लुम्बिनी विश्व शान्तिको मुहान हो– संयुक्त राष्ट्रसंघका महासचिव

भैरहवा, कार्तिक १४ गते । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले बुद्ध जन्मस्थल लुम्बिनीको अवलोकन गरेका छन् । नेपाल भ्रमणमा आएका महासचिव एन्टोनियो गुटेरेसल आज मंगलबार लुम्बिनीको अवलोकन गरेका हुन् ।

लुम्बिनीको भ्रमणमा आएका उनले बुद्धको जन्मस्थल विश्व शान्तिको मुहान भएको बताएका छन् । उनले लुम्बिनी शान्ति र अहिंसाको क्षेत्र भएको भन्दै लुम्बिनीबाट युद्धरत मुलुकहरूलाई शान्तिको बाटो अवलम्बन गर्न आग्रह गरेका छन् । महासचिव गुटेरेसले अहिले युक्रेन, रसिया, इसरायल, प्लानेस्टाइन जस्ता विभिन्न मुलुकहरुमा भइरहेको युद्धबाट सम्पूर्ण विश्व नै पीडित भइरहेकाले शान्ति स्थापनामा लाग्नु पर्ने बताएका छ् ।

लुम्बिनीस्थित मायादेवी मन्दिर परिसरबाट सम्बोधन गर्दै उनले युद्धग्रस्त मुलुकहरुलाई शान्तिको मार्गमा लाग्न आग्रह गरे । उनले संसारभर नै शान्ति स्थापनाका लागि लुम्बिनीको पवित्र उद्यान अत्यन्त महत्वपूर्ण भएको जनाए । महासचिव गुटेरेसले भगवान गौतमबुद्ध जन्मिएको ठाउँ लुम्बिनीमा उभिएर विश्वलाई नै शान्तिको सन्देश दिन पाउँदा आफू खुसी भएको बताए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले महासचिव गुटेरेसलाई स्वागत गर्दै लुम्बिनी बुद्धको जन्मस्थल, बुद्ध धर्मावलम्बीहरुको पवित्र तीर्थस्थल मात्र होइन, शान्ति र सद्भावको केन्द्र रहेको र यसले मानव जातिको शाश्वत र प्रबुद्ध शिक्षाको आधारमा प्रेरणा र मार्गदर्शन गरिरहने बताए । प्रधानमन्त्री प्रचण्डले महासचिवको लुम्बिनी भ्रमणबाट विश्वभर शान्ति र सद्भावको सन्देश प्रवाह गरेको भन्दै विश्वव्यापी महत्वको ऐतिहासिक स्थलको भ्रमणको लागि धन्यवाद दिए ।

 

प्रधानमन्त्री दाहालले शान्ति र सद्भावको तीर्थस्थलको प्रमुख केन्द्रमा रहेको लुम्बिनीको विकासको लागि हालसम्म भएका सहयोगप्रति धन्यवाद दिँदै लुम्बिनीलाई विश्व शान्ति र समझदारीको केन्द्रको रुपमा विकास गर्न संयुक्त राष्ट्रसंघ लगायत अन्तर्राष्ट्रिय समुदायको अझै पनि सहयोग र समर्थन रहने विश्वास व्यक्त गरे । उनले राष्ट्रसंघका तत्कालीन महासचिव ऊ थान्तको भ्रमणपछि जापानी वास्तुकार केन्जो टांगेद्वारा लुम्बिनी गुरुयोजना तयार गरी सोही अनुरुप काम भइरहेको जनाए ।

भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएर र त्यहाँबाट हेलिकोप्टरमा बिहान साढे १० बजे लुम्बिनीम ओर्लिएका महासचिव गुटेरेसलाई प्रधानमन्त्री दाहाल, लुम्बिनी विकास कोषका अध्यक्ष एंव संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँती, मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, उपाध्यक्ष डा.ल्याहरक्याल लामासहित उच्च सरकारी अधिकारीहरुले स्वागत गरेका थिए । त्यसपछि शान्तिदीप हुँदै मायादेवी मन्दिर गुटेरेसलाई लुम्बिनीमा रहेका विहार, बौद्धधर्मका गुरु, भिक्षु भिक्षुणीसहित लुम्बिनी साँस्कृतिक नगरपालिकाका स्थानीय आमा समूह, थारु लगायत विभिन्न जातीय समूह र होटल व्यवसायीहरुले शान्तिदीपदेखि मायादेवी मन्दिर अगाडिसम्म बसेर स्वागत गरेका थिए । मायादेवी मन्दिर पुग्नु अघि महासचिव गुटेरेस र प्रधानमन्त्री दाहालले संयुक्तरुपमा सालको विरुवा वृक्षारोपण गरेका थिए ।

त्यसपछि गुटेरेस र प्रधानमन्त्री दाहालले मायादेवी मन्दिर र अशोकस्तम्भमा पुष्पबृक्ष उनीहरुले बुद्धजन्म स्मारक, पुष्पकरणी पोखरी, अशोक स्तम्भहरुको निरीक्षण गर्नुका साथै लुम्बिनीबारे कोषका तर्फबाट जानकारी गराइएको थियो । कोषका तर्फबाट बुद्धमूर्ति मायाको चिनो प्रदान गरिएको थियो भने अतिथि पुस्तकमा महासचिव गुटेरेसले सन्देश लेखेर हस्ताक्षर गरेका थिए ।