनु पर्ने, खाद्य वस्तुको उत्पादन बढाउनु पर्ने, बजार सञ्जाल र प्रभावकारी वितरण प्रणालीको सरकारले उचित व्यवस्था बनाउनु पर्ने कृषि विज्ञहरुको भनाइ छ ।

उक्त कार्यक्रममा पशुपंक्षी तथा मत्य विकास निर्देशनालय बुटवलका निर्देशक डा. प्रवेशसिंह कुवंर र बरिष्ठ बाली संरक्षण अधिकृत घनश्याम धौधरीले कार्यपत्र प्रस्तुत गरेका थिए ।
लुम्बिनी प्रदेशमा ७ लाख ६५ हजार ९९ कृषक परिवारको संख्या रहेको लुम्बिनी प्रदेशको सरकारी तथ्यांकले देखाएको छ ।