नेकपा रुपन्देहीद्दारा भूकम्प पीडितलाई आर्थिक र खाधान्न उपलब्ध

बुटवल,कार्तिक १९ गते । नेकपा रुपन्देहीले भूकम्प पीडितलाई ५० हजार नगदसहित लत्ता कपडा र खाधान्न उपलब्ध गराउने भएको छ । राहत दिने विषयमा नेपाल कम्युनिष्ट पार्टी रूपन्देहीको अनौपचारिक बैठकले निर्णय गरेको हो ।

२०८० कार्तिक १७ गते राति ११ ः ४४ बजेको समयमा जाजरकोट केन्द्र बिन्दु भएर गएको ६.४ म्याग्निच्युटको भूकम्पको कारण ठुलो जनधनको क्षति हुन पुगेको छ । विनाशकारी भूकम्पमा ज्यान गुमाउने दिवंगतहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै भुकम्प पीडितलाई खाद्यान्न,लत्ताकपडा सहित ५० हजार नगद उपलब्ध गराउने नेकपा रूपन्देहीले निर्णय गरेको हो ।

समस्यामा परेका भूकम्प पीडितलाई केही भएपनि राहत होला भनेर राहत स्वरुप सहयोग उपलब्ध गराउने निर्णय गरिएको नेकपाका रुपन्देही नेता बिरेन्द्र सीले बताए ।

नेपाल कम्युनिष्ट पार्टी केन्द्रले पार्टी कोषबाट राज्य राहत कोषमा १ लाख जम्मा गर्ने र २५ क्विन्टल चामल उपलब्ध गराउने भएको छ ।
जनस्वास्थ्यकर्मी महासंघले डाक्टर प्रकाश सीको नेतृत्वमा डक्टरहरुको टिम घटनास्थलमा खटाएको छ । नेकपाले भेरी, राप्ती, कर्णाली, सेती, महाकाली, लुम्बिनी व्युरोबाट एक–एक वटा स्वयमसेवक टोली परिचालन गर्ने छ । राहत लगत्तै निर्माणमा देशभरबाट जनस्वयमसेवकहरु परिचालन गर्न र गराउन नेकपाले आफु मातहतका समितिहरुलाई निर्देशन गरेकोे छ ।