बालबालिकालाई भिटामिन ए र जुकाको औषधि

बुटवल, कार्तिक १७ गते । बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाईएको छ । राष्ट्रिय भिटामिन ए कार्यक्रम अन्तर्गत आज र भोली शनिबार भिटामिन ए क्याप्सुल छ महिनादेखि ५९ महिनाका बालबालिका तथा जुकाको औषधि एक वर्षदेखि पांच वर्षसम्मका बालबालिकालाई खुवाइने छ । महिला स्वास्थ्य स्वयंसेविकाले देशभरका बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाउने कार्यक्रम रहेको छ ।

आर्थिक वर्ष २०८०÷८१ को नियमितरूपमा पहिलो चरणमा यही कात्तिक २ र ३ गते खुवाउंदै आएको भिटामिन ए कार्यक्रम दसैं परेकाले आज र भोली खुवाउन थालिएको हो । स्वास्थ्य मन्त्रालयले भिटामिन ए कार्यक्रम सफल बनाउन सातवटै प्रदेश सरकार अन्तर्गतका सामाजिक विकास मन्त्रालय र स्थानीय तहलाई परिपत्र गरेको थियो ।

भिटामिन ए करिब २७ लाख बालबालिका र जुकाको औषधि करिब २४ लाख बालबालिकालाई खुवाइने स्वास्थ्य मन्त्रालयले बताएको छ । सरकारले बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यून गर्नका लागि २०५० सालदेखि भिटामि ए क्याप्सुल र २०५६ सालदेखि जुकाको औषधि नियमित खुवाउन थालेको हो । सरकारले प्रत्येक आर्थिक वर्षमा कात्तिक र वैशाखमा भिटामिन ए र जुकाको औषधि बालबालिकालाई निःशुल्क खुवाउने गरेको छ ।

रुपन्देहीमा भिटामिन ए खाने बालवालिका ९४ हजार ८८ जना र जुकाको औषधी खाने बालवालिका ८३ हजार ७ सय ४७ जना रहेको स्वास्थ्य कार्यालय रुपन्देहीका खोप अधिकृत भेषराज शर्माले जानकारी गराए ।
खोप अधिकृत तथा सूचना अधिकारी शर्माका अनुसार भिटामिन ए र जुकाको औषधि खुवाउन रुपन्देहीमा १५ सय ६ जना महिला स्वास्थ्य स्वयंसेविका परिचालन गरिएको छ ।

त्यस्तै २ सय १५ जना स्वास्थ्यकर्मी परिचालन गरिएको, छ भने जिल्लाबाट १२ जनाको टोलीले अनुगमन गरेको छ । भिटामिन ए र जुकाको औषधि रुपन्देहीमा स्थानीय जनप्रतिनिधिले सहयोग गरेको छन् ।